चिकित्सकको आन्दोलनले बिरामीलाई सास्ती

काठमाडौँ, २९ माघ । नेपाल चिकित्सक संघको आव्हानमा आज भएको स्वास्थ्य सेवा ठप्प पार्ने आन्दोलनले आम विरामीलाई मर्का परेको छ । टाढा टाढाबाट उपचार तथा फलोअपमा आएका बिरामीहरु अस्पताल परिसरमै विलखवन्धमा परेका छन् । चिकित्सकको पहुँचमा रहेका कतिपय विरामीहरुले भने उपचार सेवाका लागि फोन गरेर सोर्स लगाउँदै छन् ।

वीर अस्पतालमा आइतबार विहान ९ बजे पुग्दा रौतहटबाट हेमोडाइलासिस गर्न आएका एक दम्पत्ती टिकट काटने अगाडीको कुर्सीमा सुस्ताएका थिए । ‘उहाँबाट आइयो, हामीलाई थाहा पनि भएन तर आज बन्द रे, हाम्रो उपचार हुँदैन रे,’ गौरी साहले भनिन् ।

अस्पतालमा आएका धादिङका अर्का एक बिरामीले सरकार र डाक्टरबीचको झगडाले निरिह बिरामी मारमा परेको प्रतिक्रिया दिए । उनले सेवा बन्द गरेर विरोध गर्ने शैलीको समेत कडा रुपमा आलोचना गरे ।

डाक्टर त भगवान हुन्, जान्ने सुन्ने हुन् भन्ने लाग्थ्यो । दवाव दिने नाममा पारा त उही पेट्रोल ट्याङ्कर सवारी चालककै जस्तो देखाए । गाउँबाट आएका बिरामीलाई ढाल बनाएर आफ्ना माग पुरा गर्न दवाव दिने । उनले यस्तो व्यवहारले डाक्टर बिरामीबीचको सम्वन्ध समेत बिग्रने बताए ।

वीर अस्पतालका निमित्त प्रमुख डा भुपेन्द्रकुमार बस्नेतले भने, ‘अस्पतालमा ओपिडी बाहेक अरु सेवा चलेको दावी गरे । ओपिडी बन्द नै छ, बिरामी पनि खासै आएका छैनन्, अत्यावश्यकलाई इमरजेन्सीमा उपचार गरिदिनु भनेको छु ।’

वीरमा भेटिएका कतिपय बिरामीहरुले डाक्टरहरुको निजी क्लिनिक समेत खोजी गरेका थिए । ‘यहाँ नगरे पनि निजी क्लिनिक तथा अस्पतालमा भेटिन्छन रे । अव त्यतै जाने होला,’ आमालाई फलोअपका लागि लिएर आएकी सिन्धुपाल्चोककी पार्वती लामाले भनिन् ।

यता त्रिवि शिक्षण अस्पतालमा पनि ओपिडी सेवा ठप्प रहेको छ । अस्पतालका निर्देशक डा दिनेश काफ्लेले चिकित्सक संघको आव्हानपछि चिकित्सकहरु ओपिडीमा नबसेको बताए । उनले इमरजेन्सीबाट अत्यावश्यक उपचार भइरहेको बताए ।

केही निजी अस्पतालहरुले पनि ओपिडी बन्द गरेको बताए । तर उनीहरुले आएका बिरामीहरुलाई बैकल्पिक व्यवस्था मिलाएर सेवा दिइरहेको बताएका छन् । ‘इमरजेन्सी होला, अरु खाली कक्ष होला, सेवा दिइएको छ,’ एक निजी अस्पतालका सञ्चालकले भने ।

निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनका अध्यक्ष डा पदम खड्काले चिकित्सकको आन्दोलन भनेको सेवा बन्द हो भन्ने मान्यता चिर्नु पर्ने बताउँछन् । ‘आन्दोलन त गर्नु नै पर्छ तर आफ्नो पेशाको सम्वेदनशीलता पनि हेर्नुपर्छ । बिरामीलाई दुख दिएर त दीगो समाधान होला र ?’

निजी मेडिकल कलेज सञ्चालकहरुको निजी मेडिकल कलेज तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले अस्पतालको सेवा रोक्नु आफ्नो इच्छा नभएपनि संघको आव्हानलाई सहयोग गरेको बताए । ‘हाम्रा अस्पतालहरुमा डाक्टर नै कार्यरत हुने हुन् । पेशागत संगठनले भनेपछि नाई भन्न मिलेन । त्यसैले इच्छा नहुँदा नहुँदै पनि बन्दलाई समर्थन गर्नु परेको छ । अब देखि चिकित्सक संघले विरोधका शैली बदल्नै पर्छ,’ उनले भने ।

राष्ट्रपतिको सवारीको क्रममा गत शुक्रबार प्रहरीद्धारा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक कुटिएपछि संघले विरोध स्वरुप देशव्यापी सेवा बन्दको घोषणा गरेको हो ।

त्यसो त घटनामा सम्लग्न आफ्नो सदस्यलाई प्रहरीले चिकित्सक संघले आन्दोलन घोषणा गर्नु अघि नै विभागीय कारवाहीको प्रक्रिया अघि बढाएको थियो ।

चिकित्सकको आन्दोलनपछि वीर अस्पताल परिसरमा बिरामी तथा आम सर्वसाधारण:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *