स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई  बोर्डले बितरण गर्‍यो चार अर्ब ३८ करोड पेश्की 

काठमाडौँ, १ जेठ । उपचार गरेवापतको ठूलो रकम लामो समय देखि सोधभर्ना गर्न नसकेको भन्दै आलोचना खेपिरहेको स्वास्थ्य बीमा बोर्डले यसपटक सूचीकृत ४०० वटा स्वास्थ्य संस्थालाई ४ अर्व ३८ करोड रुपैयाँ पेश्की उपलव्ध गराएको छ ।

बोर्डले गत साउन देखि चैत सम्म माग दावी पेश गरेका ती अस्पतालहरुलाई कुल दावीको रकमको २५ देखि ८० प्रतिशतसम्म पेश्की उपलव्ध गराएको हो ।

‘पुरानो बक्यौता पनि छ तर यसपटक साउन देखि चैतसम्म माग दावी गरेकाहरुलाई निश्चित प्रतिशत तय गरी पेश्की रकम दिने निर्णय गरियो । यसबाट रकम सोधभर्ना नभई सेवा सञ्चालनमै कठिनाई व्यहोरोका स्वास्थ्य संस्थालाई केही न केही राहत पुगेको छ,’ बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले भने ।

बोर्डले पेश्की रकम वितरण गर्दा मागदावीको आधारमा ४०० वटा स्वास्थ्य संस्थालाई तीन समूहमा राखेर पेश्की वितरण गरेको हो ।

सूचना अधिकारी ठकुरीका अनुसार साना स्वास्थ्य संस्थालाई मागदावीको ८० प्रतिशतसम्म पेश्की उपलव्ध गराईएको छ । ठूला स्वास्थ्य संस्था र ठूलो माग दावी भएको संस्थालाई २५ प्रतिशतसम्म रकम उपलव्ध गराईएको छ ।

बोर्डले उपचार सेवा वापत गत साउन देखि चैत मसान्तसम्म १२ लाख २० हजारसम्म सोधभर्ना माग गर्ने ७८ वटा स्वास्थ्य संस्थालाई सानो पहिलो प्राथमिकता दिदै मागदावीको ८० प्रतिशत रकम पेश्की स्वरुप उपलव्ध गराएको छ ।

‘ती ७८ वटा संस्थाले ३ करोड ३१ लाख रुपैयाँ माग दावी गरेका थिए । तर त्यसको ८० प्रतिशत रकम हामीले पेश्की स्वरुप दिने निर्णय गरेका थियौँ, त्यसो हुँदा २ करोड २७ रुपैयाँ ती अस्पतालहरुका लागि निकासा भयो,’ सूचना अधिकारी ठकुरीले भने ।

उनका अनुसार १२ लाख २० हजार देखि ५१ लाख रुपैयाँसम्म माग दावी गर्ने स्वास्थ्य संस्थालाई मझौला स्वास्थ्य संस्थाको रुपमा परिभाषित गर्दै बोर्डले तिनीहरुलाई माग दावीको ४० प्रतिशत रकम पेश्की स्वरुप उपलव्ध गराउने निर्णय गरेको थियो । ‘रकम मागको आधारमा तय गरिएका मझौला स्वास्थ्य संस्थाको संख्या ६४ वटा थियो, ती संस्थाले १९ करोड रुपैयाँ माग दावी पेश गरेका थिए, बोर्डले ४० प्रतिशत पेश्की उपलव्ध गराउँदा ७ करोड ९४ लाख ती स्वास्थ्य संस्थाको भागमा गयो,’ठकुरीले भने ।

सूचना अधिकारी ठकुरीले ५१ लाख भन्दा बढी माग दावी गर्ने संस्थालाई ठूलो स्वास्थ्य संस्थाको रुपमा परिभाषित गर्दै उनीहरुलाई माग दावीको २५ प्रतिशत पेश्की उपलव्ध गराएको बताए । ‘ठूला स्वास्थ्य संस्थाको संख्या २५८ वटा रहेछ । उनीहरुबाट १७ अर्वको माग दावी थियो तर बोर्डले माग दावीको आधारमा २५ प्रतिशत पेश्की उपलव्ध गरायो र ती स्वास्थ्य संस्थामा ४ अर्व २८ करोड रुपैयाँ वितरण भयो,’  उनले भने ।

सरकारले स्वास्थ्य बीमा बोर्डका लागि चालु आर्थिक वर्षको बजेटमा ७ अर्व ५० करोड रकम विनियोजन गरेको छ । तर सोधभर्नाका लागि बक्यौता रकम १८ अर्व माथि पुगेपछि बोर्ड समस्यामा परेको थियो । गत फागुनमा अर्थ मन्त्रालयले थप ३ अर्व रकम निकासा गरिदिएपछि बोर्डमै रहेको अरु १ अर्व ३८ करोड रुपैयाँसमेत जोडेर कुल ४ अर्ब ३८ करोड रकम वितरण गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्ले लामो समय थुप्रिदै गएको बक्यौँता रकम घटाउने क्रममा आफूहरु लागि रहेको र स्रोतका लागि बैकल्पिक योजनाहरु समेत अघि सारेको बताए । उनले स्वास्थ्य उपचारसंग जोडिएका सरकारका धेरैवटा कार्यक्रममा ठूलो रकम खर्चिने गरेको भन्दै त्यसलाई एकीकृत गर्दै स्वास्थ्य बीमा बोर्डबाट वितरण हुने व्यवस्था मिलाउन खोजेको बताए । उनले विपन्न नागरिकलाई कडा रोगको उपचारमा दिईने सहुलियत रकम देखि अन्य कार्यक्रममा रहेका रकमहरुलाई समेत बीमाबाट अघि बढाउने तयारी भएको बताए ।

‘अहिले त हामीले स साना कामहरु बाट सुधारको थालनी गर्दैछौँ । यसको नतिजा केही समयपछि देखिन थाल्छ । आशा गरौँ यसले स्वास्थ्य बीमाका कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन मद्धत गर्नेछ,’ कार्यकारी निर्देशक डा. काफ्लेले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *