राजीब गान्धी क्यान्सर अस्पतालमा सबैको मन जित्न सफल कुशल प्रशासक ‘जीतु सर’

– जीतबहादुर थापा

नयाँ दिल्ली, भारत ।  नयाँ दिल्लीको रोहीणी सेक्टर – ५ मा रहेको राजीवगान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर (राजीब गान्धी क्यान्सर अस्पताल) नेपालीहरुका लागि पनि अपरिचित अस्पताल होईन । अस्पतालमा उपचारका लागि पुग्ने कुल बिरामीमध्ये २५ प्रतिशत बढी नेपालीहरु नै रहेको कर्मचारीहरु बताउँछन् ।

निजी क्षेत्रबाट सञ्चालित ४९८ बेडको सो अस्पतालमा भारतीय बाहेक नेपाली, भुटानी, अफगान, बंगलादेशी, नाइजेरियन लगायतका दर्जनौँ देशबाट ठूलो संख्यामा क्यान्सरका बिरामीहरु उपचारका लागि आउने गर्दछन् ।

अस्पतालमा आउने स्वदेशी होस वा विदेशी सबैलाई समान व्यवहार र खर्चमा उपचार दिलाउने यो अस्पतालको जनशक्ति व्यवस्थापन र त्यसको परिचालन साच्चिकै लोभलाग्दो छ ।

अस्पतालमा सिनियर डाक्टर देखि जुनियर नर्ससम्म, वार्ड व्याई देखि सेक्युरिटी गार्डहरुले उपचारका लागि आएका बिरामी र तिनका आफन्तसंग देखाउने व्यवहारले साँच्चिकै राजीव गान्धीको ‘स्टाण्डर्ड’ झल्काउछ ।

त्यहि ‘स्टाण्डर्ड’ कायम गर्न खटिएका व्यक्तिहरु मध्येका एक हुन् जीतबहादुर थापा ।

हाल ‘सिनियर एक्जुकेटिभ एचआर’ पदमा कार्यरत उनी राजीव गान्धी क्यान्सर अस्पतालमा प्रशासन तर्फबाट सबैभन्दा माथिल्लो तहमा पुग्ने एक मात्रै नेपाली हुन् ।

अस्पतालमा कतिपयले जीतु सर, कतिपयले जीतु भाई त कतिपयले जीतु भैया भनेर सम्वोधन गर्दछन् । सबैको सम्वोधनलाई उनी सहर्ष स्विर्काछन् ।

सिनियर चिकित्सक देखि तल्लो तहका कर्मचारीसम्मका प्रिय पात्र उनी सबैलाई खुशी बनाएर डिउटीमा परिचालन गर्न माहिर छन् । उनी आफैमा देख्दा साधारण तर असाधारण खुवी भएका व्यक्ति हुन् । उनको विगत र बर्तमानले यो कुरालाई सहज रुपमा पुष्टि गर्दछ ।

अस्पतालको क्यान्टिनमा सहयोगी देखि सिनियर एक्जुकेटिभ एचआरसम्म

जीतबहादुरको सफलताको बास्तविकता सुन्दा एकादेशको कथा जस्तो लाग्छ ।

हिन्दी बोल्न नजान्ने ‘फुच्चे केटो’ जो अस्पतालको क्यान्टिनमा ‘हेल्पर’को रुपमा काम गर्दथ्यो अहिले क्यान्सर उपचारमा अन्तराष्ट्रिय क्षेत्रमै प्रसिद्ध राजीब गान्धी अस्पतालमा ‘सिनियर एक्जुकेटिभ एचआर’को भूमिकामा देखिएको छ ।

अर्घाखाँची पाँडीनी गाउँपालिका -२ पोखराथोकका जीतबहादुर आफ्नो अंकलको हात समाएर मुग्लान पसे । यो सन् १९९४ तिरको कुरा थियो ।

उनका अंकल दिल्लीको रोहिणी सेक्टर – ३ मा रहेको जयपुर अस्पताल भित्र क्यान्टिनमा कुकको काम गर्दथेँ ।

‘जयपुर अस्पतालमा डा. वाइपी भाटिया एड्मिनिस्ट्रेटिभ डाइरेक्टर हुनुहुन्थ्यो । काकाले उहाँसंग परिचय गराईदिनुभयो । फुच्चे केटो तर मेहनती र इमान्दार देखेपछि माया गर्नु भयो । म सजिलै घुलमिल हुन पुगेँ,’ उनले अगाडी थपे, ‘डाक्टर दम्पत्तीले अंकलसंग मलाई आफूहरुको सहयोगी बन्ने गरी घरमा लैजान खोज्नु भयो । अस्पतालको प्रमुखको आग्रह अंकलले नमान्ने कुरै भएन । म उहाँहरुसंगै घर जान थालेँ ।’

‘उहाँहरुको घरमा खाना बनाउन सहयोग गर्न थालेँ ।  मलाई कता कता फेरी घर फर्केर पढ्न मन लाग्यो । मैले अंकल संगै डाक्टर भाटिया दम्पत्तीहरुलाई जानकारी गराएँ । उहाँहरुले पढ्नका लागि किन उता जानु पर्‍यो यहि हामी पढाई दिन्छौँ भन्नु भयो । त्यसपछि मैले यहि पढ्ने भएँ । उहाँहरुकै सहयोगमा कक्षा १० सम्म पढेँ । कक्षा १२ र पछि ग्राजुएट्स खुल्ला विश्वविद्यालयबाट पुरा गरेँ,’ उनले आफ्नो विगत सम्झिए ।

राजीब गान्धी अस्पतालको यात्रा

थापा भन्छन्, ‘राजीब गान्धी क्यान्सर अस्पतालमा मेरो सेवा २६ वर्ष पुग्न आट्यो । यो अस्पताल सन् १९९६ मा स्थापना गरिएपनि सबै सेवा दिन सुरु भएको थिएन । म १ जुन १९९८ बाट यो अस्पतालमा आवद्ध भएको हुँ । यो अस्पताल खुलेपछि डाक्टर भाटिया जयपुर छाडेर अस्पतालमा आवद्ध हुनु भयो । उहाँ यो अस्पतालको पहिलो सिईओ हुनुहुन्थ्यो । उहाँ यहाँ आउँदा मलाई पनि यहाँ जागिरमा छिर्न  बातावरण पक्कै भयो । तर मेरो योग्यता, क्षमता, इमान्दारिता प्रमुख कारक थिए जस्तो लाग्छ । आज यो अवधी आइपुग्दासम्म मैले पाएको सम्मान र सफलताले त्यहि पुष्टि गर्दछ ।’

‘२६ बर्ष अघि म यहाँ खुल्ला प्रतिस्पर्धाबाट नाम निकालेर पर्सनल एड्मिस्ट्रेसन विभागबाट सेवा प्रारम्भ गरेँ । अहिले बढुवा हुँदा हुँदै ‘सिनियर एक्जुकेटिभ एचआर’सम्मको पदमा आइपुगेको छु । मेरो अनुभव, क्षमता र दक्षताले यो पदमा पुर्‍याएको हो ‘ उनले भने ।

राजीब गान्धी अस्पतालमा किन आउँछन् नेपाली ?

थापाले सहज रुपमा उत्तर दिन्छन्, ‘सिधा हिसावले भन्ने हो भने त उपचार राम्रो भएर नै हो । यो अस्पतालले अरु अस्पतालले जस्तो गरी मार्केटिङ गर्न पनि परेको छैन । यहाँ उपचारका लागि आउने बिरामीमध्ये करीब २५ प्रतिशत छन् जस्तो लाग्छ । दैनिक १०० देखि १२० जति नयाँ बिरामी आउँछन् । त्यसमा २५ देखि ३० जना नेपाली हो भनेर बुझ्नु पर्ने हुन्छ । यहाँ नजिकैको सोमबजारमा जानु भयो भने जता पनि नेपाली नै भेटिन्छ । अस्पतालमा पनि कुनै पनि फ्लोर र लिफ्टमा पुग्नु भयो भने कोही न कोही नेपाली नै भेटिन्छ ।’

उनी अगाडी थप्छन्, ‘अब यहाँ नेपाली आउनुको कारणमा दक्ष र अनुभवी जनशक्ति तथा साधनस्रोत सम्पन्न अस्पताल भएर पनि होला । हाम्रो नेपालमा पनि अस्पतालहरु त छन् तर यहाँ जस्तो दक्ष जनशक्ति र आवश्यक साधन स्रोत आवश्यकता अनुसार पुगेको छैन कि जस्तो लाग्छ । यहाँ आउने अधिकांश नेपालीहरुले त्यहि भन्नु हुन्छ । नेपालमा यहाँ जस्तो दक्ष तथा अनुभवी चिकित्सक, प्रविधि भए जस्तो लागेन त्यसैले यहाँ आयौँ भन्नु हुन्छ । आशा गरौँ नेपालमा पनि यस्तै साधान स्रोत सम्पन्न अस्पताल बन्ने छ ।’

उपचारमा पक्षपात हुँदैन, ठूला डाक्टरका लागि सोर्स लगाउनु पर्दैन

थापाले नेपाली बिरामीहरु आउनुको अर्को कारणमा उपचारमा सहज पहुँच हो भन्ने ठान्छन् । ‘नेपालमा ठूला डाक्टरलाई भेटन मुस्किल, सोर्स लगाउनु पर्ने भन्ने बिरामीहरुबाट सुनेको छु तर यहाँ त्यस्तो छैन । उपचारमा कुनै पक्षपात र सोर्सफोर्स चल्दैन । यहाँ स्वदेशी र विदेशीका लागि शुल्क बराबर छ, चाहेको डाक्टरलाई सहज रुपमा देखाउन सक्छ ।’

‘भारत बाहेक, नेपाल बंगलादेश, अफगानीस्थान, भुटान, मध्येपूर्वका देशहरु तथा अफ्रिकी देशहरुबाट समेत उपचारका लागि क्यान्सरका बिरामीहरु आउनुहुन्छ । मैले अघि नै भने उपचारमा यहाँ स्वदेशी र विदेशीलाई कुनै विभेद छैन बरु पहिलो प्राथमिकता विदेशी बिरामीहरुका लागि हुन्छ । उपचार शुल्क पनि स्वदेशी र विदेशीको हकमा बराबर नै हो । यहाँ सिनियर चिकित्सकहरुलाई सहज रुपमा भेटन सकिन्छ । सेवा रोजेर लिन सकिन्छ । तर नेपालको तुलनामा उपचार अलिकति महंगो भने छ । तर नेपालीहरुले यहाँको उपचार सेवाबाट सन्तुष्ट भएरै होला पैसाको कुनै प्रवाह नै नगरी उपचारका लागि आइरहनु भएको छ ‘ उनले अन्तिममा भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *