नेपाल मेडिकल कलेजको अस्पताल निर्देशकमा प्राडा उपाध्याय नियुक्त

काठमाडौँ, ६ मंसिर । नेपाल मेडिकल कलेजको अस्पताल निर्देशकमा प्राडा निलमणी उपाध्याय नियुक्त भएका छन् । कलेज सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकको निर्णय अनुसार प्राडा उपाध्यायलाई तीन वर्षका लागि अस्पताल निर्देशकमा नियुक्त गरिएको हो ।

यसअघि अस्पताल निर्देशकको रुपमा रहेका प्राडा मोदनाथ मरहठ्ठा कलेजको प्रिन्सिपल पदमा नियुक्त भएपछि प्राडा उपाध्यायलाई सो पदमा नियुक्त गरिएको हो । नवनियुक्त अस्पताल निर्देशक उपाध्याय कलेजको एनेस्थेसिया विभागमा कार्यरत छन् । उनीसंग नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ ।

आज एक कार्यक्रमकाबीच कलेजका अध्यक्ष प्रा।डा। जैनुद्धिन अन्सारीको उपस्थितिमा प्रबन्ध निर्देशक डा साविहा यासमिनले नवनियुक्त अस्पताल निर्देशकलाई नियुक्ति पत्र दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन् । डा यासमिनले कलेजको स्वास्थ्य सेवालाई चुस्तदुरुस्त बनाउन अस्पताल निर्देशकको भूमिका महत्वपूर्ण रहने बताउँदै डा. उपाध्यायले सबैलाई मिलाएर अगाडी बढ्ने अपेक्षा गरिएको उल्लेख गरिन् ।

यस्तै, कलेजका बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारीले नवनियुक्त अस्पताल निर्देशकलाई सफलताको शुभकामना दिँदै अस्पतालको स्वास्थ्य सेवा बलियो बनाउन सबैको सहकार्य र सामुहिक भावना अपरिहार्य रहेको बताए ।

कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका विषयहरुलाई एक साथ अगाडी बढाउन अस्पताल प्रशासन, कर्मचारी र सञ्चालक विच एकताको भावना विकास हुनुपर्ने उल्लेख गरे । उनले अध्यक्ष प्राडा अन्सारीले आउँदा दिनहरुमा कलेजमा नयाँ नयाँ स्वास्थ्य सेवाहरु थप गर्ने योजनाहरु रहेकोले अस्पताल निर्देशकको भूमिकामा प्रा।डा। उपाध्यायले निर्वाह गर्ने भूमिकाले कलेजको गरिमा बढ्ने अपेक्षा राखेको बताए ।

नवनियुक्त अस्पताल निर्देशक प्रा।डा। उपाध्यायले सबैको सल्लाह र सुझाव अनुरूप सबैलाई मिलाएर सामुहिक भावना अनुरूप कार्य सम्पादन गरी अस्पतालको गरिमा बढाउने गरि काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्राडा मोदनाथ मरहठ्ठा, डाइरेक्टर डा राजेश किशोर श्रेष्ठ, मेट्रोन नविना सिंह लगायतले नवनियुक्त अस्पताल निर्देशकलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *