बाढी पसेपछि भक्तपुरको सिद्धि स्मृति महिला तथा बाल अस्पतालको सम्पूर्ण सेवा बन्द

172
Shares
हिजो १२ असोजका दिन भक्तपुरको सिद्बि स्मृति अस्पताल डुबानमा परेपछि बच्चासहितको सुत्केरी उद्धार गर्दै नेपाली सेनाका टोली र स्थानीय बासिन्दा । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, १३ असोज । अबिरल परेको भारी वर्षासंगै हनुमन्ते खोलामा आएको बाढी पसेपछि भक्तपुरमा रहेको सिद्धि स्मृति महिला तथा बाल अस्पतालको सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ । अस्पतालले अर्को सूचना जारी नहुँदासम्मका लागि सबै सेवाहरु बन्द गरिएको जनाएको छ ।

सो अस्पतालल गत विहीबार देखि परेको अबिरल वर्षापछि आएको बाढीबाट नराम्ररी प्रभावित भएको थियो । हिजो मात्रै त्यहाँ रहेका केही बिरामीहरुलाई उद्धार गरी अन्यन्त्र पठाइएको थियो । अस्पतालको हाता भित्र बाढीबाट अत्यधिक प्रभावित भएकोले सेवा दिन नसक्ने अवस्थाको सिर्जना भएको सूचनामा उल्लेख छ ।

सो अस्पताल करीव दुई महिना अघि पनि यसै गरी बाढी पसेका कारण बन्द भएको थियो । गत १६ साउनमा पनि अस्पतालको हाता भित्र बाढीबाट अत्यधिक प्रभावित भई अत्यावश्यक सेवा दिन नसक्ने अवस्थाको सिर्जना भएको भन्दै सेवा बन्दको घोषणा गरेको थियो । त्यसबेला पाँच दिन बन्द भई २१ साउन देखि सेवा सुचारु भएको थियो ।

काठमाडौँ उपत्यकामा ठूलो क्षति पुग्ने गरि आएको रेकर्ड ब्रेक वर्षाले हिजो उपत्यकाका, किष्ट मेडिकल कलेज, बयोधा, मेडिसिटी लगायतका अस्पतालमा पनि असर गरेको थियो । वर्षासंगै आएको बाढीबाट ती अस्पताल समेत डुवानमा परेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *