सरकारी अस्पतालमा पेटस्क्यान राख्ने कुरा, १२ वर्ष पछि होला त पुरा ?

निर्देशक डा. चालिसे भन्छन्, 'यसपटकको बजेट प्रिज हुँदैन, एक वर्ष भित्र सेवा सञ्चालनमा आउँछ'
484
Shares

काठमाडौँ, २४ जेठ । सरकारले क्यान्सर उपचारमा अत्यावश्यक मानिने पेटस्क्यान मेसिन खरीदको कुरा गर्न थालेको १२ वर्ष भयो । तर, खरीद गर्न भने सकेको छैन ।

यसपटक फेरी पेटस्क्यान खरीदको प्रयास अघि बढाएको छ ।

अघिल्ला वर्षहरुमा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नाममा बजेट विनियोजन गर्ने गरेको थियो । एक पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै बजेट राखेर खरीदको प्रयास समेत गरेको थियो । तर सफल भएन ।

यसपटक पुन: यो मेसिन खरीदको प्रक्रिया अघि बढाउने तयारीमा जुटको छ । आर्थिक वर्ष २०८२ /०८३ को बजेटमा स्वास्थ्यको प्रस्तावमा अर्थ मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई पेटस्क्यान मेसिन राख्न २२ करोड रकम बिनियोजन गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसे यसपटक आफूहरुले पेटस्क्यान मेसिन खरीद गरेरै छाड्ने बताउँछन् । सरकारको धेरै वर्ष देखिको प्रयास हो । तर कुनै पनि सरकारी अस्पतालमा यो मेसिन छैन ।

डा. चालिसे भन्छन्, ‘यसपटक हामीलाई त्यो अवसर आएको छ । हामीले समयमै खरीद प्रक्रिया अघि बढाई आर्थिक वर्ष २०८२ /०८३ भित्रै यो सञ्चालनमा ल्याउने छौँ ।’

उनले पेट स्क्यानका लागि बजेट उपलव्ध गराउन भूमिका खेलेको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेल, अर्थ मन्त्रालयका अधिकारीहरुप्रति आभार व्यक्त समेत गरेका छन् । उनले मेसिन राख्नका लागि ठाउँको व्यवस्थापन समेत मिलाईसकेको उनले बताए ।

नेपालमा सरकारी अस्पतालमा पेटस्क्यान सेवा नभएपनि निजी क्षेत्रले उपलव्ध गराउन थालेका छन् । काठमाडौँमा कुण्डलिनी डाइग्नोस्टिक सेन्टर चण्डोल, झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा यो सेवा उपलव्ध छ ।

कसरी सुरु भयो पेटस्क्यान खरीद गर्ने कुरा ?

ठ्याक्कै १२ वर्ष अघि २०७० असारको पहिलो साता पेटमा कालो दाग देखिएपछि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सरको आशंकामा थप उपचारका लागि जापान लगिएको थियो । जापानस्थित टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा पेटस्क्यान गरेपछि उनमा क्यान्सर नभएको पुष्टि भयो ।

जापानबाट फर्केलगत्तै तत्कालीन राष्ट्रपति डा। यादवकै विशेष निर्देशनमा पेटस्क्यान खरिद गर्न सरकार अघि सरेको थियो । सोहीअनुसार पहिलो वर्ष अर्थात् आर्थिक वर्ष ०७०/ ०७१ मा १६ करोड रुपैयाँ, आव ०७१/७२ मा ४५ करोड र आव ०७२/७३ मा पुन: ४० करोड रुपैयाँ विनियोजन गरेकोथियो । यस्तै आर्थिक वर्ष २०७३ /७४ मा पुन: ५५ करोड रकम विनियोजन गरेको थियो । तर बजेट आउने र फर्किने मै सिमित भयो । भरतपुरले केही वर्ष टेन्डर त निकाल्थ्यो तर सप्लायरहरुको मुद्धा झेल्न नसकेपछि बजेट फ्रिज गराउँथ्यो ।

त्यस यताको हरेक वर्ष पेट स्क्यानको कुरा उठि रहन्थ्यो । भरतपुरले नसकेपछि आर्थिक वर्ष २०७५ /७६ मा पेटस्क्यान मेसिन खरीद गर्न भन्दै वर्षको अन्तमा २० करोड रुपैयाँ स्वास्थ्य सेवा विभागलाई रकमान्तर गरिदियो । उसलाई मेसिन खरीद गरेर भरतपुर पठाइदिन जिम्मा दिइएको थियो । तर विभाग पनि के कम पेट स्क्यानको लागि रकमान्तर भएर आएको २० करोड रुपैयाँबाट ८ करोड २८ लाख ३६ हजार रुपैयाँ झिक्यो र सिटिस्क्यान मेसिन खरीद गरयो र राजविराज अस्पताल पठाइदियो ।

त्यस यता कुनै बर्ष पेट स्क्यानको कुरा हराउथ्यो भने कुनै बर्ष उदाउथ्यो । तर खरीदका लागि सरकार अघि बढ्न सकेको थिएन ।

पहिलो राष्ट्रपति डा रामबरण यादवको पालामा खरीद नभएको सो मेसिन क्यान्सर सर्भाइभरको रुपमा चिनिएकी त्यसपछिका राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा पनि खरीद हुन सकेन । संयोग कस्तो भयो भने अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल दुई वर्ष अघि अघि बिरामी भएपछि थप परीक्षण तथा उपचारका लागि दिल्ली जानु परेको थियो । त्यसबेला उनलाई पेट स्क्यान परीक्षणको आवश्यक थियो थिएन एकिन भन्ने अवस्था छैन् , तर चिकित्सक स्रोतले उनी पनि थप परीक्षण गर्नुपर्ने भएकोले त्यसबेला भारत लगिएको हो । सो वर्ष पनि सरकारले पेटक्यान खरीदका लागि भरतपुर क्यान्सर अस्पताललाई पुन: बजेट विनियोजन गरेको थियो ।

मानव शरीरमा क्यान्सर रोग पहिचान गर्ने यो उपकरण नेपालका सरकारी अस्पतालमा नभएको भन्दै आर्थिक वर्ष २०८०/ ०८१ को बजेटमा क्यान्सर रोगको पहिचान गर्नका लागि सरकारले विनियोजन गरेको ८६ करोड बजेटबाट भरतपुर अस्पतालले पेट स्क्यान मेसिन खरीद गर्ने योजना अघि सारेको थियो । तर त्यो पनि सफल हुन सकेन ।

पेट स्क्यानसंग खरीद गर्न भनिएको साइक्लोट्रोन भनेको के हो ?

पेट स्क्यान गर्न पोजिट्रोन नामक विकीरण निकाल्ने एक प्रकारको विषेश औषधिको आवश्यकता पर्दछ जसलाई पेट ट्रेसर भनिन्छ । उक्त पेट ट्रेसर उत्पादन गर्न छुट्टै उपकरणको आवश्यकता पर्दछ जसमध्ये एउटा अत्यावश्यक उपकरण साइक्लोट्रोन हो ।

अतः पेट मेसिन मात्र स्थापना गरेर सञ्चालन गर्न सकिँदैन यसका साथै साइक्लोट्रोनको पनि स्थापना गर्न जरुरी पर्दछ । अथवा पेट ट्रेसर अन्य ठाउँबाट ल्याउनुपर्ने हुन्छ, जुन आफैँमा एउटा जटिल समस्या बनेकाले साइक्लोट्रोन समेत खरिद गर्ने भनिएको हुनसक्छ ।

भरतपुर क्यान्सर अस्पतालका पूर्व अध्यक्ष डा. चीनबहादुर पुनका अनुसार पेट सिटी स्क्यानबाट मस्तिष्क तथा घाँटी, फोक्सो, कलेजो, स्तन, मिर्गौला तथा प्रोस्टेट न्युरोइन्डोक्रायन, पाठेघरलगायत अन्य धेरै प्रकारका क्यान्सरको परीक्षण गरिन्छ । क्यान्सर कुन अवस्थामा छ, स्टेजिङ क्यान्सर निको हुने सम्भावना कतिको छ भन्ने थाहा पाउन यसले प्रमुख भूमिका निर्वाह गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *