के तपाईँ सुर्तीजन्य पदार्थको कुलत छाड्न चाहनुहुन्छ ? आजै वीर अस्पताल जानुहोस्

वीर अस्पतालमा सुरु भयो निकोटिन रिप्लेसमेन्ट थेरापी

काठमाडौँ, १८ जेठ । के तपाईँ सुर्तीजन्य पदार्थको कुलतमा हुनुहुन्छ ? यसको लतबाट बाहिर निस्कन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने आजै वीर अस्पताल जानुहोस् र त्यहाँबाट निशुल्क रुपमा प्रदान गरिएको ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’मा सहभागी हुनुहोस् ।

यो थेरापीमा सुर्तीजन्य पदार्थको कुलत छोड्न चाहनेलाई निशुल्क परामर्श तथा ‘निकोटिन गम ट्यावलेट’ समेत उपलव्ध हुन्छ ।

विश्व धूमपानरहित दिवसको अवसर पारेर वीर अस्पतालले हिजो (बुधबार)बाट निकोटिन रिप्लेसमेन्ट थेरापी सेवा सुरु गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत र वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले संयुक्त रुपमा यो थेरापीको शुभारम्भ गरे ।

यो थेरापी सुर्तीजन्य पदार्थको लतमा फसेकाहरु, जो यो लतबाट छुटकारा लिन चाहन्छन् उनीहरुप्रति लक्षित भएको बताइएको छ ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अस्पताल सुर्तीजन्य पदार्थको कुलतबाट निस्कन चाहनेहरुका लागि यो थेरापी सुरु गरिएको बताए ।

‘विश्व धूमपानरहित दिवसको अवसरमा हामीले यो सेवा सुरु गरेका छौँ । सुरुमा हामीले लतबाट निस्कन चाहनेहरुलाई सुर्तीजन्य पदार्थको सेवनले हुने असरका बारेमा परामर्श दिन्छौँ । त्यसपछि उहाँको लतको मूल्यांकन गरेर आवश्यकताका आधारमा निकोटिन गम (चुइङ ट्यावलेट) दिन्छौँ,’ उनले भने ।

निर्देशक डा पौडेलले परामर्शका लागि मुख तथा दन्त विभाग, क्यान्सररोग विभाग, छातीरोग विभाग लगायतका विभिन्न विभागबाट विशेषज्ञ चिकित्सकहरु सहभागी हुने गरेको बताए ।

निकोटिन रिप्लेसमेन्ट थेरापीका लागि विश्व स्वास्थ्य संगठनले चैतको दोस्रो साता तिर स्वास्थ्य सेवा विभागलाई ४५ हजार निकोटिन गम ट्यावलेट हस्तान्तरण गरेको थियो । सो ट्यावलेट विभागले वीर अस्पताललाई उपलव्ध गराएको हो ।

‘हाम्रो मुख्य उदेश्य भनेको सुर्तीजन्य पदार्थको कुलतमा रहेकाहरुलाई छुटकारा दिलाउनु हो । सुर्तीजन्य पदार्थको कुलतमा लागेकाहरुलाई त्यसबाट बाहिर निकाल्न अपानाईने विधिमध्ये संसारका विभिन्न देशले अपनाएको एउटा प्रभावकारी विधि निकोटिन रिप्लेसमेन्ट थेरापी हो । जो हामीले पहिलो पटक सरकारी अस्पतालमा सुरु गरेका छौँ,’ निर्देशक डा पौडेलले भने ।

उनका अनुसार यो सेवा अस्पतालमा उपचारका लागि पुगेका बिरामीका साथै अन्य सर्वसाधारणले निशुल्क रुपमा लिन सक्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *