मेडिकल र प्यारामेडिकल तर्फ आयोगले तोकेका कतिपय विषयका सिट खाली, भर्ना हुन गएनन् विद्यार्थी


काठमाडौँ, ४ चैत । मेडिकल तथा प्यारामेडिकल तर्फका कतिपय विषयमा सिट घटाएको भन्दै चिकित्सा शिक्षा आयोगको आलोचना हुने गरेको छ । तर, कतिपय विषयमा भने आयोगले तोकेको सिटमा विद्यार्थी भर्ना हुन मानेका छैनन् ।

महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदनमा चिकित्सा शिक्षा तर्फ स्नातक तह र स्नातकोत्तर तहका मेडिकल र प्यारा मेडिकल विषयमा छुट्याइएको सिट नभरिएको बताइएको छ ।

प्रतिवेदनका अनुसार यो वर्ष स्नातक तह तपर्ः मेडिकल र प्यारा मेडिकल समेत १६ कार्यक्रमको लागि ८ हजार ५६० सिट तोकिएको थियो । त्यसका लागि ३५ हजार १३८ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । सो परीक्षामा १६ हजार ३७ जना उत्तीर्ण भएका थिए । तर भर्ना भने ६ हजार २१ जनाले मात्रै गरेका छन् ।

यस्तै स्नातकोत्तर तह तर्फ ३८ कार्यक्रममा १ हजार ७२४ जना सिटको लागि ८ हजार १५२ जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुँदा ४ हजार १५४ जना उत्तीर्ण भएका थिए । तर भर्नामा भने १ हजार ५७२ जना मात्रै भएका छन् ।

महालेखाले प्रवेश परीक्षा दिने, उत्तीर्णं हुनेको संख्या उल्लेख्य भए पनि आयोगले निर्धारण गरेको सिटमध्ये स्नातक तहमा २ हजार ५३९ र स्नातकोत्तर तहमा १५२ जना विद्यार्थी भर्ना नभएको बताएको छ ।

प्रतिवेदनमा बिएस्सी एमआईटीमा ७१ सिटमध्ये १९, बिएस्सी एमएलटीमा ४४५ मध्ये ६८ जना भर्ना भएको उल्लेख छ । यस्तै विएस्सी माइक्रोबायोलोजी र बिएस्सी भेड बायो, केमेस्ट्रीमा कुनै विद्यार्थी भर्ना भएको पाइएको छैन् ।

प्रतिवेदनमा निर्धारित सिटमा विद्यार्थी भर्ना नहुनुको कारण पहिचान गरी सुधार गर्न सुझाव समेत दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *