डब्लुएचओद्धारा वीर अस्पतालमा तयार पारिएको नेशनल सिमुलेसन ल्यावको अडिटोरियम हल हस्तान्तरण

के हो सिमुलेसन ल्याव ?

काठमाडौँ, ३ फागुन । विश्व स्वास्थ्य संगठनले आफ्नो आर्थिक तथा प्राविधिक सहयोगमा वीर अस्पतालमा तयार गरेको नेशनल सिमुलेसन ल्यावको अडिटोरियम हल हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सचिव देवकुमारी गुरागाईँको उपस्थितिमा मंगलबार विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजी राव पाण्डवले वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतलाई अडिटोरियम हल हस्तान्तरण गरे ।

झण्डै एक वर्ष अघि देखि सञ्चालनमा आएको नेशनल सिमुलेसन ल्यावको क्षमता अभिबृद्धि गर्न डव्लुएचओले ३० लाख बराबरको अत्यावश्यक सामग्रीले सुसज्जित अडिटोरियम हल हस्तान्तरण गरेको हो ।

अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतले सिमुलेसन ल्यावको क्षमता विस्तार हुने क्रममा अर्को एउटा वेल फर्निसिङ अडिटोरियम हल तयार गरि डव्लुएचओले हस्तान्तरण गरेको बताए ।

यसअघि त्यहाँ खुलेको ल्यावका लागि डब्लुएचओसंगै अमेरिका नेपाल मेडिकल फाउन्डेशनले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । तालीमका लागि राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रले पनि सहकार्य गर्दै आएको छ ।

हस्तान्तरण समारोहमा बोल्दै स्वास्थ्य सचिव देवकुमारी गुरागाईंले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी रुपमा अघि बढाउन सिमुलेसन ल्यावको अत्यन्त महत्वपूर्ण भूमिका हुने भन्दै यसलाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेको बताईन् । उनले ल्याव स्थापना गर्नका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने डव्लुएचओ तथा अमेरिका नेपाल मेडिकल फाउन्डेशनलाई धन्यवाद दिईन् ।

कार्यक्रममा डव्लुएचओका नेपाल प्रमुख डा पाण्डवले सिमुलेसन ल्यावले चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरुको सीपमा आधारित तालिमलाई सहयोग गर्ने अपेक्षा रहेको बताए । उनले अघिल्लो बर्ष स्किल ल्यावका लागि चाहिने केही उपकरणहरु हस्तान्तरण गरेको भन्दै त्यसले नेशनल सिमुलेसन ल्याव स्थापनाका लागि आधारसिला खडा गरेको बताए ।

कार्यक्रममा सिमुलेशन ल्याव प्रमुख डा रविराम श्रेष्ठले यसको महत्वको बारेमा जानकारी गराएका थिए ।

अस्पतालले सञ्चालन गरेको ल्यावमा अहिले अप्रेशन र आइसीयूको स्किल टेष्ट गर्न थालिएको छ । अहिले सो ल्यावमा तालीम केन्द्रसंग मिलेर चिकित्सक तथा नर्सहरुलाई क्रिटिकल केयर सम्वन्धी १० व्याच तालीम सञ्चालन गरिसकेको छ ।

के हो सिमुलेसन ल्याव ?

‘सिमुलेसन ल्याव एक खालको अस्पताल सेटअप नै हो । त्यहाँ हुने उपकरण पनि उहि नै हो । काम गर्ने चिकित्सक नर्स पनि उनी नै हुन् । बिरामी मात्रै डमी हुन्छ । फरक यत्ति हो,’ अस्पतालका निर्देशक डा बस्नेतले भने ।

उनले सिमुलेसन ल्यावको अवधारणा साच्चिकै बिरामीको अप्रेसन गर्नु अघि डमीमा आफ्नो सिप परीक्षण गर्नु रहेको बताए ।

‘सर्जरी तथा आइसीयूमा काम गर्ने चिकित्सक तथा नर्सले त्यहाँ गएर आफ्नो सिप तिखार्ने र त्यसपछि मात्रै साच्चिकै बिरामीको उपचारमा सहभागी हुने हो । त्यहाँ डमिका बिरामीमा अप्रेसन हुन्छ, आइसीयूमा राखिन्छ । त्यहाँ अप्रेसन गर्दा प्रक्रिया मिल्यो कि मिलेन ? आइसीयूमा राख्दा के के कुरामा ध्यान दिनुपर्छ, त्यो भयो कि भएन भनेर मोनिटर समेत भइरहेको हुन्छ,’डा बस्नेतले भने ।

उनले विकसित देशहरुमा सिमुलेशन ल्याव हुने गरेको भएपनि नेपालका लागि भने यस्तो खालको ल्याव पहिलो भएको बताए ।

‘विदेशमा नयाँ चिकित्सक तथा नर्सले एकैपटक बिरामी व्यक्तिमा गएर काम गर्न पाउँदैन् । पहिले डमीमै सबै काम र सिप सिकेर हात बसेपछि मात्रै बिरामीको अप्रेशन गर्न पाउँछ । हामीकहाँ त त्यस्तो सिक्ने ल्याव नै थिएन । त्यसैले सरासर बिरामीलाई नै हेर्नुपर्ने हुन्थ्यो । यो ल्यावले नेपालको चिकित्सा क्षेत्रको विकासका लागि कोशेढुंगा हुनसक्छ’ डा। बस्नेतले भने ।

वीरको नयाँ भवनको छैटौ तलामा सिमुलेसन ल्याव सञ्चालनमा ल्याइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *