समानुपातिक सूचीमा परेका डा. लेखजङ्ग थापा चुनावी मोर्चामा कस्सिदै

काठमाडौँ,२२ कात्तिक । बरिष्ठ स्नायुरोग विशेषज्ञ डा. लेखजङ्ग थापा पनि राजनीतिमा प्रवेश गरेका छन् । उनी यसपटकको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यमा समानुपातिक सूचीमा परेका छन् ।
रुपन्देही स्थायी घर भएका डा थापा पछिल्लो एक साता देखि प्रदेश तहको चुनावी प्रचारमा क्रियाशिल छन् ।
‘खासमा राजनीति गर्ने भित्री ईच्छा थिएन तर समाज र देशका लागि केही काम गर्नै पर्ने भयो । हामी अघि नसरे कसले गर्ने भनेर म यसपटक नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यका लागि मैदानमा उत्रिएको हुँ । समानुपातिक सूचीमा मेरो नाम परेको छ,’ डा थापाले भने ।
उनले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको र काम गर्ने ठाँउमा आफू जानु पर्ने आफ्ना शुभचिन्तकहरुको प्रस्तावपछि चुनावमा होमिएको बताए ।
‘मैले आफ्नो लागि मात्रै सोच्ने हो भने अहिलेकै पेशामा ठिकै छ । तर अव देश र जनताको लागि सोच्ने बेला आयो । त्यसका लागि हामी जस्ता मान्छेहरु पनि राजनीतिमा आउनु पर्ने देखियो । देश र जनताका लागि केही गर्न सक्छु कि भनेरै म चुनावी अभियानमा होमिएको हुँ,’ उनले थप प्रष्ट पारे ।
उनले चुनावी अभियानमा निस्कदाँ आफूले सोचे भन्दा बढी रेस्पोन्स पाएको समेत दावी गरे ।
उनले आफू प्रदेश सभा सदस्य पदमा निर्वाचित भएमा कम्तिमा स्वास्थ्य शिक्षा र उपचारको क्षेत्रमा केही नयाँ आयामहरु देखाउने समेत दावी गरे ।
नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकिया रहेको छ ।
यसपटकको निर्वाचनमा प्राय सबै पार्टीबाट क्रियाशिल चिकित्सकहरु उम्मेद्धार बनेका छन् । कतिपय पार्टीबाहिरबाट स्वतन्त्र रुपमा उम्मेद्धारी दिएका छन् ।
सम्पर्क इमेल : [email protected]