तिहारमा पटका पड्काउँदा दुर्घटना भयो भने ? डा. नकर्मीको टिप्स

124
Shares

सरकारले पटका पड्काउन निषेध गरेको छ । तर पनि तिहारको अवसर पारी हिजो आज टोलछिमेकमा पटकाका आवाजहरु प्रसस्तै सुनिएका छन् ।

कीर्तिपुर अस्पतालका डा. किरण नकर्मीले भने यसै सन्दर्भलाई जोड्दै पट्का पड्काउन रमाईरहेकाहरु र तिनका अभिभावकलाई केही सल्लाह दिएका छन् । तिहारमा दीपावली समेत गर्ने भएकोले त्यसबेला समेत सतर्क रुपमा काम गर्न सल्लाह दिएका छन् ।

हेरौँ उनले दिएको सल्लाह :

  • पटाका पड्काउनु खतरापूर्ण काम हो। त्यसैले यो जथाभावी रुपमा नपड्काएको राम्रो ।

  • पड्काउनै परे घर वा आवासीय क्षेत्र देखि टाढा पड्काउनु राम्रो हुन्छ।
  • बच्चाहरूलाई एक्लै दियो बाल्ने वा पटाका पड्काउने काममा नछाडौँ, अभिभावकहरु साथमा हुनु जरुरी छ।
  • दियो, पटाका बाल्दा प्रज्वलनशील कपडा जस्तै पोलिष्टर, टेरिकटन आदि नलगाउने। साडी जस्ता खुला कपडाले आगो सजिलै टिप्ने हुँदा यस्ता कपडा नलगाउने।
  • पूरा नजलेको पटाका हातमा लिनु खतरापूर्ण हुनेहुँदा जलिसकेका वा आधा जलेका पटाकालाई पानीमा डुबाएर निभाउने।

आगो लागिहाल्यो वा पोलि हाल्यो भने के गर्ने ?

  • सबैभन्दा पहिले निभाउन मदत माग्ने।
  • आत्तिएर नदौडिने। सुरक्षित ठाउँमा पुगेर आगो निभाउने।
  • सबै कपडा फुकाल्ने। घडी,गहना, औंठी निकाल्ने। यसो नगरे ताप भित्रै थुनिएर जलन गहिरो हुनसक्छ।
  • आगो निभे पछि पोलिएको भागलाई ठण्डा बगिरहेको पानीमा राखेर चिस्याउनु पर्छ। यसो गर्नाले पनि ताप भित्र सोसिन पाउँदैन र जलन गहिरो हुन पाउँदैन। यो सकेसम्म छिटो वा पोलेको ३ घण्टा भित्र प्रभावकारी हुन्छ। बरफ लगाउनाले जलेको छालालाई अझ बढी हानी पुग्छ। पानी पनि धेरै चिसो हुनु जरुरी छैन। धाराको पानी पनि लगाउन सकिन्छ। कचौरामा पानी राखेर डुबाउँदा चिस्याउन प्रक्रिया त्यति छिटो नहुने हुँदा यो पनि ठीक तरिका हैन।
  • पोलेको घाउमा चिस्याउनु अघि मलम, दन्तमञ्जन, नुन, गोलभेंडा, घिउकुमारी आदि लगाउनाले जलन अझै गहिरो हुने हुँदा यसो नगर्नु होला।
  • पटाकामा हुने बारुदका कणहरु छालामा टाँसिएर लगातार जल्दा जलन गहिरो हुनेहुँदा छिट्टै अस्पतालमा जानु राम्रो हुन्छ।

सुरक्षित रुपले तिहार मनाउनुहोस्। यहाँहरुलाई तिहार र नेपाल सम्बत् ११४४ को हार्दिक मंगलमय शुभकामना छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *