विश्वभर १ अर्व २५ करोड बढी बयस्क सुर्तीजन्य पदार्थका प्रयोगकर्ता

प्रयोगकर्ता घट्दो क्रममा तर सुर्ती उद्योगको हस्तक्षेपकारी भूमिका जारी

जेनेभा । विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले अहिले पनि विश्वभर १ अर्व २५ करोड बढी बयस्क व्यक्ति सुर्तीजन्य पदार्थको प्रयोगकर्ता छन् । तर यो संख्या घट्दो क्रममा छ ।

डब्लुएचओले सन् २०२२ कै प्रवृत्ति अनुरुप विश्वव्यापी रुपमा सुर्तीजन्य पदार्थको प्रयोगदरमा कमी आएको बताएको छ । उसले सन् २००० मा हरेक ३ जनामध्ये एक जनाले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेकोमा पछिल्लो प्रतिवेदनले त्यस्तो प्रयोगकर्ता हरेक ५ मध्ये १ भएको उल्लेख गरेको छ ।

यस्तै पछिल्लो प्रतिवेदनले १५० बढी मुलुकहरुले सुर्तिजन्य पदार्थको प्रयोगदर घटाउन सफल भएको बताएको छ । ब्राजिल र नेदरल्याण्ड जस्ता मुलुकले ‘एम्पावर’ योजना लागू गरेपछि सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न ठूलो सफलता प्राप्त गरेको बताइएको छ । ब्राजिलले सन् २०१० यता ३५ प्रतिशत र नेदरल्याण्डले ३० प्रतिशतले सुर्तीजन्य पदार्थ घटाउन सफल भएका छन् ।

‘पछिल्ला बर्षहरुमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा राम्रो प्रगति भएको छ तर अझै सन्तुष्टि हुने अवस्था छैन । सुर्ती उद्योगले आफ्नो नाफाका लागि अनगिन्ती जीवनहरु बर्बाद गर्ने दिसामा लागेको देख्दा म छक्क परेको छु । अहिले पनि हामीले सरकारले सुर्ती नियन्त्रणको कार्यमा विजयी हालिस गरेको सोचेका छौँ तर सुर्ती उद्योगीहरुले स्वास्थ्य नीतिहरु हेरफेर गर्ने र आफ्ना घातक उत्पादन सहज रुपमा बेच्ने अवसर लिइरहेका छन्,’ डब्लुएचओका स्वास्थ्य प्रवद्र्धन विभागका निर्देशक डा रुडिगर क्रेच भन्छन् ।

डब्लुएचओले आफ्ना सदस्य राष्ट्रहरुलाई सुर्ती नियन्त्रण सम्वन्धी नीतिहरु लागू गर्न र सुर्ती उद्योगहरुको हस्तक्षेपविरुद्धको लडाई जारी राख्न आग्रह गरेको छ ।

सुर्तीजन्य पदार्थको प्रयोग कुन क्षेत्रमा बढी ?
डब्लुएचओका अनुसार सबैभन्दा बढी दक्षिण पूर्वी एशियाली क्षेत्रमा प्रयोग हुन्छ । यो क्षेत्रमा २६.५ प्रतिशत सुर्तीजन्य पदार्थको सेवनकर्ता रहेकोमा युरोपीय क्षेत्रमा थोरै कम अर्थात २५.३ प्रतिशत प्रयोगकर्ता देखिन्छन् ।

डब्लुएचओले यो पनि भनेको छ कि सन् २०३० सम्ममा युरोपीय क्षेत्रमा २३ प्रतिशत सुर्तीका अम्मली हुने र यो विश्वकै सबैभन्दा बढी अम्मली रहेको क्षेत्र बन्ने घोषणा गरेको छ ।

डब्लुएचओले युरोपेली क्षेत्रमा महिलाहरुको सुर्तीजन्य पदार्थ उपयोग गर्ने दर अन्य क्षेत्रको भन्दा दोब्बर बढी भएको र घट्ने क्रम पनि सुस्त गतिमा रहेकाले प्रयोगकर्ता बढी हुने क्षेत्रको हिसावले प्रथम हुने अनुमान गरेको हो ।

त्यसो त पछिल्लो केही बर्षमा सुर्तीजन्य पदार्थको प्रयोगदर निरन्तर घट्दो छ । विश्वले सन् २०२५ सम्ममा सुर्तीजन्य पदार्थको प्रयोगदरलाई २५ प्रतिशतले कम गर्न सक्छ ।

६ देशमा सुर्तीजन्य पदार्थको प्रयोग बढेको छ
केही देशहरुमा सन् २०१० पछि सुर्तीजन्य पदार्थको उपयोगमा केही परिवर्तन देखिएको छ । ६ वटा देशमा यसको प्रयोग बढ्दो क्रममा छ । कंगो, इजिप्ट, इन्डोनेसिया, जोर्डन, ओमान र मोल्दोवा गणतन्त्रमा सुर्तीजन्य पदार्थको सेवनदर बढ्दो क्रममा रहेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *