राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा, उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
काठमाडौँ, १४ जेठ । नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आगामी १७ र १८ गते हुने पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने दुई दिने महाधिवेशनको उद्घाटन गर्न पहिलो दिन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आउने महासंघले जनाएको छ ।
्
महाधिवेशनबारे जानकारी दिन महासंघले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डा झलक गौतमले देशभरबाट आउने ५०० बढी प्रतिनिधिले नयाँ नेतृत्व छनौट गर्ने समेत जानकारी दिए ।
महासंघले यसअघि रहेको १७ जनाको पदाधिकारी सहित १५१ सदस्यीय कार्यसमितिलाई घटाएर ९९ मा झारेको छ । यस्तै पदाधिकारीको संख्या पनि घटाएर ९ मा झारिएको बताए ।
उनले महाधिवेशनलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरि काम भईरहेको समेत जानकारी गराए ।
विसं २७ जेठ २०६२ सालमा स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल बिस्तार भएर २०७८ चैतमा भएको चौथो महाधिवेशनका बेला महासंघमा रुपान्तरित भएको थियो । अहिले महासंघसंग ८ वटा घटक रहेको छ ।
अध्यक्ष डा गौतमले हालसम्म ८ वटा प्रदेश, ७१ वटा जिल्ला, ५ वटा विशेष जिल्ला, ८ वटा घटक, २८७ वटा स्थानीय कमिटि अन्य कमिटि गरी ४०० भन्दा बढी कमिटि रहेको समेत बताए । उनले महासंघ नेपालको स्वास्थ्य क्षेत्रमा सबैभन्दा चलायमान र देशव्यापी व्यवस्थित संगठित सञ्जाल भएको सबैभन्दा ठूलो संगठन हो भनेर दावी गरे ।
सामान्य तालीम प्राप्त देखि विशेषज्ञ स्वास्थ्यकर्मीहरु यस महासंघमा आवद्ध रहेको डा गौतमले जानकारी दिए ।
यसैबीच पत्रकार सम्मेलनकै अवसरमा एमाले स्वास्थ्य विभाग प्रमुख समेत रहेका नेता कृष्णगोपाल श्रेष्ठले अधिवेशनको लोगो समेत सार्वजनिक गरेका थिए ।
सम्पर्क इमेल : [email protected]