ट्रान्स फ्याट के हो ? यसले हाम्रो शरीरलाई कसरी हानी गर्छ ?

 

ट्रान्स फ्याट खानामा पाइने एक  प्रकारको चिल्लो पदार्थ हो । स्वास्थ्यका दृष्टिकोणले ट्रान्स फ्याट चिल्लो पदार्थहरु मध्येको सबैभन्दा हानिकारक चिल्लो हो ।

खानामा यो चिल्लोको मात्रा धेरै भएमा मुटुका रोगहरु लगायत अन्य स्वास्थ्य समस्याहरु देखा पर्दछन् ।

ट्रान्स फ्याट अंग्रेजी शब्द हो ।  यसको नेपाली शब्द छैन । यसलाई नेपालीमा अति खराब चिल्लो भन्दा उत्तम हुन्छ । यसलाई खराब वा हानिकारक चिल्लो मात्र भनेर पुग्दैन, अति खराब चिल्लो नै भन्नु पर्दछ ।

ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरि दुई श्रोतबाट प्राप्त हुन्छ । राँगा, भैसी, खसी, बोका आदिको रातो मासु तथा जनावरको दुध ट्रान्स फ्याटका प्राकृतिक स्रोतहरु हुन् ।

रातो मासुमा पाइने चिल्लोमा ट्रान्स फ्याटको मात्रा ३-९ प्रतिशत हुन्छ । यस्तै प्रकारले जनावरको दुधको चिल्लोमा २-६ प्रतिशत ट्रान्स फ्याट हुन्छ । थोरै मात्रामा खाँदा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याटले स्वास्थ्यमा नकारात्मक असर पार्दैन ।

कृत्रिम स्रोतबाट प्राप्त हुने अर्थात फ्याक्ट्रिमा उत्पादन गरिने औद्योगिक ट्रान्स फ्याट जसलाई पार्सियल्ली हाइड्रोजेनेटेड ओइल  भनिन्छ, यो स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । यस्तो चिल्लो पदार्थ वनस्पति तेललाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ । यस्तो प्रकृयाबाट तरल अवस्थामा रहेको वनस्पति तेल कोठाको तापक्रममा ठोस पदार्थमा परिवर्तन हुन्छ । ट्रान्स फ्याट सामान्य तापक्रममा जम्छ ।

फ्याक्ट्रिमा सस्तो तेललाई तताएर, हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याट व्यापारको हिसाबले अत्यन्तै नाफामूलक हुन्छ । किनकी चिल्लो पदार्थको मात्रा बढ्छ, स्वाद बढ्छ, धेरै दिनसम्म टिक्छ ।

साथै यसमा खानेकुरा पकाउँदा खानाको रुप र स्वाद राम्रो बन्छ । वनस्पति तेल भन्दा यो धेरै सस्तो पर्न आउँछ । व्यापारमा फाइदा हुने भएकाले खाद्य उद्योगमा यसको प्रयोग धेरै हुन्छ । नेपालमा उत्पादन हुने स्वस्तिक, शक्ति र भारतको डाल्डा वनस्पति घिउ औद्योगिक ट्रान्स फ्याटका केही उदाहरण हुन् ।

चिल्लो पदार्थ मुख्यतया ३ प्रकारका हुन्छन् । ती हुन् स्याच्यूरेटेड, अनस्याच्यूरेटेड र ट्रान्स फ्याट । यिनीहरुको मोलिक्यूलको बनावट फरक फरक हुन्छ ।

स्याच्यूरेटेड फ्याटमा कार्बनचेनको सबै भागमा हाईड्रोजन अणु भरिएको हुन्छ । अनस्याच्यूरेटेडमा हाईड्रोजन अणु केही ठाउँ
खालि हुन्छ तर एकातर्फबाट मात्र खालि हुन्छ । ट्रान्स फ्याटमा हाईड्रोजन अणु दुई तर्फबाट खाली हुन्छ । यस प्रकार हाईड्रोजन अणुको कम बेसी र स्थानले चिल्लोलाई फरक रुप दिन्छ । स्याच्यूरेटेड फ्याट र ट्रान्स फ्याट सामान्य तापक्रममा जम्छन् तर अनस्याच्यूरेटेड फ्याट भने तरल नै रहन्छ ।

ट्रान्स फ्याट कति आवश्यक छ ?

ट्रान्स फ्याटबारे गरिएका विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानका अनुसार मान्छेलाई दैनिक आवश्यक चिल्लो पदार्थको एक प्रतिशत भन्दा बढी मात्रा ट्रान्स फ्याट भएमा यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । वैज्ञानिक सल्लाह यो रहेको छ कि मान्छेलाई दैनिक आवश्यक पर्ने कूल उर्जा (क्यालोरी) को एक तिहाई उर्जा चिल्लो पदार्थबाट प्राप्त हुनुपर्छ । दैनिक क्यालोरीको दश प्रतिशत स्याच्यूरेटेड फ्याटबाट र एक प्रतिशत भन्दा कम ट्रान्स फ्याटबाट प्राप्त हुनु पर्दछ । खानामा ट्रान्स फ्याट सून्य भए सबैभन्दा उत्तम हुन्छ ।

एक प्रतिशत ट्रान्स फ्याट भनेको कति हो ?
यो सजिलै नाप्न सकिन्छ । मानौ एउटा मानिसलाई दैनिक २००० क्यालोरी उर्जा दिने खाना खानु पर्छ । २००० को एक प्रतिशत भनेको २० हो । २० क्यालोरी उर्जा करीब दुई ग्राम चिल्लो पदार्थबाट प्राप्त हुन्छ ।

दुई ग्राम भनेको आधा चिया चम्चा भन्दा अलिकता कम हो। एक चिया चम्चामा ५ ग्राम हुन्छ । यस प्रकार दैनिक २००० क्यालोरी बराबर खाना खाने व्यक्तिले आफ्नो खानामा आधा चिया चम्चा भन्दा कम ट्रान्स फ्याट प्रयोग गरेको हुनुपर्छ ।

ट्रान्स फ्याटले स्वास्थ्यमा कस्तो असर पार्छ ?

ट्रान्स फ्याट अत्यन्तै खराब चिल्लो पदार्थ हो । यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रालाई बढाउछ, असल कोलेस्ट्रोलको मात्रालाई घटाउँछ, रक्तनलीहरुको भित्री भागमा नकारात्मक असर पारी त्यहाँ रगतको थेग्रा जम्ने संभावनालाई बढाउँछ, रक्तनलीहरु साँगुरिने क्रमलाई बढाउँछ,
हृदयघात र मस्तिष्कघात हुने संभावनालाई बढाउछ । यसप्रकार ट्रान्स फ्याट मुटु र रक्तनलीहरुका लागि अत्यन्तै हानीकारक छ ।

दुब्ला मान्छेको तुलनामा मोटा मान्छेहरुलाई ट्रान्स फ्याटले अझ बढी हानी गर्दछ । मोटा मान्छेलाई ट्रान्स फ्याटको असरबाट मुटु रोगका अतिरिक्त, मधुमेह, बाथ, आदि स्वास्थ्य समस्या उत्पन्न हुने खतरा बढ्छ । कुनै कुनै अध्ययनले ट्रान्स फ्याटबाट क्यान्सरको संभावना बढेको देखाएको छ । ट्रान्स फ्याटबाट महिलाहरुमा स्तनको क्यान्सरको जोखिम बढ्छ ।

वनस्पति तेललाई जति धेरै पल्ट ततायो त्यति नै त्यसमा ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ । जति धेरै ततायो तेल त्यति बढी हानीकारक बन्दै जान्छ । यस्तो तेलमा पकाएको पकौडा, समोसा, चाउचाउ, आलु, चिकेन आदी खानेकुराहरु स्वादिलो भए पनि स्वास्थ्यका लागि अत्यन्तै
हानीकारक हुन्छन् ।

कस्तो खानामा ट्रान्स फ्याट बढि हुन्छ ?
फ्याक्ट्रीमा तयार गरि प्याकेटमा बन्द गरिएका खाद्य पदार्थहरु जस्तै बिस्कुट, कूकिज, तयारी चाउचाउ, भूजिया, दालमोठ, कूरकूरे, चिज वल्स, आलु चिप्स आदिमा अत्याधिक मात्रामा ट्रान्स फ्याट हुन्छ ।

यस्तै प्रकारले बनस्पति घिउमा बनाएका बेकरी आइटमहरु केक, डोनट, पाउरोटी, आइसक्रिम, पिज्जा तथा चिल्लोमा डिप फ्राई गरेर तयार पारिने फास्ट फूड जस्तै पकौडा, समोसा, पुरी, चिकेन फ्राई, आलु फ्राई, बर्गर, ससेस आदिमा प्रशस्त मात्रामा ट्रान्स फ्याट हुन्छ ।

चिल्लोमा तारेर बनाईने मिठाईहरु जेरी, लालमोहन, गुदपाक, पुस्टकारी, लाखामरी आदिमा पनि धेरै मात्रामा ट्रान्स फ्याट हुन्छ ।

ट्रान्स फ्याटको प्रयोग कसरी घटाउने ?

  • डिप फ्राई गरेको खाना नखाने ।
  • बजारमा प्याकेटमा बन्द गरी बेच्न राखिएका तयारी खानेकुरा नखाने ।
  • बनस्पति घिउको प्रयोग नगर्ने ।
  • बनस्पति तेलमा खाना पकाउँदा तेललाई धेरै नतताउने र दोहोरयाएर एउटै तेलमा खाना नपकाउने ।
  • तेलहरु मध्ये : ओलिभ, तोरी र नरिवलको तेल बढी प्रयोग गर्ने ।
  • गाई, भैंसीको दुधबाट बनाएको घिउको प्रयोग गर्ने ।
  • रातो मासुको सट्टा सेतो मासु खाने ।
  • दुधलाई चिल्लो निकालेर पिउने ।
  • मिठाई आईसक्रिम, पिज्जा केक आदि कम खाने ।
  • तयारी चाउचाउ नखाने ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *