पोखरा जहाज दुर्घटनामा परेकाहरुको पहिचान तथा पोष्टमार्टमका लागि ‘राष्ट्रिय टिम’ बनाईदै
पोखरा, २ माघ । पोखरामा हिजो भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाउनेहरुको पहिचान तथा पोष्टमार्टमका लागि विज्ञ चिकित्सकहरु समेटिएको राष्ट्रिय टिम बनाइने तयारी भएको छ । पोखरा र काठमाडौँका विज्ञ चिकित्सक सम्मिलित टिम बनाउन लागिएको हो ।
दुर्घटनामा परेका मध्ये अहिलेसम्म ६८ जनाको शव फेला परेको छ । ती मध्ये २६ जनाको पहिचान भएको बताइएको छ । संकलित सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
‘भेटिएका सबै शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । पहिचान भएका कतिपय सबहरुको यहि नै पोष्टमार्टम गरेर बुझाउने र कतिपयको पहिचान तथा पोष्टमार्टमका लागि काठमाडौँ पठाउने पर्ने छ । त्यसका लागि हामीले काठमाडौँसंग समन्वय गरेर नेशनल टिम बनाउने तयारीमा छौँ,’ प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले भने ।
उनले चालक दलका सदस्य, विदेशी यात्रु तथा नचिनिने अवस्थामा भएका कतिपय शवहरु काठमाडौँ पठाउनुपर्ने बताए ।
आइतबार विहान काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलायन्सको जहाज करिव ११ बजे विमानस्थल नजिकैको सेती नदि खोचमा दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा चालक दलका ४ सदस्य सहित ७२ जना सवार थिए ।
उता संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्घटनामा परेका मृतकको फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि उपत्यकाका अस्पताललाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हिजो विज्ञप्ती जारी गर्दै अस्पतालहरुलाई अलर्टमा रहन निर्देशन दिएका हुन् ।
सम्पर्क इमेल : [email protected]