बाँकेमा आँखा पाक्ने रोगको औषधि अभाव, बिरामी त्यसै घर फर्किन बाध्य

बाँके, ३१ साउन । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ ।

आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा राम साहले बताए । उनका अनुसार १० दिनमा दुई सय ७३ जनाको आँखाको उपचार गरिएको छ ।

अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि अभाव छ । बिरामी त्यसै घर फर्किन बाध्य छन्, डा साहले भने, पालिकाकै एक मात्र राप्ती सोनारी अस्पतालमा दैनिक सयौँ आँखाका बिरामी आउने गर्छन् । तर दुर्भाग्य आँखामा हाल्ने औषधि छैन ।

राप्ती सोनारी–३ आधारभूत स्वास्थ्य चौकीका इन्चार्ज हिरामणि गुरौ थारूले सबैलाई आँखामा हाल्ने औषधि दिन नसकेको बताए । विनौना स्वास्थ्य चौकीका इन्चार्ज सन्दीप चौधरीले यही साउन २१ गतेदेखि ३० गतेसम्म एक सय ५८ बिरामी उपचार गर्न आएको बताए ।

राप्ती सोनारीका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जिल्लामै औषधि अभाव भएकाले स्वास्थ्य चौकीमा समेत त्यसको असर परेको बताए । उनले भने, जिल्लामै औषधि अभाव भएको छ ।

रप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले बिरामीको सङ्ख्याअनुसार स्वास्थ्य चौकीमा औषधि पुर्‍याउन नसकिएको बताए । उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय र बजारमा औषधि अभाव भएका कारण पालिकाका स्वास्थ्य चौकीमा पनि त्यसको असर देखिएको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *