प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु हो : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, २२ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रुका रुपमा देखिन थालेको बताएका छन् ।

डिप्लोमा इञ्जिनीयर्स एशोशिएसन नेपाल (डिन) को ४३ औँ स्थापना दिवस तथा विश्व वातावरण दिवस, २०२३ को अवसरमा ‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री बस्नेतले प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विकल्प खोज्नु जरुरी भएको उल्लेख गरे। सरकारले यसका लागि विगतदेखि नै आवश्यक नीति, रणनीतिका साथै कार्ययोजना पनि बनाउँदै आएको उनको भनाइ छ ।

मन्त्री बस्नेतले भने, “प्लास्टिकजजन्य सामाग्रीबाट हुने असरबाट बच्न जनचेतना जगाउने र सरकारी तवरबाट नीतिगत व्यवस्था गर्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ । यसका लागि हामी एकीकृत शक्ति निर्माण गरेर लागौँ ।

सरकारको विभागीय मन्त्रीका हैसियतमा नियम कानुन बनाउन प्रयत्न गर्ने छु ।” कार्यशालाको उद्घाटन सत्रमा मन्त्री बस्नेतले कोरोना महामारीको समयमा खोप उपलब्ध गराएर सहयोग गर्ने सबै देशलाई धन्यवादसमेत दिए ।

संविधानले सुनिश्चित गरेको नागरिकको स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा पाउने नैसर्गिक अधिकारलाई पूरा गराउन सबै मिलेर लाग्नुपर्नेमा उनले जोड दिए ।

बागमती प्रदेशका सदस्य डा दिनेशचन्द्र देवकोटाले नेपालको सन्दर्भमा प्लास्टिक प्रदूषणलाई कसरी रोक्न सकिन्छ भनेर सोच्नु आवश्यक भएको बताए । “हाम्रो नीतिगत व्यवस्थाको कमजोरीलाई सच्याउनु जरुरी छ । उत्पादकलाई पनि प्रदूषण हुने उत्पादनलाई निरुत्साहित गर्ने कार्यमा सहयोग गर्नका लागि उत्प्रेरित गर्नुपर्छ”, उनले भने ।

कार्यशालामा विश्व स्वास्थ्य सङ्गठनका नेपालस्थित प्रतिनिधि, भारत, बङ्गालादेश, श्रीलङ्कालगायतका इञ्जिनीयर एशोसिएशनका प्रतिनिधिलगायतले प्लास्टिक प्रदूषणको समाधानका विषयमा धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *