क्यान्सर सर्भाइभर्स भन्छन्, ‘आत्मविश्वास बलियो बनाउँ, रोग कमजोर भै हाल्छ’
काठमाडौँ, १८ जेठ । आज अग्रेजी महिना जुनको पहिलो आइतबार । यो दिनलाई विश्वव्यापी रुपमा क्यान्सर सर्भाइभर्स दिवसको रुपमा मनाउने गरिन्छ । नेपाल क्यान्सर सर्भाभर्स सोसाइटीले पनि राजधानीमा विशेष कार्यक्रमको आयोजना गरि यो दिवस मनाएको छ ।
क्यान्सरबाट बचेकाहरूको जीवन सुधार गर्न थप अनुसन्धान, थप स्रोतहरू र जनचेतना बढाउनको लागि विश्वव्यापी रूपमा सभाइभर्स दिवस मनाउने गरिन्छ । नेपाल क्यान्सर सर्भाभर्स सोसाइटीका अध्यक्ष प्रमिता खनालले दिवसबारेमा स्पष्ट पारिन ।
२० नोभेम्बर १९८७ का दिन न्यु मेक्सिकोमा क्यान्सर सर्भाइभर्सहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको निर्णय अनुसार ५ जुन १९८८मा पहिलो राष्ट्रिय क्यान्सर सभाइभर्स दिवस मनाइएको थियो । त्यसरी विश्वव्यापी रुपमा यो दिवस मनाउन थालिएको ३८ वर्ष लागेको छ ।
नेपालमा भने यसरी दिवस मनाउन थालेको ८ वर्ष मात्रै पुगवेको छ ।
खासगरी क्यान्सरको इतिहास भएकाहरूको सम्मान, क्यान्सरबाट बाचेकाहरूको चुनौतीप्रति जागरूकता र भविष्यका लागि प्रेरणादायी आशाको लागि सर्भाइभर्स दिवस मनाउन लागिएको हो । उनले क्यान्सर रोग बिरुद्ध लड्नका लागि आश्वविश्वास बढाउनु पर्ने समेत बताईन् ।
विश्वव्यापी रूपमा अहिले पनि ५ करोड ३५ लाख मानिसहरू क्यान्सर विजेताको रूपमा रहेका छन् । उनीहरूका चुनौतीहरू बढ्दै गएको अवस्था पनि छ ।
यस प्रकारका चुनौतीहरूका विरुद्ध सङ्घर्ष गर्न एक अर्काको सङ्घर्षका कथाहरू साझा गर्ने, अरूलाई सकारात्मक रूपमा प्रेरित गर्ने तथा आफ्नो शक्ति र साहसलाई उजागर गर्दै क्रियाशील हुनु महत्त्वपूर्ण विषय हो । सोसाइटीका महासचिव प्रमिला केसी भन्छिन्,’त्यसैले हामी विगत ८ वर्ष देखि यो दिवस मनाउँदै आइरहेका छौँ’
क्यान्सर विजेता तथा ‘साइकलयात्री’ ध्रुवप्रसाद हुमागाईँले क्यान्सर लाग्दैमा व्यक्तिको मृत्यु नभइहाल्ने बताउनुभयो । ‘क्यान्सरलाई जित्न सकिन्छ । यो लाग्दैमा मरिदैन’, उनले भने, ‘म साइकल यात्रा गरिरहेको छु । यस्तो यात्रा गर्न जरुरी छ । हामी क्यान्सर फाइटरहरूले अरूलाई पनि फाइटर बनाउनुपर्छ ।’
यसैबीच नेपाल क्यान्सर सर्भाभर्स सोसाइटीले आज विशेष कार्यक्रम गरी यो दिवस मनाएको छ । मध्ये बानेश्वरमा आयोजित कार्यक्रममा बरिष्ठ गायिका समेत रहेकी क्यान्सर सर्भाइभर्स मिरा राणा प्रमुख अतिथिको रुपमा सहभागी थिईन् ।
सो क्रममा उनले नसर्ने रोगको जोखिम बढ्दो क्रममा रहेको भन्दै नियमति स्वास्थ्य परीक्षण र समयमै सहि उपचारका लागि सचेत हुन आग्रह गरिन् । साथै उनले सहासिक क्यान्सर सर्भाईभर्स तथा साइकल यात्री नमिता बस्नेतलाई सोसाइटीको तर्फबाट सम्मान समेत गरिन । बस्नेतले केवल १४ दिनमा पूर्व मेची देखि पश्चिम महाकाली सम्मको साइकल यात्रा पुरा गरेकी थिईन् ।
सर्भाइभर्स सोसाइटीका उपाध्यक्ष पुजा कुँवरले आजको दिन क्यान्सर बिजेताहरुको दिन हो भन्दै उनले आफ्नो भोगाईहरु साटासाट गर्न जम्मा भएको बताईन् । ‘परिवारले हामीलाई देखेको छ । तर भित्री भोगाई हामीलाई थाहा छ । त्यसैले हामी आफूले आफूलाई चिनौँ, दह्रो आम्मविश्वास लिऔँ र अघि बढौँ,’ उनले भनिन् ।
सो अवसरमा सहभागीहरुले विभिन्न आफ्ना गीत, नृत्य लगायतका प्रतिभाहरु प्रस्फुटन गरेका थिए ।
सम्पर्क इमेल : [email protected]