भारत-पाकिस्तानबीच बढ्दो तनाव: नेपालको औषधी बजारमा पर्न सक्छ असर
काठमाडौँ, २५ बैशाख । भारत पाकिस्तानबीचको जारी तनावले कस्तो रुप लिन्छ अहिल्यै भन्न सकिन्न । तर संकेत त्यति राम्रो छैन । मंगलबार सबेरै भारतीय सेनालेले पाकिस्तानका विभिन्न क्षेत्रमा आतकंकारीको बनाएको अखडा ध्वस्त पार्न भन्दै अप्रेसन सिन्दुर चलाएपछि तनाव उत्कर्षमा पुगेको हो ।
यी दुई मुलुकले औपचारिक युद्धको घोषणा त गरेका छैनन् बिहीबार साँझ देखि दुई देशका सेनाहरु गोलावारीमा उत्रिएका छन् ।
आणविक अस्त्रले बलिया दुबै मुलुक यदि युद्धमा फसे भने त्यसको प्रत्यक्ष असर छिमेकमा रहेको सानो मुलुक नेपालमा पर्ने निश्चित छ ।
भारतसंग जोडिएको सिमा नाकाहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको सरकारले दुई देशबीचको तनावपछि यतिवेला पर्ख र हेरको अवस्थामा छ ।
……………………………………………………………
नेपालको औषधी बजारमा अहिले पनि आधा भन्दा बढी हिस्सा भारतीय उत्पादनले ओगटेको छ । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा त्यसको असर नेपालमा पर्ने निश्चित जस्तै छ ।
भारतसंग धेरै चिजहरुमा निर्भर नेपालले जारी तनावले युद्धको रुप लिएमा केही अत्यावश्यक चीजमा समेत समस्या भोग्न सक्छ ।
त्यस्तै समस्या पर्ने मध्येको एक बस्तु औषधी हुने यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।
नेपालको औषधी बजारको ५५ प्रतिशत बढी हिस्सा भारतीय कम्पनीबाट उत्पादित औषधीले ओगटेको छ । त्यसमा धेरै जीवन रक्षक औषधीहरु समेत पर्ने बताईन्छ । तनाव बढ्दै गयो भने सप्लाई चेन बिग्रने र त्यसले औषधी अभाव हुन सक्ने कतिपयले अनुमान गरेका छन् ।
नेपाली हेल्थ डटकमले भारत पाकिस्तान तनावले बढ्दै जाँदा औषधीका क्षेत्रमा नेपालले के कस्ता तयारी गर्नुपर्छ होला भनेर औषधी क्षेत्रसंग प्रत्यक्ष जोडिएका विभिन्न निकायका व्यक्तिसंग प्रतिक्रिया लिएको छ ।
हेरौँ उनीहरुको भनाई :
पहिलो कुरा, भारत पाकिस्तानबीच चुलिएको तनावका छिटफुट घटना देखिए पनि युद्ध नै भईसकेको अवस्था अहिले होइन जस्तो लाग्छ । दोस्रो कुरा युद्ध भयो भने के असर गर्दछ भन्ने तपाईँले जो प्रश्न सोध्नु भएको छ, युद्ध चर्कियो भने त औषधीमा मात्रै होईन धेरै कुरामा असर गर्दछ ।
अब औषधीकै कुरा गर्नु पर्दा अहिलेसम्म भारतबाट नियमित रुपमा आयात भईरहेको छ । पछिल्ला घटनाले केही असर गरेको पाइएको छैन ।
अर्को कुरा उद्योगी व्यवसायीको कुरा सुन्दा नेपाली बजारमा केही भै नै हालेमा पनि चार छ महिनालाई पुग्ने औषधी मौज्दात छ । त्यसैले खासै अफ्टेरो पर्दैन । यद्धपी हामीले सम्भावित घटनाक्रमको विश्लेषण गरी सरोकारवालासंग आवश्यक जानकारी तथा छलफल गर्नु आवश्यक भयो भन्ने ठान्छु म । त्यो तयारीका साथ विभाग अगाडी बढ्छ ।
अहिले नै भन्दा हामी पनि पर्ख र हेरको अवस्थामा रहेका छौँ ।
भारत पाकिस्तानबीचको द्धन्द कसरी अगाडी बढ्छ, त्यो हेर्न त बाँकी नै छ । तर दुबै देशको पछिल्ला गतिविधि हेर्दा यो द्धन्द सजिलै सकिन्छ जस्तो देखिदैन । यदि यो बढ्दै गयो भने त्यसको असर औषधीको सप्लाई चेनमा पर्ने निश्चित छ । त्यसो हुँदा त्यसको प्रत्यक्ष असर नेपालसम्म आईपुग्छ । किनकी नेपालमा जीवन रक्षकसहितका ठूलो परिमाणमा औषधी भारतबाट नै आउँछ ।
त्यसैले अबको यो अवस्थामा हामीले हामीले जति सक्यो चाँडो थप औषधी ल्याएर मौज्दात गर्न पर्छ जस्तो लाग्छ । तीन महिना, चार महिना छ महिना जति सकिन्छ । त्यति अवधीलाई थप हुने गरी औषधी मौज्दात गर्न पर्छ ।
अर्को कुरा यस्तो बेलामा नागरिकको व्यवहारले पनि प्रभाव पार्दछ । त्यो के भने अभाव हुन्छ होला भनेर औषधि धेरै किनेर ओभर स्टक राख्ने गर्ने चलन छ । कोभिडको बेला यस्तो देखियो । यस्तो भयो भने यहाँको सप्लाई चेनमा समेत असर पर्दछ । यस्तो नगर्नु होला ।
तेस्रो कुरा, यस्तो बेलामा बिचौलियाको बिगबिगी हुन्छ । उनीहरुले हल्ला फिजाएर कृतिम अभाव सिर्जना गर्न खोज्दछ । राज्यको निकाय र सप्लायर्सले यस कुरामा ध्यान दिनु पर्छ । यसबाहेक औषधी व्यवस्था विभागमा मूल्य र अरु विभिन्न बहानामा लाइसेन्स नबीकरण रोकिएको अवस्था छ । यसलाई हामीले छिटो छरितो ढंगबाट फुकाई, आयातको व्यवस्थालाई सहज गराउन पर्छ । प्रमुख सरोकारवालासंग विभागले समन्वयका लागि तम्तयार भएर सम्भावित संकट टार्नका लागि योजना बनाउन पर्छ ।
अहिलेको अवस्थालाई हेर्दा दुई देशबीच युद्ध भईसक्यो भन्ने अवस्था छैन । यो यत्तिकै सेलाउन पनि सक्छ । यद्धि युद्ध नै भयो भने पनि तत्काल नेपालका लागि औषधीको समस्या नहुन सक्छ । किनकी नेपालमा औषधीको ओभर स्टक छ । ओभर सप्लाई भएर ओभर स्टक छ । अहिले नै रोकिए पनि तीन चार महिनालाई पुग्ने औषधी नेपालको बजारमा छ । त्यसैल आत्तिई हाल्नु पर्ने अवस्था छैन । तर चनाखो चै भईरहनु पर्छ । विशेषगरी सरकारले हामीजस्ता व्यवसायीसंग र उद्योगहरुसंग समन्वय गर्नुपर्छ । औषधी व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगै अन्य मन्त्रालयहरु पनि यसमा जोडिएर आउँछन् । नेपालमा औषधी अभाव हुन नदिन के कस्ता नीति रणनीति चाल्नु पर्छ त्यसमा तयार भएर बस्न चाहि पर्छ ।
भारत पाकिस्तानबीचको तनावकै कारण नेपालमा औषधी हाहाकार होला भनेर डराउनु पर्दैन । विगतमा पनि धेरै यस्ता घटना र विपत्तीका बीच नेपाली औषधी उद्योगले थेगेकै हो ।
कतिपयमा भारत युद्धमा जाँदा नेपाली औषधी उद्योगहरुले त्यहाँबाट ल्याउने कच्चा पदार्थहरुमा समस्या होला कि भन्ने डर होला । तर कुरा के हो भने, औषधीका कच्चा पदार्थहरु भारतमा पनि धेरै जसो चीनबाट आउने हो । हामीलाई भारतबाट कारोवार गर्न सजिलो हुने, नजिक हुने भएकोले हो । यदि त्यताबाट अफ्टेरो भएमा हामीसंग सिधै चीनबाट ल्याउन सक्ने विकल्प पनि हुन्छ । यस्तै बंगलादेश तथा अन्य देशबाट पनि आवश्यक पदार्थहरु ल्याउन सकिन्छ ।
अर्को कुरा हामीसंग जहिले पनि १४० देखि १५० दिनसम्मका लागि पुग्ने मौज्दात औषधी छ । लामो समय त्यसैले अहिल्यै आत्तिने अवस्था छैन भन्छु म । तर हामीले सम्भावित अभाव तथा समस्याहरुका बारेमा सरकार, उद्योगी व्यवसायी तथा सरोकारवालाबीच छलफल अपेक्षा गरेका छौँ । संकट आईसकेपछि सामाना गर्नु भन्दा पूर्व तयारीमा रहनु बुद्धिमानी हुन्छ ।
मंगलबार विहान देखि बिहीबार रातीसम्म आईपुग्दा भारत पाकिस्तान युद्धकै मुडमा देखिएका छन् । भारतमा जारी आईपीएल आज खेल सुरु भईसकेपछि रोकिएको छ । दैनिक जीवन कष्ठकर बनेका खबरहरु आईसकेको छ ।
भारत हामीकहाँ सबैभन्दा धेरै औषधी निर्यात गर्ने देश हो । हामीकहाँ धेरै जीवन रक्षक औषधीहरु भारतबाट नै आउने गर्दछ । तर यो अवस्थामा भारतले विशेष कारण भन्दै औषधी निर्यातमा टाइट गर्न सक्छ । त्यसैले हामी अब चनाखो बन्नु पर्ने अवस्था आएको छ ।
सरकारले यो विशम परिस्थितिलाई मूल्यांकन गर्दै अत्यावश्यक औषधीको सूची बनाउने र आयातको तयारीमा जुटि हाल्नु पर्छ । पछि गाह्रो हुनसक्छ ।नेपाली बजारमा दुई तीन महिनालाई पुग्ने औषधी छ भनिन्छ, तर सबै अत्यावश्यक औषधी नहुन सक्छ ।
यस तर्फ ध्यान दिनु पर्छ । औषधी व्यवस्था विभागले तत्काल सरोकारवाला पक्षसंग छलफलमा जुट्न जरुरी छ । नेपाल औषधी आयातकर्ता संघ यो परिस्थितिमा समन्वयकारी भूमिका निर्वाह गर्न समेत तयार छ ।
भारत पाकिस्तानबीचको बढ्दो तनावले युद्धको रुप लियो भने नेपालमा औषधीको उपलब्धतामा ठूलो समस्या पर्न सक्छ । किनभने नेपाल औषधीमा भारतसंग एक प्रकारले भन्दा आत्मनिर्भर जस्तै देखिन्छ । किनभने नेपालले औषधी र त्यसको लागि चाहिने कच्चा पदार्थ भारतबाट ठूलो मात्रामा (करिब ७० प्रतिशत) आयात गर्छ । चीनबाट सोझै करीव २० प्रतिशत र बाँकी १० प्रतिशत अरु तेस्रो मुलुकबाट आयात गर्दछ ।
नेपालमा केही फर्मास्युटिकल कम्पनीहरुले औषधी उत्पादन गरेता पनि त्यसका लागि चाहिने सबै कच्चा पदार्थ पदार्थ आयात गर्नु पर्ने बाध्यता छ ।
त्यसो त विश्व बजारमा औषधीको कच्चा पदार्थ उत्पादन र औषधी निर्यातमा भारतको हिस्सा मात्रै ५ प्रतिशत हो । त्यसैले भारत पाकिस्तानबीचको युद्धले विश्व बजारमा औषधीको उपलब्धतामा खासै फरक नपर्न पनि सक्छ । तर नेपाल भने सिटामोलमा पनि आत्मनिर्भर छैन । सिटामोल नै हाहाकार हुनसक्छ ।
यो विशम परिस्थितिका माझ स्वास्थ्यका उच्च पदाधिकारी तथा नेपाल सरकार चीर निन्द्रामा हुन सक्छ । उनीहरुलाई ढुक्क होलान् नेपाल आफैमा ४५ ५० प्रतिशतले आत्मनिर्भर छ ।
त्यस्तो होईन्, कच्चा पदार्थ मात्रै होईन, प्याकेजिङका लागि चाहिने पदार्थ पनि नेपाल आफैले उत्पादन गर्न सक्दैन । कुरा बुझ्नुस्, उठनुस्, चनाखो हुनुस् । आवश्यक तयारीमा जुट्नुस् । सबै पक्षलाई बोलाउनुस् योजना बनाउनुस् ।
सम्पर्क इमेल : [email protected]