यस्ता छन् सुर्तीजन्य पदार्थ छोड्नै पर्ने १०३ कारण

काठमाडौँ, १९ वैशाख । सुर्तीजन्य पदार्थको सेवनले विश्वभर हरेक वर्ष ८० लाख मानिसको ज्यान लिन्छ । यो वर्ष धूमपान नगर्नेको तुलनामा धूमपान गर्नेहरूमा कोभिड—१९ रोग झनै गम्भीर हुने प्रमाणहरू बाहिर आएसँगै लाखौं मानिसमा सुर्तीजन्य पदार्थ छोड्ने चाहानालाई बढायो ।

सुर्तीजन्य छोड्ने कुरा चुनौतीपूर्ण हुनसक्छ, विशेषगरी यो महामारीले उत्पन्न गराएको थप सामाजिक र आर्थिक तनावमा त झनै चुनौतीपूर्ण हुन्छ । तर सुर्तीजन्य छोड्ने धेरै कारण छन् ।

सुर्तीजन्य छोड्दाको फाइदाहरू चाँडै देखिन्छन् । धूमपान छोडेको केवल २० मिनेटपछि तपाईंको मुटुको धड्कनको दर घट्छ । १२ घण्टाभित्र तपाईंको रगतमा भएको कार्बन मोनोक्साइड स्तर घटेर सामान्य हुन्छ । २ देखि १२ हप्ताभित्र तपाईंको रक्तसञ्चारमा सुधार आउँछ र फोक्सोले गर्ने कार्य थप प्रभावकारी बन्छ ।

१ देखि ९ महिनाभित्र खोकी लाग्ने र स्वाँस्वाँ हुने अवस्था घट्छ । ३ देखि १५ वर्षभित्र तपाईंको स्ट्रोकको जोखिम घटेर धूमपान नगर्नेहरूकै स्तरमा आइपुग्छ । १० वर्षभित्र फोक्सोको क्यान्सरबाट मृत्यु हुने दर धूमपान गर्नेको तुलनामा घटेर आधा आउँछ ।

१५ वर्षभित्र तपाईंको मुटु रोगको जोखिम घटेर धूमपान नगर्नेहरूको स्तरमा आइपुग्छ । यति मात्र होइन, सुर्तीजन्य छोड्न यहाँ अन्य केही कारणहरू छन् ।

१. धूमपान गर्नेहरूमा कोभिड-१९ रोग झनै गम्भीर हुने र मृत्यु हुने अधिक जोखिम हुन्छ ।

सुर्तीजन्य पदार्थले तपाईंको व्यक्तित्वमा तत्काल प्रभाव पार्छ ।

२. हरेक कुरा गन्हाउँछ – तपाईंको छाला, पूरै घर, लुगा र औँलाहरू अनि सास सबैकुरा गन्हाउँछन् ।

३. सुर्तीजन्य पदार्थले तपाईंको दाँत पहेँलो हुन्छ र दाँतको वरिपरि धेरै फोहर ९दन्तेलेउ० बढाउँछ ।

४. धूमपान र धूँवारहित सुर्तीको सेवनले सास गन्हाउने हुन्छ ।

५. सुर्तीजन्य पदार्थले तपाईंको छालामा चाउरीपन आउँछ, उमेरभन्दा चाँडै बुढो देखाउँछ । सानै उमेरबाट धूमपान गर्दा छालाको प्रोटिनमा ह्रास हुने र यसले गर्दा छालाको लचकता हराउँदै जाने, यसमा हुने भिटामिन ए कमी हुने र रगतको प्रवाहमा अवरोध आउने हुन्छ ।

६.  चाउरीपन ओठ र आँखा वरिपरि धेरै देखिन्छ, अनि सुर्तीजन्य पदार्थले छालालाई खस्रो र सुख्खा पनि बनाउँछ ।

७. धूमपानले सङ्क्रामक नहुने तर छाला चिलाउने र शरीरभरि रातो धब्बाहरू उत्पन्न गराउने रोग सोरायसिसको जोखिम बढाउँछ ।

सुर्तीले तपाईंको मात्र नभएर तपाईंका साथी र परिवारको स्वास्थ्यलाई पनि जोखिममा पार्छ ।

८. अरुले गरेको धूमपानको असरले हरेक वर्ष १० लाखन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

९. धूमपान नगर्ने तर अरुले गरेको धूमपानको सम्पर्कमा आउने व्यक्तिहरूमा फोक्सोको क्यान्सर हुने जोखिम बढ्छ ।

१०. आगलागीका घटना र त्यसबाट मृत्यु हुने एउटा प्रमुख कारण चुरोट पनि हो ।

११.  ई–सिगरेटहरूले पनि छेउछाउमा रहेका धूमपान नगर्ने अन्य व्यक्तिमा निकोटिन र हानिकारक रसायनको सञ्चार गर्दछ ।

१२.  अरुले गरेको धूमपानको सम्पर्कमा आउँदा यसले क्षयरोगको सुसुप्त सङ्क्रमणलाई सक्रिय रोगको रूपमा विकास हुने जोखिम बढाउँछ ।

१३. अरुले गरेको धूमपानको सम्पर्कमा आउँदा यसले टाइप २ मधुमेह विकास गराउँछ ।

बालबालिकाको वरिपरि धूमपान गर्दा वा ई–सिगरेट पिउँदा यसले उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि जोखिम निम्त्याउँछ

१४. धूमपान गर्नेका छोराछोरीको फोक्सोको कार्य क्षमता कमजोर हुन्छ र वयस्क अवस्थामा पुगेपछि उनीहरूलाई श्वासप्रश्वाससम्बन्धी दीर्घ समस्याले सताउँछ ।

१५. बालबालिका ई–सिगरेटको तरल पदार्थको सम्पर्कमा आउँदा यसले उनीहरूमा गम्भीर जोखिम बढाउन सक्छ । ई–सिगरेट पिउने प्रयोग गरिने उपकरणबाट चुहावट हुने वा बालबालिकाले उक्त तरल पदार्थ निल्ने जोखिम रहन्छ ।

१६. ई–सिगरेटहरूले गम्भीर चोटपटक गराउन सक्छ । यसले आगो चाँडो समात्ने वा विष्फोट हुने हुँदा तपाईंलाई पोल्ने वा डढ्ने जोखिम हुन्छ ।

१७.  अरुले गरेको धूमपानको सम्पर्कमा आउने विद्यालय जाने उमेरका बालबालिका दम रोग लाग्ने, सास लिने मार्गदेखि फोक्सोसम्म सूजन हुने जोखिममा हुन्छन् ।

१८. घरमा अरुले गरेको धूमपानको सम्पर्कमा आउने २ वर्षभन्दा कम उमेरका बालबालिकामा मध्य–कानको रोग लाग्ने र यसले श्रवणशक्ति घटाउने तथा बहिरोपन गराउने जोखिम रहन्छ ।

१९.  आमाबुबाले धूमपान छोड्दा धूमपानको धुवाँबाट बालबालिकामा हुने श्वासप्रश्वास रोगहरू (जस्तै दम) र कानको सङ्क्रमण जस्ता धेरै रोगको जोखिम घटाउँछ ।

सुर्ती सेवनले नकारात्मक सामाजिक परिणामहरू निम्त्याउँछ

२०. आफ्नो छोराछोरी, साथी र आफन्त-प्रियजनहरूको लागि तपाईं उदाहरण बन्न चाहानुहुन्छ ।

२१. सुर्तीजन्य पदार्थले सेवनले सामाजिक अन्तरक्रिया र सम्बन्धहरूमा नकारात्मक असर पार्छ ।

२२. सुर्तीजन्य पदार्थले छोड्नु भनेको जुनसुकै ठाउँ पनि तपाईंका लागि खुला हुनु हो – तपाईंले एक्लिएको महसुस गर्नुपर्दैन वा धूमपानको बाहिर दौडनु पर्दैन, र सामाजिक रूपमा सहजै घुलमिल हुन सक्नुहुन्छ ।

२३. सुर्तीजन्य पदार्थ छोड्दा यसले तपाईंलाई थप उत्पादक बनाउँछ – पहिले जस्तो जतिबेला धूमपान गर्नकै लागि भनेर गरिरहेको काम रोक्नुपर्दैन ।

यो महङ्गो छ – तपाईंले आफ्नो पैसा अरु महत्वपूर्ण कुराहरूमा खर्चन सक्नुहुन्थ्यो

२४. धूमपान गर्नेहरूले विश्वभर दैनिक औसतमा १४ लाख अमेरिकी डलर व्यक्तिगत खर्चमा (चुरोट किन्न, औषधिउपचार गर्न) उडाउँछन् । धूमपानले तथा अरुले छोडेको धुवाँको असरले रोग उत्पन्न हुँदा आम्दानीमा पनि प्रभाव पार्छ भन्ने कुरा एक अध्ययनले देखाएको छ ।

२५. सुर्तीजन्य पदार्थ सेवनले कामदारको स्वास्थ्य र उत्पादकत्वमा असर गर्छ । यसबाट उत्पन्न असरले उनीहरू काममा जान नसक्ने हुन्छन् ।

२६. सुर्तीजन्य पदार्थ सेवनले घरको खाना र आवास जस्ता आधारभूत आवश्यकतामा खर्च गर्नुपर्ने पैसालाई सुर्तीमा खर्च भएर गरिबी बढाउँछ ।

२७. सुर्तीजन्य पदार्थ सेवनले विश्व अर्थतन्त्रमा भार बढाउँछ । विश्वभर वर्षको करिब १४ खर्ब अमेरिकी डलर सुर्तीले उत्पन्न गरेका रोगहरूको औषधि उपचारमा खर्च हुन्छ भने यसबाट उत्पन्न रोग र मृत्युले मानव पूँजीमा क्षय गराउँछ ।

धूमपानले प्रजनन क्षमता घटाउँछ

२८. धूमपान गर्नेहरूमा बाँझोपन हुने सम्भावना धेरै हुन्छ । धूमपान छोड्दा गर्भवती हुनका लागि देखिने कठिनाइ, परिपक्व नभइकन बच्चा जन्मने, कम तौलको बच्चा जन्मने र गर्भपात हुने जस्ता समस्या घटाउँछ ।

२९. धूमपानले लिङ्ग उत्तेजित नहुने समस्या निम्त्याउँन सक्छ । धूमपानले लिङ्गमा हुने रक्तसञ्चारमा अवरोध पु¥याउँछ र लिङ्ग उत्तेजित हुन नसक्ने गराउँछ । धूमपान गर्नेमा लिङ्ग उत्तेजित नहुने अवस्था धेरै सामान्य हो र मानिसले जीवनको पूर्वाधमा नै धूमपान बन्द नगरे यो स्थायी समस्या बन्न सक्छ ।

३०. धूमपानले शुक्रकीटको संख्या, गतिशीलता क्षमता र आकारमा ह्रास गराउँछ ।

सबै प्रकारका सुर्तीजन्य पदार्थहरू घातक छन्

३१. विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु सुर्तीको कारण हुन्छ ।

३२. सुर्ती सेवन गर्नेहरूमध्ये आधाको ज्यान सुर्तीजन्य पदार्थले नै लिन्छ । सुर्तीको प्रकार जुनसुकै भएता पनि, यसको सेवनले तपाईंको स्वास्थ्य कमजोर गराउँछ र रोगहरू बढाउँछ ।

३३. हुक्का पिउनु पनि अन्य सुर्तीजन्य पदार्थहरूको सेवन जस्तै हानिकारक हुन्छ ।

३४.  सुर्ती (खैनी) चपाउनाले मुखको क्यान्सर, दाँत खिइने, दाँत पहेँलो हुने, गिजामा सेतो दाग र रोग निम्त्याउँछ ।

३५.  धुवारहित सुर्तीमा हुने निकोटिन चुरोट पिउँदाको भन्दा धेरै सजिलै अवशोषित हुन्छ र यसको लत बढ्ने सम्भावना धरै हुन्छ ।

सुर्तीको खरिद गर्दा तपाईंले किसान तथा बालबालिकाको शोषण र रोग तथा मृत्युलाई बढाउने उद्योगलाई आर्थिक सहयोग गर्दै हुनुहुन्छ ।

३६. सुर्ती खेती गर्नेहरू निकोटिन छालाबाट छिर्ने र अत्यधिक कीटनाशक तथा सुर्तीका धुलोसँग सम्पर्कमा आउँदा उत्पन्न हुने कमजोर स्वास्थ्यको जोखिममा हुन्छन् ।

३७. केही मुलकहरूमा बालबालिकालाई सुर्ती खेतीमा काम लगाइएको हुन्छ । यसले उनीहरूको स्वास्थ्यमा मात्रै असर नगरेर विद्यालय जान सक्ने क्षमतालाई पनि असर गर्छ ।

३८. सुर्ती सेवनले गरिबीलाई झनै बढाउँछ । सुर्ती सेवन गर्नेहरू बिरामी हुने र सुर्तीका कारण हुने क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी रोग र अन्य रोगहरूबाट अल्पायुमा नै ज्यान गुमानउने उच्च जोखिममा हुन्छन् । यसले परिवारको अति आवश्यक पर्ने आम्दानीबाट परिवारलाई वञ्चित गराउँछ र स्वास्थ्य उपचारको लागि अतिरिक्त खर्च बढाउँछ ।

३९.  समग्र सुर्ती क्षेत्रमा रोजगार भएकाहरूमध्ये अधिकतरले धेरै कम कमाउँछन् भने ठूला सुर्ती कम्पनीहरूले अत्यधिक नाफा कमाउँछन् ।

तताइने सुर्तीजन्य पदार्थहरू स्वास्थ्यको लागि हानिकार हुन्छन्

४०. तताइने सुर्तीजन्य पदार्थहरूबाट उत्पन्न हुने विषाक्त तत्वहरूसँग यसका प्रयोगकर्ताको सम्पर्क रहन्छ जसमध्ये धेरैले क्यान्सर गराउँछन् ।

४१.  तताइने सुर्तीजन्य पदार्थहरू पनि सुर्ती भएकै पदार्थ हुन् । तसर्थ परम्परागत सुर्तीजन्य पदार्थ छोडेर तताइने सुर्तीजन्य पदार्थ सेवन गर्नु भनेको सुर्ती पूरै छोडेको होइन ।

४२. परम्परागत चुरोटको तुलनामा तताइने सुर्तीजन्य उत्पादन कम हानिकारक हुन्छ भन्ने दाबीलाई समर्थन गर्ने पर्याप्त प्रमाण उपलब्ध छैनन् ।

ई–सिगरेटहरू स्वास्थ्यको लागि हानिकारक छन् र सुरक्षित छैनन्

रहस्य प्रष्ट छ – सुर्ती उद्योगहरूले कमजोर वर्गलाई लक्षित गर्दछ

४३.  ई–सिगरेट पिउने बालबालिका र किशोरकिशोरीहरूले पछि गएर चुरोट पिउने सम्भावना कम्तीमा दुई गुणा हुन्छ ।

४४. ई–सिगरेटको सेवनले तपाईंमा मुटु रोग र फोक्सोको समस्याको जोखिम बढाउँछ ।
४५. ई–सिगरेटमा हुने निकोटिन अत्यधिक लत बसाउने लागूऔषध हो जसले बालबालिकाको विकास हुँदै गरेको मष्तिष्कमा क्षति गर्छ ।

सुर्ती सेवन र त्यसमा पनि विशेषगरी धूमपानले तपाईंको प्राणवायु लैजान्छ

४६. क्यान्सरबाट विश्वभर हुने मृत्युको २५ प्रतिशत मृत्युको कारण सुर्ती हो ।

४७. धूमपान नगर्नेभन्दा धूमपान गर्नेलाई जीवनकालमा फोक्सो क्यान्सर हुने सम्भावना २२ गुणा बढी हुन्छ । विश्वभर फोक्सोको क्यान्सरबाट हुने कुल मृत्युमा दुई तिहाइ मृत्यु धूमपानले गराउँछ ।

४८. धूमपान गर्ने पाँचमध्ये एक जनामा श्वास फेर्न कठिन हुने, फोक्सोको दीर्घ रोगको लाग्ने हुन्छ । विशेषगरी बाल्यकाल र किशोरावस्थामा धूमपान सुरु गर्नेमा यो जोखिम बढी हुन्छ, किनकि धूमपानले फोक्सोको वृद्धि र विकासलाई धेरै सुस्त बनाउँछ ।

४९. धूमपानले वयस्क मानिसमा दम बढाउँछ, उनीहरूको क्रियाकलापलाई सीमित पार्छ, अपाङ्गता बढाउँछ र आपतकालीन उपचार चाहिने गम्भीर दम रोगको जोखिम बढाउँछ ।

५०. धूमपानले क्षयरोग सुसुप्त अवस्थाबाट सक्रिय अवस्थामा परिणत हुने जोखिम दुई गुणाभन्दा धेरैले बढाउँछ, र यसले रोगको प्राकृतिक वृद्धि गतिलाई प्रभावित पार्दै झनै तीव्र बनाउँछ । विश्वका करिब एक—चौथाइ जनसङ्ख्यामा सुसुप्त क्षयरोग रहेको छ ।

सुर्तीजन्य पदार्थले मुटु फुटाउँछ

५१. दिनको केही खिल्ली चुरोट, कहिलेकाहीँको धूमपान वा अरुले गरेको धूमपानसँगको सम्पर्कले मुटु रोगको जोखिम बढाउँछ ।

५२. धूमपान गर्नेमा स्ट्रोक हुने जोखिम दुई गुणा धेरै र मुटु रोग हुने जोखिम चार गुणा धेरै हुन्छ ।

५३.  धूमपानले मुटुको धमनीहरूलाई क्षति गर्छ, रगतमा बोसो बढ्ने र ढिक्का बढ्ने हुन्छ, र यसले रक्त सञ्चारमा कमी ल्याउँछ र अन्ततः हृदयघात र स्ट्रोकहरू गराउँछ ।

५४. निकोटिन र सुर्तीजन्य पदार्थहरूको सेवनले मुटु तथा रक्तनली रोगको जोखिम बढाउँछ ।

सुर्तीले २० प्रकारका क्यान्सर गराउँछ

५५. धूमपान र धुवाँरहित सुर्तीको सेवनले मुखको क्यान्सर, ओठको क्यान्सर, घाँटीको क्यान्सर र अन्ननलीको क्यान्सर गराउँछ ।

५६. घाँटीमा क्यान्सर भएको भागको शल्यक्रियाबाट हटाउँदा बनाउन घाँटीबाट श्वासनलीमा सानो प्वाल ट्राकियोस्टोमी गर्नुपर्ने हुनसक्छ ।

५७.  धूमपान गर्नेहरूमा गम्भीर म्येलोइड लुकिमिया , नाक तथा नाकको भित्री भाग  को क्यान्सर, कोलोरेक्टल , मिर्गौला, अग्न्याशय, पेट र पाठेघरको क्यान्सर, र तल्लो मुत्रनलीको (मुत्राथैली, मुत्रवाहिनी नली र रेनल पेल्भिस) क्यान्सर विकास हुने उच्च जोखिम हुन्छ ।

५८. केही अध्ययनले धूमपान र स्तन क्यान्सरको बढ्दो जोखिमबीच पनि सम्बन्ध हुने देखाएका छन् । विशेषगरी, अत्यधिक धूमपान गर्ने र पहिलो गर्भधानअघि नै धूमपान गर्ने महिलाहरूमा यस्तो जोखिम हुन्छ ।

५९. धूमपानले हुमन पापिलोमाभाइरसबाट सङ्क्रमित महिलामा पाठेघरको मुखको क्यान्सर हुने जोखिम पनि बढाउँछ ।

धूमपान गर्नेमा दृष्टि क्षमता र श्रवण शक्ति हराउने जोखिम धेरै हुन्छ

६०.  धूमपानले आखाँको रोगहरू निम्त्याउँछ, र ती रोगको उपचार नगरिएमा दृष्टि क्षमता पूर्ण रूपमा गुम्न पनि सक्छ ।

६१. धूमपान नगर्नेभन्दा धूमपान गर्नेमा उमेरसँगै आखाको नानीको म्याकुला पातलो हुँदै जाने गति तीव्र हुन्छ र पछि गएर दृष्टि पूर्ण रूपमा गुम्ने हुन सक्छ ।

६२. धूपमान गर्नेमा मोतीबिन्दुको जोखिम उच्च हुन्छ । यो भनेको आँखाको लेन्सको धमिलोपन बढेर उज्यालो छेक्ने समस्या हो । मोतीबिन्दुले दृष्टि क्षमतामा हानि गर्छ र दृष्टि फर्काउने एकमात्र विकल्प भनेको शल्यक्रिया हो ।

६३. केही प्रमाणहरूले धूमपानबाट ग्लाउको नामक आँखाको रोग लाग्ने देखाएका छन् । यो भनेको आँखामा दबाब बढाउने एउटा अवस्था हो र आँखाको ज्योतिमा क्षति गर्न सक्छ ।

६४. धूमपान गर्ने वयस्कहरूले श्रवणशक्ति गुमाउन सक्ने सम्भावना बढी हुन्छ ।

सुर्तीजन्य पदार्थले शरीरका लगभग सबै अङ्गमा हानि गर्छ

६५. जीवनभर धूमपान गर्नेहरूको जीवन आयु औसतमा १० वर्ष छोटो हुन्छ ।

६६. चुरोटको प्रत्येक सर्कोसँगै टक्सिन र कार्सिनोजेनहरू शरीरमा प्रवेश गर्दछ । हालसम्मका अध्ययनले कम्तीमा ७० वटा केमिकलले क्यान्सर गराउँछन् भन्ने देखाउँछ ।

६७. धूमपान गर्नेहरूमा मधुमेह हुने जोखिम उच्च रहेको छ ।

६८. धूमपान डिमेन्सियाको जोखिम कारक तत्व हो । डिमेन्सिया भनेको दिमागी÷मानसिक अवस्था खस्काउँदै लैजाने समस्याहरूको समूह हो ।

६९. डिमेन्सिया समूहको अल्जाइमर्स रोग सबभन्दा धेरै देखिने रोग हो । विश्वभर १४ प्रतिशत अल्जाइमर्सको केसहरू धूमपानका कारणले भएको अध्ययनले बताउँछ ।

७०. धूमपान गर्ने महिलामा महिनावारीको समयमा बढी पीडा हुन सक्छ र महिनावारी रोकिने लक्षणहरू पनि धेरै गम्भीर देखिन्छन् ।

७१. धूमपान गर्ने महिलाहरूमा १ देखि ४ वर्ष छिटो महिनावारी बन्द हुन्छ किनकि धूमपानले डिम्बाशयमा डिम्बको उत्पादन घटाउँछ, प्रजनन कार्य हराउँछ र इस्ट्रोजेनको स्तर पनि न्यून हुन्छ ।

७२. सुर्तीको धुवाँले बच्चाको तन्तुहरूमा अक्सिजनको प्रवाहलाई घटाउँछ ।

७३. सुर्तीको सेवनले रक्त सञ्चारलाई सीमिम बनाउँछ, र यसलाई उपचार नगरिए शरीरको तन्तुहरूको मृत्यु ९ग्याग्रीन० हुनसक्छ र प्रभावित भागहरू काटेर फाल्नुपर्ने पनि हुनसक्छ ।

७४. सुर्तीजन्य पदार्थ सेवनले दाँत तथा गिजामा लाग्ने रोगको जोखिम बढाउँछ । यो भनेको दीर्घ सुजन हुने रोग हो, जसले गिजालाई खियाउँछ, र बङ्गाराको हाडलाई नष्ट गर्छ र दाँत झर्ने गराउँछ ।

७५. धूमपान नगर्नेहरू भन्दा धूमपान गर्नेहरू शल्यक्रियापछिका जटिलताहरूको बढी जोखिममा हुन्छन् ।

७६. धूमपान गर्नेहरूलाई मेकानिकल भेन्टिलेसनबाट हटाउन कठिन हुन्छ । यसो हुँदा उनीहरूको सघन उपचार कक्ष (आईसीयु) र समग्र अस्पतालको बसाइ लामो हुन जान्छ र अन्य सङ्क्रमणप्रतिको जोखिम पनि बढाउँछ ।

७७. धूमपान गर्नेहरूले पेट तथा आन्द्राको समस्याको अनुभव धेरै गर्ने हुन्छन्, जस्तै पेटको अल्सर, आन्द्रा सुन्निने, पेट बाउँडिने, निरन्तर झाडापखाला चल्ने, ज्वरो आउने र मलद्वारबाट रगत बग्ने, पेट तथा अन्द्राको क्यान्सर हुने ।

७८. धूमपान गर्नेमा हाडको घनत्व घट्दै जाने, सजिलै भाँच्चिने चर्किने र गम्भीर जटिलताहरू अनुभव गर्ने ९ढिलो निको हुने वा निको नहुने० सम्भावना बढी हुन्छ ।

७९. सुर्तीमा हुने तत्वहरूले रोगप्रतिरोधी क्षमता कमजोर बनाउँछन्, र धूमपान गर्नेहरूमा फोक्सो सङ्क्रमणहरूको जोखिम बढाउँछ ।

८०. स्वरोगप्रतिरक्षा (अटोइम्युन) प्रणालीमा खराबी देखिने वंशाणुगत समस्याको जोखिम भएकाहरूले धूपमान गरेमा उनीहरूमा धेरै रोगहरूको जोखिम रहन्छ, जस्तै जोर्नीहरूमा हुने बाथ, क्रोहन्स रोग, ब्याक्टेरियल मेनिन्जाइटिस, शल्यक्रिया पछिको सङ्क्रमण र क्यान्सर ।

८१. धूमपानले रोग प्रतिरक्षा कमजोर (इम्युन कम्प्रोमाइज्ड) भएका व्यक्तिहरूलाई (जस्तै सिस्टिक फिब्रोसिस, मल्टिपल स्कलेरोसिस वा क्यानसर भएकाहरू) रोगसँग सम्बन्धित सह–रूग्णताहरू र अल्पायु मृत्युको उच्च जोखिममा राख्छ ।

८२. सुर्तीको रोगप्रतिरक्षा दबाउने प्रभावहरूले एचआईभी भएका मानिसमा एड्स हुने जोखिम धेरै हुन्छ । एचआईभी पोजेटिभ धूमपान गर्ने व्यक्तिहरूले औसतमा १२।३ वर्ष जति आयु गुमाउँछन्, यो भनेको धूमपान नगर्ने एचाईभी पोजेटिभको भन्दा दुई गुणा बढी हो ।

सुर्ती र निकोटिन सेवनले तपाईंको बच्चालाई हानि गर्छ

८३. गर्भावस्थामा सुर्ती सेवन र सुर्तीको धुवाँसँगको नियमित सम्पर्कले भ्रुण को मृत्यु हुने जोखिम बढाउँछ ।

८४. गर्भावस्थामा धूमपान गर्ने वा अरुले गरेको धूमपानको सम्पर्कमा आउने महिलाहरूमा गर्भपात हुने जोखिम धेरै हुन्छ ।

८५. सुर्तीको धुवाँमा हुने कार्बनमोनोअक्साइड र धुवाँ आउने तथा धुवाँरहित सुर्तीमा हुने निकोटिनको कारण भ्रुणमा अक्सिजन नपुग्दा र सालनाल बिग्रदा मृतजन्म (गर्भमै मृत्यु भएको भ्रुणको जन्म) हुनु पनि सामान्य भएको छ ।

८६. धूमपान गर्नेहरूमा गर्भ असामान्य स्थानमा गएर बस्ने उच्च जोखिम हुन्छ । यो भनेको भ्रुण पसि सकेको निषेचित डिम्ब पाठेघरभन्दा बाहिर गएर बस्नु हो र यसले आमाको लागि घातक जटिलता निम्त्याउँछ ।

८७. प्रजनन उमेरका महिलाले गर्भवती हुने योजना बनाउँदा वा गर्भवती हुँदा धूमपान छोड्ने र आफूलाई अरुले गरेको धूमपानको सम्पर्कमा हुनबाट बचाउनु जरुरी हुन्छ ।

८८. ई–सिगरेट सेवनले गर्भवती महिलालाई धेरै जोखिम हुन्छ, किनकि यसले बढ्दै गरेको भ्रुणलाई क्षति गर्न सक्छ ।

८९. धूमपान गर्ने, धुवाँरहित सुर्ती सेवन गर्ने वा गर्भावस्थामा अरुले खाएको चुरोटको धुवाँको सम्पर्कमा आउने महिलाबाट जन्मने बच्चा अपरिपक्व जन्मने र कम तौलको जन्मने उच्च जोखिममा हुन्छन् ।

सुर्तीले वातावरणलाई प्रदूषित गर्दछ

९०. सरकार र स्थानीय निकायले सुर्तीको फोहर सफा गर्न पैसा तिर्छन्, सुर्ती कम्पनीहरूले तिर्दैनन् । वातावरण जोगाउन सुर्ती छोड्नुहोस् ।

९१. चुरोटका ठूटा विश्वभर सबभन्दा धेरै फ्यालिने फोहरमध्ये पर्दछ र यी विश्वभरि समुद्रका किनार एवम् पानीका धारहरूबाट धेरै बारम्बार उठाइने फोहर वस्तु हुन् ।

९२. चुरोटका ठूटाहरूमा अति जोखिमपूर्ण पदार्थहरू पाइन्छन् – यसमा आर्सेनिक, शीशा, निकोटिन र फर्मालिन हुन्छन् । यी पदार्थहरू फ्यालिएका ठूटाबाट जलीय वातावरण र माटोमा पुग्दछ ।

९३. सुर्तीको धुवाँले सहरको वायु प्रदूषण स्तर वृद्धिमा योगदान गर्दछ ।

९४. अधिकतर चुरोटहरू सलाइ वा ग्यास भरिएको लाइटरको प्रयोग गरी जलाइन्छन् । उदाहरणको लागि, यदि दुईवटा सिगरेट जलाउन एउटा काठको सलाइको प्रयोग गरिन्छ भने विश्वभर हरेक वर्ष ६० खर्ब चुरोट पिइन्छ र ३० खर्ब सलाइ उत्पादन गर्न ९० लाख रुख काट्नुपर्छ ।

९५.  ई–सिगरेट र तताइने सुर्तीजन्य सामग्रीमा ब्याट्रीहरूको प्रयोग हुने गर्छन्, तर उक्त ब्याट्रीका साथै त्यसका केमिकल, प्याकेजिङ र नसड्ने अन्य सामग्रीहरूको छुट्टै विसर्जन गर्नुपर्ने हुन्छ ।

९६. हाल धेरैजसो प्लास्कि ई–सिगरेट लिक्वीड कार्टिजहरू पुनः प्रयोग गर्न वा पुनःचक्रण गर्न नमिल्ने प्रकृतिका हुन्छन् – बहुराष्ट्रिय कम्पनीहरूले एकपटक प्रयोग गरेर फ्याँक्न मिल्ने कार्टिजहरू बेच्ने गरेका छन्, शायद दोहोरिने ग्राहक मार्फत् बिक्रीलाई बढाउन ।

९७ . सुर्तीजन्य उत्पादनबाट हुने उत्सर्जनहरू ३० लाख अन्ध महासागर वारिपारि गर्ने उडानहरू बारबार हुने अनुमान गरिन्छ ।

९८.  सुर्तीको धुवाँमा तीनप्रकारका हरितगृह ग्यास हुन्छन् – कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड । यसले घरिभत्रका बन्द र घरबाहिरका खुला वातावरणलाई प्रदूषित पार्दछ ।

९९. विश्वभर, सुर्तीको खेती र प्रशोधन गर्न हरेक वर्ष २ लाख हेक्टर वन फडानी गरिन्छ ।

१००. सुर्ती खेतीको लागि वन फडानी गर्दा यसबाट धेरै गम्भीर वातावरणीय परिणामहरू निम्त्याउछन् । यसमा जैविक विविधताको ह्रास, भूक्षय, माटोको गुणस्तरमा कमी, जलप्रदूषण र वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि लगायत नकारात्मक परिणाम पर्दछन् ।

१०१. सुर्ती खेतीमा केमिकलको धेरै प्रयोग हुन्छ । यसमा कीटनाशक, रसायनिक र सुर्तीको बुटालाई बढाउने पदार्थहरूलगायत पर्दछन् । सुर्ती खेती गरिने क्षेत्रबाट बहने रसायनयुक्त पानीले खानेपानीको स्रोतलाई असर गर्छन् ।

१०२. उत्पादित हरेक ३०० सिगरेटको लागि (अन्दाजी १.५ कार्टुन) सुर्तीको पातलाई मात्र प्रशोधन गर्न एउटा रुख आवश्यक पर्दछ ।

१०३. वार्षिक रूपमा उत्पादन गरिएका ६० खर्ब सिगरेटको लागि करिब ३०० अर्ब प्याकेजहरू (एउटा प्याकमा २० सिगरेट हुने अनुमान गर्दा) सुर्ती उत्पादनहरूको लागि मात्र बनाइन्छन् ।

प्रत्येक खाली प्याक ६ ग्रामको हुने अनुमान गर्दा, यसको परिमाण १८ लाख टन प्याकेजिङ फोहर बराबर हुन्छ, यसमा कागज, मसी, सिलोफन, फोइल र ग्लु आदिको मिश्रण हुन्छ ।

वितरण र प्याकेजिङ्गको लागि प्रयोग हुने कार्टुन र बक्सहरू प्रयोगपछि फोहरको रूपमा फ्ल्याल्दा यो कम्तीमा वर्षको २० लाख टन हुन्छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *