‘समयमै पत्ता लगाई उपचार गर्न सके जटिल हुँदैन थाइराइड समस्या’

काठमाडौँ, १० जेठ । समयमै पत्ता लाग्यो र सहि उपचार भयो भने थाइराइड जटिल समस्या नहुने चिकित्सकहरु बताउँछन् ।  तर, अधिकांश नेपालीहरुको बानी स्वास्थ्यमा समस्या नआउँदासम्म जाँच नगर्ने रहेको छ । यस्तो बानीले नेपालमा यो समस्याले विकराल रुप लिएको उनीहरु दावी गर्छन् ।

विश्व थाइराइड दिवसको सन्दर्भ पारेर डाइबेटिज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपाल (डिईएन)ले शनिबार गरेको पत्रकार सम्मेलनमा विज्ञ चिकित्सकहरुले नेपालीमाझ डाइराइडको बारेमा सचेतना बढी आवश्यक भएको बताए ।

‘थाइराइड खासमा रोग नै पनि होईन, हर्मोनमा आउने गडबडीले देखिने एक समस्या हो, त्यसलाई नियन्त्रण गर्न सकेपछि समस्या नै हुँदैन,’ एसोसिएसनका अध्यक्ष डा. अमित शाक्यले भने ।

उनले हर्मोनमा आउने गडबडी रोक्न आफैले सतर्कता अपनाउन सकिने समेत सुनाए । ‘तनाव लिन भएन, तौललाई नियन्त्रण गर्नु परयो । यसले थाइराइड मात्रै होईन अरु थुप्रै नसर्ने रोगको जोखिमको सम्भावनाबाट बचाउँछ,’ डा. शाक्यले भने ।

एसोसिएसनका महासचिव डा भोजराज अधिकारी कुल जनसंख्याको ८ देखि १० प्रतिशतमा थाइराइड हुने गरेको भन्दै तर त्यसमध्ये ५० प्रतिशतको मृत्यु पत्ता नै नलागी हुने गरेको बताउँछन् । उनले पुरुषमा भन्दा महिलामा बढी थाइराइडको समस्या हुने बताउँदै अनुपात १ः ८ को अनुपात रहेको बताए । थाइराइड शरीरको मल्टी सिस्टम असर गर्ने समस्या भन्दै यसको जति सक्दो छिटो पहिचान र उपचारमा जानु पर्ने बताए ।

अर्का चिकित्सक डा. सन्तोष शाक्यले हाईपो र हाईपर गरी थाइराइड समस्या मुख्यरुपमा दुई खालको हुने भन्दै उपचार अवधीमा पनि फरक हुने बताए । ‘हाईपरमा थाइराइडको हार्मोन बढी हुने भयो यसलाई कम गरेर व्यालेन्समा ल्याउनु पर्छ । हाईपोमा कम हार्मोन हुने भयो यसलाई औषधी चलाउने र बढाउने अनि व्यालेन्समा ल्याउने गर्नुपर्छ । उपचारका सन्दर्भमा हाईपरमा केही समय औषधी सेवन पछि रोक्न पनि सकिन्छ तर हाईपोमा भने जीवनभर औषधी खानुपर्छ ‘ डा. शाक्यले भने ।

उनले तरकारी तथा खानपानबाट थाइराइड घटबढ् नहुने समेत जानकारी दिए । ‘हामीले खाने खानाकै कारण थाइराइड हुँदैन । तर खानपिनबाट मोटोपना हुने, त्यसपछि डाइविटिज, हाईपोटेन्सनसंगै थाइराइड पनि देखिन भने सक्छ । यसमा सचेत हुनुपर्छ,’ उनले भने ।

यसैबीच एसोसिएसनले दिवसको अवसरमा आ आफ्नो क्षेत्रमा सचेतनामुलक कार्यक्रम संगै निशुल्क तथा छुट सहितको स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *