शान्ति सेनाको टिममा अब स्वास्थ्यका डाक्टरलाई पनि अवसर
पहिलो पटक लिबियामा स्वास्थ्यबाट तीन जना सर्जन पठाउने तयारी
काठमाडौँ, ७ कात्तिक । सरकारले स्वास्थ्य मन्त्रालय अन्तरगतका स्थायी डाक्टरलाई पनि शान्ति मिसनमा पठाउने भएको छ । रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको छ ।
मन्त्रालयले हिजो सूचना निकाल्दै एक वर्षे मिसनका लागि लिविया जान चाहने जनरल सर्जनले आगामी १६ कात्तिक सम्ममा सम्पर्क गर्न भनेको छ । सूचनामा एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरगर्तको स्थायी कर्मचारी हुनुपर्ने र कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने उल्लेख गरेको छ ।
यसअघि शान्ति मिसनमा रक्षा मन्त्रालय अन्तरगर्तको नेपाली सेना र गृह मन्त्रालय अन्तरगर्तको सशस्त्र र जनपद प्रहरीका सहभागी हुन्थे । चिकित्सा तर्फ पनि प्राविधिक सेना, प्रहरी र सशस्त्र प्रहरी खटिन्थे ।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य अन्तरगर्तका चिकित्सकले समेत विदेशमा काम गर्ने अवसर पाओस भन्नका लागि पहिलो पटक शान्ति मिसनमा पठाउन खोजिएको बताए ।
सूचनामा संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यका लागि युनाइटेड नेशन्स सपोर्ट मिसन इन लिबिया (युएनएसएमआईएल) लिबियामा आगामी २९ माघ (सम्भावित मिति)मा तैनाथ हुन जाने स्पेशल गार्ड युनिट (शा. से.) पाँचौँ डफ्फाको लेभल १(प्लस) अस्पतालमा एक वर्षको लागि कार्यरत रहने गरी कम्तीमा तीन वर्षको अनुभव प्राप्त कन्सलटेन्ट जनरल सर्जन मध्ये यस मन्त्रालय अन्तरगर्तका स्थायी कर्मचारी भनिएको छ ।
सम्पर्क इमेल : [email protected]