नयाँ भेरियन्टमा समेत प्रभावकारी हुने १५ लाख डोज फाइजर खोप ल्याउने तयारी

केन्द्रीय भण्डारमा बयस्कका लागि लगाउने खोप छैन्

काठमाडौँ, १० पुस । सरकारले कोरोनाको नयाँ भेरियन्टलाई समेत काम गर्ने गरी फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।
स्वास्थ्य सेवा विभागले अहिले कोभ्याक्सको काम गरिरहेको गाभी मार्फत मार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको हो ।

नयाँ भेरियन्टका लागि प्रभावकारी छ भनेर विश्व स्वास्थ्य संगठनले समेत सिफारिस गरेको यो खोप ल्याउन तथा प्रयोग गर्नका लागि स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले औषधि व्यवस्था विभागसंग अनुमति मागेको छ । औषधि व्यवस्था विभागले औषधि सल्लाहकार समितिको बैठकबाट निर्णय गर्ने आश्वासन दिएको छ ।

महाशाखाका निर्देशक डा बिबेकुमार लालले विभागबाट आकस्मिक प्रयोगका लागि अनुमति पाउनासाथ कोभ्याक्समा पठाउने र त्यस लगत्तै १५ लाख डोज खोप आउने बताए । ‘पहिले अध्यादेश मार्फत आकस्मिक प्रयोगका लागि खोपको अनुमति दिइन्थ्यो । अहिले त्यो नभएकोले औषधि ऐन अनुसार औषधि सल्लाहकार समितिबाट अनुमति लिएर मात्रै सो काम हुँदो रहेछ,’ डा लालले भने । उनले पहिले आइरहेको फाइजर भन्दा यो खोप केही फरक भएकोले पुन अनुमति लिनु परेको स्पष्ट पारे ।

विभागका अनुसार कोभ्याक्सले नेपाललाई आवश्यक पर्ने थप खोप अनुदानको रुपमा उपलव्ध गराउने आश्वासन दिएको छ ।

केन्द्रीय भण्डारमा बयस्कका लागि लगाउने खोप छैन्
छिमेकी मुलुकमा कोरोना संक्रमणले तिब्रता लिएसंगै सरकारले जनस्वास्थ्य मापदण्डको पालना गर्न र यसबिरुद्धको खोपको बुस्टर लगाउन भनेको छ । तर केन्द्रीय स्टोरमा १८ वर्ष माथि उमेर समूहका लागि बुस्टर डोज लगाउने खोप छैन् ।

‘बालबालिकाहरुको बुस्टर डोज केही होला तर बयस्कहरुलाई लगाउने बुस्टर डोज अहिले केन्द्रीय भण्डारणमा छैन् । भएका खोप जति प्रदेश तथा जिल्लामा पठाइसकिएको छ,’ परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले भने ।

उनले काठमाडौँ लगायतका विभिन्न जिल्लाका केही अस्पतालमा बुस्टर डोजका लागि खोप भएको र लगाइरहेको जानकारी भने आफूले पाएको बताए ।

४० लाख चिनियाँ खोप बुस्टरका लागि प्रयोग गर्न नमिल्ने
यसैबीच चीन सरकारले अनुदानमा दिएको कोभिडबिरुद्धको ४० लाख डोज साइनोभ्याक खोप व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति व्यवस्था शाखामा रहेको छ । तर सो खोप बुस्टरको लागि प्रयोग गर्न मिल्दैन ।

‘विश्व स्वास्थ्य संगठनले पनि बुस्टर डोजको रुपमा प्रयोग गर्न अनुमति दिएको छैन् । यहाँको राष्ट्रिय खोप सल्लाहकार समितिले पनि अनुमति दिएको छैन् । त्यसकारण यो खोप यत्तिकै गोदाममा थन्किएर बसेको छ,’ डा विवेक लालले भने ।

उनका अनुसार पहिलो र दोस्रो डोजका लागि भने यो खोप प्रयोग गर्न मिल्छ । तर नेपालमा पहिलो र दोस्रो डोज खोप प्राय सबैले लिएका छन् ।

व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले चिनियाँ खोपको अवधी अझै एक वर्ष बढी रहेको बताए । ‘खोपको अवधी त छ तर लगाउनका लागि केही प्राविधिक कठिनाई देखियो त्यसैले गोदाममै थन्किएको छ,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *