विश्व मुख स्वास्थ्य दिवस

दाँत र मुखको स्वास्थ्य : भ्रम र यथार्थ

डा. अमित खनाल,
कन्सल्ट्यान्ट ओरल म्याग्जिलोफेसियल सर्जन

मुख हाम्रो शरीरको महत्वपूर्ण अंग हो । शरीरको मुख्यद्वारको रुपमा लिइने मुख अधिकांश समय फोहोर भइरहन्छ। मुखमा लाखौंको संख्यामा नर्मल फ्लोरा भनिने किटाणुहरु रहेका हुन्छन् ।

नर्मल फ्लोराले सामान्यतया केही हानी नगरेपनि हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा कमी भएका बखत यीनको संख्या अत्यधिक मात्रामा बढ्ने गर्दछ । यसरी बढेका किटाणुहरुले हामीलाई विभिन्न रोगहरु लगाउन सक्छन् ।

बिश्व मुख स्वास्थ्य दिबस को सन्दर्भमा आज हामी दाँत र मुखको स्वास्थ्यका बारेमा जनमानसमा रहेका भ्रम र यथार्थबारे चर्चा गर्नु उपयुक्त ठानेका छौं ।

खाना चपाउने र पाचन प्रकृयालाई सहज बनाउन दाँतले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । हाम्रो शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने भएकाले यसलाई स्वस्थ राख्नु जरुरी छ।

साथमा दाँतको समस्याको समयमै उपचार गराउँदा दुखाइबाट छुटकारा पाउनुका साथै मुखको दुर्गन्धवाट बचाउनुको साथै सुन्दरता समेत बढाउछ ।

तुलनात्मक रुपमा दाँतको उपचार महँगो देखिएपनि नेपालमा दाँत तथा मुखको उपचार अमेरिका, अस्ट्रेलिया, इङ्ल्यान्ड लगायतका देशहरुमा भन्दा निकै सस्तो छ ।

अहिले दन्तचिकित्सा अत्यन्तै विकसित र सरल हुँदै गएको छ । साधारणतया दाँतको उपचारमा दुखाई नहोस् भनी लठ्याउने सुई ९लोकल एनेस्थेसिया० र आवश्यकता अनुसार चाहिएको खण्डमा पूरै शरीर लठ्याउने ९जनरल एनेस्थेसिया० मा राखेर सर्जरी गरिने भएकाले दुखाइको चिन्ता लिनु नपर्ने हुन्छ ।

हाम्रो समाजमा प्रायः मानिसहरु दाँत दुख्न थालेपछि मात्र उपचारकालागि अस्पताल आउने गरेका छन् । यसरी ढिला गरेर आउँदा समस्या जटिल भइसकेको हुन्छ । सचेत भएर बेला बेलामा दाँत तथा मुखको परिक्षण गराउने र समस्याको समयमै उपचार गराउनाले दाँतलाई सड्नबाट बचाउन सकिन्छ। मुख तथा दाँतको थप जटिल समस्याहरु हुनबाट समेत जोगिन सकिन्छ ।

कम्तीमा तीन महिनाको अन्तरालमा नियमित रुपमा दन्त चिकित्सकलाई आफ्नो मुख तथा दाँत जँचाउनु र परामर्श अनुसार दाँत सफा गर्ने र उपचार गराउनु उपयुक्त हुन्छ ।

दाँत सफा गराउँदा कमजोर हुन्छ, हल्लिन्छ र सिरिंग हुने समस्या हुन्छ भन्ने भ्रम पनि समाजमा रहेको छ । दाँत सफा गर्दा अल्ट्रासोनिक स्केलर मेसिन प्रयोग गरिने भएकाले कम्पनको सहायतामा दाँतमा जमेका फोहोरलाई हटाइन्छ । त्यसैले डराउनु पर्ने हुँदैन यसले दाँतलाई कुनै हानी नोक्सानी गर्दैन । केही दिनका लागि सिरिंग अनुभव भएपनि आफै हटेर जान्छ । दाँत सफा गराउनाले कमजोर हुने वा हल्लिने हुँदैन ।

हामीले खाएको खानेकुरा दाँतमा अड्किन्छ र त्यसलाई किटाणुहरुले खाएपछि निस्किएको अम्लले गर्दा बिस्तारै दाँतको कडा भाग सडाइदिने भएकाले हरेकपटक खाना खाइसकेपछि दाँत माझ्नु अति जरुरी छ ।

बच्चाहरुको दुधे दाँत पनि हाम्रो स्थायी दाँतजस्तै महत्वपूर्ण हुन्छ । ती दाँतले बच्चालाई खान चपाउन मद्दत गर्छ र पछि आउने स्थायी दाँतको ठाउँ समेत निर्धारण गर्छ ।

अतः स्थायी दाँत उम्रने समय नभएसम्म दुधे दाँत बचाउन सके राम्रो हुन्छ । त्यो दाँत केही गरी समयभन्दा पहिले नै झर्यो भने पछि आउने स्थायी दाँत समयभन्दा ढिलो आउने तथा नमिलेर बाङ्गो टिङ्गो भएर आउने हुन्छ ।

दाँतका सबैखाले समस्याको उपचार नेपालमा नै सम्भव छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *