यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बालबालिकाको अधिकार खोज्न कहाँ जाने ?

काठमाडौँ, ३० बैशाख ।  यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा पर्ने बालबालिकाको अधिकारको क्षेत्रमा क्रियाशिल रुविना तामाङ त्यसबेला खुशी भईन् जब एक दम्पत्तिले आफ्नो १६ वर्षे छोराको विषयमा बुझ्न भन्दै नीलहिरा समाजको मुख्यालय खोज्दै धुम्बाराही आए ।

उमेर बढ्दै जाँदा छोराको आनीवानीमा व्यापक परिवर्तन देखिएपछि ती दम्पत्तीले अस्पताल लगे, मानसिक रोगको उपचारमा प्रयोग हुने औषधी खुवाए, रिहाव सेन्टर पनि लगे, तर व्यवहारमा केही फरक देखिएन । त्यसपछि उनीहरु लुकेर समाजको मुख्यालयमा बुझ्न आएका थिए ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय भित्रका बालबालिकाहरुलाई काउन्सिलिङ गर्ने पिएर टू पिएर परियोजनामा कार्यरत तामाङले सबै कुरा सम्झाएपछि ती दम्पत्ति ‘ठूलो समस्या’को पहिचान भएको भन्दै खुशी भएर फर्केका थिए ।

‘खासमा जन्मिदा बालक भए पनि उनी अनुभूतिको आधारमा बालिका थिए । अर्थात यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय भित्र पर्ने ट्रान्स महिला,’ तामाङ अगाडी थप्छिन्, ‘अहिले ती बालिका (ट्रान्स उमन)को घरमा कुनै समस्या देखिएको छैन । उनले कक्षा ११ मा पढ्दै छिन।’

…………………………………………………………………………

समाजमा अपहेलित महसुस गरेपछि उदयपुरबाट अर्का एक १३ वर्षकी ट्रान्स उमन (बालिका) काठमाडौँ हान्निईन् ।

उनको योजना काठमाडौँमा यौन व्यवसायमा लाग्ने भन्ने थियो । सोही अनुसार गौशाला क्षेत्रमा कोशिश गर्दै थिईन तर तत्कालै प्रहरीले उद्धार गर्‍यो र काउन्सिलिङका लागि नीलहिरा समाजको कार्यालयमा पठायो ।

ती ट्रान्स बालिकालाई हामीले काउन्सिलिङ गर्‍यौँ र बालबालिकाको हेरचाह गर्ने संस्था सिविन नेपालमा पठायौँ,’ तामाङले भनिन् ।

………………………………………………………………………….

यी दुईवटा उदाहरण मात्रै हुन् ।

रुविनासंग उद्धार गरि ल्याइएका परिवार भित्रै अत्याचारमा परेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका थुप्रै बालबालिकाहरु ठोक्किने गर्दछन् ।

‘गतवर्ष मात्रै हामीकहाँ १४ देखि १९ वर्ष उमेर समूहका ४८ जना बालबालिकाहरु सम्पर्कमा आउनु भयो । अहिले सन् २०२५ लागि सकेपछि मात्रै पनि १७ जना सम्पर्कमा आईसक्नु भएको छ,’ सोमबार पत्रकार अन्तरक्रिया कार्यक्रममा उनले भनिन् ।

‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई नेपाली समाजले अहिले पनि राम्ररी स्वीकार्न सकिरहेको छैन । यस्तो अवस्थामा ती समुदायका बालबालिकाहरुलाई कति अफ्टेरो पर्छ होला ? सानामा संगै खेलेका हुर्केका साथीहरु टाढिदैँ जाँदा, छिमेकीहरुले हेय भावले हेर्दा वा व्यवहार गर्दा के महसुस हुन्छ होला ? छिमेकी मात्रै होईन कतिपय त परिवार भित्रैबाट पनि दुर्व्यहारमा परेका छन् । यौन उत्पिडन, बलात्कारका शिकार भएका छन् । यसमा दोष कस्को ? राज्यको होईन् ? समाजको होईन ?,’ प्रतिप्रश्न गर्दै उनले भनिन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरु एक भई दवाव अघि बढाएपछि संविधानमै आफूहरुको विषय उल्लेख गरिएको तामाङ बताउँछिन् तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँछिन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा क्रियाशिल अर्का अभियन्ता (ट्रान्स म्यान) एलिन भण्डारी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा क्रियाशिल अर्का अभियन्ता ट्रान्स म्यान एलिन भण्डारी आफ्ना समुदायमाथि गरिने विभेद र लान्छाना चिर्नु अहिलेको आवश्यकता रहेको बताउँछन् । उनी भन्छन्, ‘यो व्यक्तिले चाहेर वा नचाहेर हुने समस्या होईन, यो प्राकृतिक रुपमै आएको कुरा हो । त्यसैले यो समुदायका व्यक्तिमाथि विभेद र लान्छना लगाउनु गलत छ ।’

नीलहिरा समाजमा आवद्ध उनले पनि नयाँ पहिचान भएका आफ्ना समुदायका बालबालिका तथा किशोर किशोरीहरु, तिनका परिवार तथा आफन्त अनि छिमेकीहरुलाई बुझाउनु प्रमुख चुनौती रहेको बताउँछन् ।

तामाङ  ‘स्व-अनुभूतिका आधारमा लैंगिक पहिचान हुनु पर्ने र त्यसको आधारमा नागरिकता लगायतका सबै सरकारी विवरण आफूले प्राप्त गर्नुपर्ने भन्दै संवैधानिक र कानून उपचार खोज्न आफूहरुले धेरै मिहनत गरेको भन्दै कानूनले आफ्ना पक्षमा फैसला गरे पनि कर्मचारीहरु त्यसलाई स्वीकार्न गाह्रो मानिरहेको आफूले समेत भोगेको बताईन् ।

उनले कानूनी रुपमा विषयबस्तु आए पनि समाजमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बारेमा सही र सकारात्मक कुरा उठाउनुपर्नेमा जोड दिईन् ।

‘हामीले कक्षा ७ को पाठ्यक्रममा यस विषयलाई विस्तृत रुपमा राखौँ भनेका हौँ तर त्यसको पनि राम्ररी सुनुवाई भैसकेको छैन् । उच्च शिक्षा तर्फ विभिन्न पाठ्यक्रममा पनि हाम्रो समुदायको बारेमा उल्लेख गरौँ भनेका हौँ । त्यहाँ पनि राम्ररी प्रस्तुत भएको छैन,’ । उनले गुनासो गरिन् ।

त्यसो त विसं २०७८ मा गरिएको जनगणनामा पहिलो पटक महिला र पुरुषबाहेक अन्य लैङ्गिक र यौनिक पहिचान भएकाहरूलाई समावेश गरिएको थियो। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको संख्या २ हजार ९२८ जना रहेको भेटिएको थियो । जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हो ।

तर अभियानकर्मीहरू भने नेपालमा अहिलेसम्म यस्तो समुदायमा व्यक्तिहरुको संख्या ६ देखि सात ७ लाखसम्म भएको हुनसक्ने ठान्छन् ।

यी मध्ये लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकभित्र विविधताभएका मानिसहरू छन्। त्यस्ता फरक फरक पहिचान भएकाहरूलाई अङ्ग्रेजीमा लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स र क्विअर भन्ने गरिन्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *