विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७१ प्रतिशत उत्तीर्ण
काठमाडौँ, १७ चैत । नेपाल मेडिकल काउन्सिलले शुक्रबार सञ्चालन गरेको २५ औँ विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ । विशेषज्ञ चिकित्सकको लाइसेन्स प्राप्त गर्ने यो परीक्षामा ७१.४३ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार शुक्रबार दुई चरणमा गरेको परीक्षामा विभिन्न ४३ विषयका कुल ४२० जना परीक्षार्थीहरु सहभागी थिए । त्यसमध्ये ३०० जना ( ७१.४३ प्रतिशत उत्तीर्ण भएका हुन् ।
परीक्षामा ११९ जना अनुत्तीर्ण र एक जनाको नतिजा रोक्का गरिएको डा अधिकारीले बताए । यसअघि ९ मंसिरमा भएको विशेषज्ञको लाइसेन्स परीक्षामा ७४.१६ प्रतिशत पास भएका थिए ।
काउन्सिलले परीक्षाको नतिजा चित्त नबुझेमा ३५ दिन भित्र पुनर्योग गर्न सक्ने बताएको छ ।
आजको परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ क्याम्पसमा भएको थियो ।