रेडियोग्राफी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

140
Shares

काठमाडौँ, २२ कात्तिक । विश्व रेडियोग्राफी दिवसको अवसरमा सरकारी रेडियोग्राफी संघ नेपाल (गोरान)ले मंगलबार राजधानीमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

रेडियोग्राफीको बर्तमान अवस्था तथा भविस्य विषयक अन्तरक्रिया कार्यक्रम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरको सभाहलमा भएको थियो ।

सरकारी रेडियोग्राफी संघ नेपालका अध्यक्ष दामोदर रोक्काको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मुख्य वक्ताको रुपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेडियोग्राफी विधाका प्राध्यापक गणेश बहादुर पोखरेल, शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका रेडियोग्राफी इन्चार्ज वरिष्ठ रेडियोग्राफी टेक्नोलोजीष्ट इन्देश ठाकुर तथा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका रेडियोग्राफी टेक्नोलोजीष्ट निराजन थापाले बोलेका थिए।

कार्यक्रमका वक्ताहरुले विश्व परिवेशमा रेडियोग्राफी क्षेत्रले छलाङ मारेको तर नेपालमा रेडियोग्राफी क्षेत्रमा चित्तबुझ्दो विकास र पहिचान स्थापित नभएको औल्याउँदै भविष्यमा नेपालको रेडियोग्राफी क्षेत्रलाई विश्व परिवेशसँगै अगाडि बढाउन सरकारी रेडियोग्राफी संघको भुमिका कोसेढुङ्गा सावित हुने आशा तथा विश्वास व्यक्त गरेका थिए।

तदर्थ समिति गठन
यसैबीच मंगलबार नै नेपाल सरकार वा मातहतका निकायहरुको स्वामित्व, दायित्व वा लगानी रहेका सरकारी, अर्धसरकारी तथा सार्वजनिक स्वास्थ्य संस्थाहरुमा कार्यरत रेडियोग्राफी स्वास्थ्यकर्मीहरुलाई समेट्ने गरि स्थापना गरिएको सरकारी रेडियोग्राफी संघ नेपालको लोगो तथा तदर्थ समितिको घोषणा समेत गरिएको थियो।

राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ रेडियोग्राफी टेक्नोलोजीष्ट दामोदर रोक्काको अध्यक्षतामा गठित तदर्थ समितिको उपाध्यक्ष सरोज क्षेत्री, महासचिव प्रकाश तिमिल्सिना, कोषाध्यक्ष राकेश कर्ण , सचिव भीम थापा (अरुण) र सदस्यहरु शरद ढकाल, महेश कार्की, प्रीति थापा र वर्षा डिसि रहेका छ्न।

सो कार्यक्रममा समापन मन्तव्य राख्दै संघका अध्यक्ष दामोदर रोक्काले सामुहिक हकहित र पेशाको विकास एवं पहिचानका लागि सरकारी रेडियोग्राफी संघ नेपालको स्थापना भएको बताउदै संघमा सामुहिक नेतृत्व प्रणाली र गतिशीलताको सुनिश्चितताका लागि संघको विधान मै ‘एक पद एक कार्यकाल’ को व्यवस्था गरिएको खुलासा गरेका थिए।

संघका महासचिव प्रकाश तिमिल्सिनाले संचालन तथा उपाध्यक्ष सरोज क्षेत्रीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत ७० भन्दा बढी रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *