औषधी थोक व्यावसायमा देखिएको समस्या सुल्झाउन माग गर्दै स्वास्थ्य मन्त्री समक्ष पिडानले बुझायो ज्ञापन पत्र

काठमाडौँ, २६ जेठ । नेपाल औषधी थोक व्यवसायी संघ (पिडान) ले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई भेटी औषधी ब्यावसायका क्षेत्रमा देखिएका समस्या बारे ध्यानाकर्षण गराउँदै सुझाव पत्र बुझाएको छ।संघका अध्यक्ष गणेश नेपालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्री पौडेललाई सुझाव पत्र बुझाएको हो ।

मन्त्रीलाई बुझाएको सुझाव पत्रमा मौजुदा औषधी ऐन, स्वास्थ्य बीमा वक्यौताको समस्या जस्ता विषय उल्लेख गरिएको छ । यस्तै औषधीका थोक व्यवसायीहरुले झेल्दै आएको विविध समस्या निराकरणको माग समेत गरिएको छ ।

यसैगरी अस्पतालका लागि टेन्डरमार्फत पठाइएका औषधीहरु समेत बजारमा बिक्रि हुने गरेको पाईएको भन्दै टेन्डर प्रक्रियामार्फत अस्पतालका लागि पठाइएका औषधीमा खुद्रा विक्री मूल्य नराखी संस्थागत सप्लाई उल्लेख गरिनु पर्ने सुझाव दिइएको छ।

पत्रमा स्वास्थ्य बीमाको बक्यौता रकम रोकिंदा औषधी ब्यवसायीको समेत बक्यौता उठ्न नसकेको तर्फ ध्यानाकर्षण गराउँदै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने सोचको यथार्थपरक कार्यान्वयन गर्न पनि आग्रह गरिएको छ।

त्यस्तै औषधी बजारमा एकाधिकार कायम गर्ने मनशाय सहित एनओसी लिनु पर्ने प्रवृति मौलाउँदै आएको भन्दै संघले यस्ता वेथितिको अन्त्य गर्दै औषधी बजारलाई सुरक्षित र मर्यादित बनाउन नियामक निकाय लगायत सम्वद्ध सबैलाई विशेष सर्कुलर जारी गर्न आवश्यक रहेको विषयमा ध्यानकर्षण गराइएको छ ।

संघले औषधि बजारमा औषधी ऐन २०३५ र सोसँग सम्बन्धित नियमावली विपरितका क्रियाकलापसंगै औषधी सप्लाई चेनको पारदर्शिता, गुणस्तरको निगरानी र निमनको विषयमा समेत ध्यानाकर्षण गराएको संघका अध्यक्ष नेपालले बताए ।

संघले बुझाएको पत्र बुझ्दै मन्त्री पौडेलले प्राप्त सुझावलाई थप अध्ययन गरेर आवश्यक प्रक्रियामा लगिने आश्वासन दिएका थिए।

त्यसअघि संघले स्वास्थ्य सचिव सहितको विभागीय सरोकारवाला अधिकारीसँगको घनिभुत छलफलको क्रममा पछिल्लो समय औषधी व्यवसायीले झेल्दै आएका समस्याबारे जानकारी गराएका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *