काठमाडौँ महानगरको सुलभ औषधी पसल : औषधीको प्रकार र परिमाण अध्ययन् गर्दै समिति

काठमाडौँ, ३१ बैशाख । काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधीको प्रकार र मात्रा अध्ययन् गर्ने भएको छ ।

गत बिहीबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा भएको सुलभ औषधी पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले, बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल चलाउने, फार्मेसीका लागि आवश्यक पर्ने औषधीको प्रकार र मात्रा अध्ययन गर्ने निर्णय गरेको हो ।

सुलभ फार्मेसी खोल्नुको उद्देश्य आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क औषधी, स्वास्थ्य बीमा अन्तर्गतको औषधी र बीमामा आवद्ध नभएका नागरिकहरुका लागि सर्वसुलभ औषधी तथा औषधीजन्य सामग्रीहरु जेनेरिक फार्मेसीको अभ्यासअनुसार उपलब्ध गराउनु रहेको बताइएको छ ।

औषधीको ब्राण्ड नामका आधारमा नभइ औषधीमा भएका तत्वका आधारमा बिरामीलाई औषधी उपलव्ध गराउने प्रणाली जेनेरिक फार्मेसी हो । यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले २०८१ सालमा फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका जारी गरेको छ । यही निर्देशिकाअनुसार महानगरपालिकाले औषधी पसलहरुको नियमन गर्नेछ ।

महानगरपालिका मातहतमा भएका र अन्य फार्मेसीहरुको सञ्चालन व्यवस्थापन गर्न गराउन उपप्रमुखको सुनिता डंगोलको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएको छ । प्रमुख प्रशासकीय अधिकृत र फार्मेसी विज्ञमध्येबाट प्रमुखले मनोनयन गरेको विज्ञ सदस्य छन् भने स्वास्थ्य विभागको प्रमुख सदस्य सचिव हुनुहुन्छ ।

बैठकमा नार्कोटिक, एन्टिवायोटिक, हर्मोनिक जस्ता डाक्टरको प्रेस्क्रिप्सनबाट मात्र दिन सकिने र ओटिसी (ओभर द काउन्टर) औषधी प्रदान गर्न डाक्टरको प्रेस्क्रिप्सन नचाहिने औषधीको सम्भावित मागका विषयमा छालफल भएको थियो ।

महानगरपालिकाले एउटा केन्द्रीय फार्मेसी र अन्य विभिन्न ५ ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

उत्पादकदेखि उपभोक्तासम्म सुपर थोक बिक्रेता, थोक विक्रेता, खुद्रा बिक्रेताको कमिसन, कतिपय औषधीमा दिइनेछ बोनस जस्ता तहका कारण औषधीको मूल्य चर्को भएको उपभोक्ताहरुको गुनासो सुनुवाई गर्दै महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गर्न लागेको उपप्रमुख डंगोल बताउँछिन् ।

बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, फार्मेसी विज्ञ डा. सतिश देव, स्वास्थ्य सल्लाहकार डा. मनेनप्रसाद गोर्खाली, सचिवालय सदस्य सुदीप ढकालसहित विभागका अधिकारीहरु सहभागी थिए । त्यस क्रममा सहरी योजना आयोगका इञ्जिनियर र आर्किटेक्टहरुले फार्मेसीको ड्रइङ् डिजाइन प्रस्ताव पेश गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *