उच्च रक्तचाप के कारणले हुन्छ ? यसका लक्षणहरु के के हुन् ?

डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ

 

उच्च रक्तचापका कारणहरु
अस्वस्थ जीवनशैली नै उच्च रक्तचापको प्रमुख कारण हो । अस्वस्थ आहार (नूनिलो खानेकुरा), मोटोपना र शारीरिक गतिविधिको कमीले उच्च रक्तचापको सृजना गर्नसक्छ ।

जीवनशैलीमा हुने अस्वस्थ परिवर्तनले गर्दा नै युवकहरुमा पनि यो समस्या बढ्दै गइरहेको देखिन्छ ।

धुम्रपानको सेवनले रक्तचापलाई बढाउँछ । यसले रक्तचाप कम गर्ने  औषधिको असरलाई पनि कम वा निष्कृय गर्छ, जसले गर्दा रक्तचापको राम्रो नियन्त्रण हुन पाउँदैन ।

उच्च रक्तचापको कारणहरु तलको चित्रमा पनि हेर्न सकिन्छ :

उच्च रक्तचापका लक्षणहरु

सामान्यतया उच्च रक्तचापको केही लक्षण हुँदैन। उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ, तर यो कुरालाई अनुसन्धानले पुष्टि गर्दैन ।

रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्नसक्छ । ब्लड प्रेसर अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउको को पछाडितिर कहिलेकाँही पुरै टाउको भारी हुने वा अलिअलि दुख्ने हुनसक्छ ।

कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण तथा समस्याहरु देखा पर्न सक्छन् । कहिलेकाँही उच्च रक्तचापको कारणले अंगहरुमा परेको दुष्प्रभावको फलस्वरुप विभिन्न लक्षणहरु देखापर्न सक्छ ।

केही बिरामीलाई मस्तिष्कघात, हृदयाघात वा मृगौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्रै उच्च रक्तचाप भएको पहिलो पटक थाहा हुनसक्छ ।

  • टाउको दुख्नु वा भारी महसुस हुनु
  • रिंगटा लाग्नु
  • हिंडदा स्वाँ स्वाँ हुनु
  • खुट्टा वा अनुहार सुन्निनु
  • नाकबाट रगत बग्नु

अर्को एउटा कुरा, टाउको दुख्ने कारण उच्च रक्तचाप नभएर अरु नै हुनसक्छ । बरु टाउको दुखेको बेलामा रक्तचाप पनि बढ्न सक्छ । त्यसैले टाउको दुख्न ठीक भएपछि फेरी रक्तचाप नापेर हेर्नुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *