राष्ट्रिय ट्रमा सेन्टरले सुरु गर्यो ‘ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ’
जीवन बचाउनका लागि मद्धत गर्ने यो तालीम महत्वपूर्ण : स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ, १४ जेठ । राष्ट्रिय ट्रमा सेन्टरमा आजबाट ‘ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ’ सञ्चालनमा आएको छ । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको सहयोगमा ट्रमा सेन्टरले सुरु गरेको सो तालीममा २४ जना मेडिकल अधिकृत सहभागी भएको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. बद्री रिजालले जानकारी दिए ।
तीन दिनसम्म चल्ने तालीममा अधिकांश राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालमा कार्यरत मेडिकल अधिकृतहरु सहभागी छन् । केही संख्यामा भने ग्राण्डी अस्पताल, धुलिखेल अस्पताल कार्यरत चिकित्सक पनि डा. रिजालले जानकारी दिए ।
उनले यस्तो खालको मेडिकल अधिकृतलाई दिइएको तालीम नेपालकै पहिलो हो भन्दै यसलाई नियमित रुपमा ट्रमा सेन्टरले सञ्चालन गर्ने बताए । उनले सेवामा चुस्तता र दक्षताका लागि यो तालीम जरुरी रहेको भन्दै मेडिकल अफिसर जो नेपाली नागरिक छ उसले यो तालीमको अवसर पाउने समेत उनले जानकारी दिए ।
यस्तै राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रका निमित्त निर्देशक डा माधव लम्सालले दुर्घटना, विपदका जस्ता भवितब्यका घटनाहरुमा कसरी काम गर्ने भन्ने विषयमा तालीम केन्द्रीत हुने बताए । ‘डिजास्टरका बेलामा ट्रायज कसरी गर्ने ? गम्भीर घाइतेको रेक्युमा जाँदा के के कुरामा ध्यान दिने जस्ता कुराहरु सिकाइन्छ । फ्रन्टलाइनमा काम गर्ने मेडिकल अधिकृतहरुलाई दिइने यो खालको तालीमले मानिसको ज्यान जोगाउन ठूलो मद्धत गर्छ,’ उनले भने ।
जीवन बचाउनका लागि मद्धत गर्ने यो तालीम महत्वपूर्ण : स्वास्थ्य मन्त्री पौडेल
यसैबीच तालीमको उद्घाटन गर्न राष्ट्रिय ट्रमा सेन्टर पुगेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मानव जीनव बचाउनका लागि यो खालको तालीम महत्वपूर्ण रहेको बताएका छन् ।
‘भवितव्य तथा दुर्घटना पछि आउने क्याजोल्टीको व्यवस्थापनका लागि यो तालीम फ्रन्टलाइनरले लिनै पर्ने हुन्छ । ट्रमा सेन्टरमा यो कार्यक्रम सुरु गरेकोमा सम्वन्धित पक्षलाई धन्यवाद,’ उनले भने । मन्त्री पौडेलले अहिले पनि देशमा निर्वाह हुने गरी स्वास्थ्य जनशक्ति र पूर्वाधार नभएको भन्दै त्यसलाई बढाउन आफूले पहल गरिरहेको बताए ।
उनले स्वास्थ्यकर्मीको दक्षता अभिबृद्धि गर्न यस्ता खालको तालीम महत्वपूर्ण हुने दोहोरयाए । स्वास्थ्य मा लामो समय देखि रोकिईरहेको दरबन्दी बढाउन आफूले काम गरेको भन्दै उनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई टिकाउनका लागि पनि विभिन्न मोडलमा काम अघि बढीरहेको बताए । उनले स्वास्थ्यकर्मीको सीप विकास र त्यसको अध्यावधिक हुनु जरुरी भएको भन्दै विरामीहरुको विश्वसनीयताका लागि पनि यो आवशयक रहेको बताए ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवाका लागि यस किसिमको तालीमको आवश्यक रहेको भन्दै उता वीर अस्पतालमा पनि इसेन्सियल क्रिटिकल केयर तालीम मेडिकल अधिकृत तथा नर्सिङ स्टाफहरुलाई दिदै आएको बताए ।
उनले न्याम्सले उपचारसंगै स्वास्थ्य जनशक्ति निर्माणका लागि काम गरिरहेको जानकारी दिए । चिकित्सा शिक्षा आयोगले यसपटक पोष्ट ग्राजुएट्स तहको सिट १२८ बाट बढाएर २५० पुर्याएको भन्दै यसले देशका दुर दराजमा विशेषज्ञ चिकित्सक पढाउने सरकारी योजनालाई साथ दिने बताए ।
सम्पर्क इमेल : [email protected]