स्वास्थ्य राज्यमन्त्री केसीलाई वीरमा सारियो, आईसीयूमा उपचार हुँदै

काठमाडौँ, ३ कात्तिक । डेंगी संक्रमणमा परेका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । गत शुक्रबार डेंगी संक्रमणमा परेका केसीको स्वास्थ्य विग्रदै गएपछि टेकु अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ सुधार हुन नसकेपछि बुधबार वीर अस्पतालमा ल्याइएको हो ।
‘राज्यमन्त्री ज्यूको आईसीयूमा राखेर उपचार गरिएको छ । हिजो अवस्था अलि गम्भीर नै थियो । तर आज सुधार भएको छ । खतरामुक्त भन्न सकिन्छ,’ वीरका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले भने ।
राज्यमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न विहीबार बेलुका स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ वीर अस्पताल पुगेका छन् । उनले राज्यमन्त्रीको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
राजधानीसहित देशमा डेंगी फैलिरहे पनि संघीय सरकार र स्थानीय तहले त्यसविरुद्ध प्रभावकारी अभियान चाल्न सकेका छैनन् ।
डेंगी यसपटक ७७ वटै जिल्लामा भेटिएको छ । गत साउन यता ४२ हजार ५०४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । हालसम्म डेंगीका कारण ५१ जनाको मृत्यु भएको भईसकेको छ ।
सम्पर्क इमेल : [email protected]