डेंगी संक्रमणमा परेका स्वास्थ्य राज्यमन्त्री केसी टेकु अस्पताल भर्ना
काठमाडौं, २ कात्तिक । डेंगी संक्रमणमा परेका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी अस्पताल भर्ना भएका छन् । गत शुक्रबार डेंगी संक्रमण पुष्टि भएका स्वास्थ्य राज्यमन्त्री केसीलाई गएराती साढे १० बजेतिर टेकु अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई एक साता अघि देखि ज्वरो आउने, रिगांटा लाग्ने, कमजोर महसुस हुने जस्ता लक्षण देखिएको थियो । उनको गत शुक्रबार डेंगी परीक्षण गरिएको थियो । त्यसक्रममा रिपोर्ट पोजेटिभ आएपछि पनि उनले घरमै औषधि उपचार तथा आराम गरेका थिए । तर सुधार नदेखिएपछि मंगलबार (हिजो) अस्पताल ल्याइएको हो ।
टेकु अस्पतालका निर्देशक डा मनिषा रावलले ज्वरो आउने क्रम नरोकिएपछि अस्पताल ल्याइएको बताईन् ।
‘डेंगी पुष्टि भएपछि पनि घरमै आराम गर्नु भएको थियो । रगत जाँचहरु भइरहेको थियो तर ज्वरो घटेन, प्लेटलेट्स केही कम भएको पाइयो । त्यसैले थप जाँच समेत गर्ने गरी अस्पताल आउनु भएको हो । अहिले अवस्था सामान्य नै छ,’ उनले भनिन् ।
राज्यमन्त्री केसीका स्वकीय सचिव अमित शर्माले शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ।
पछिल्लो दुई महिना देखि बढ्न थालेको डेंगीले काठमाडौँ उपत्यका सहित देशभर फैलिएको छ ।
सम्पर्क इमेल : [email protected]