आँखा स्वास्थ्यमा नेपालको ४१ वर्ष : प्रतिशतमा सुधार, संख्यामा घटेन
काठमाडौँ, २७ असोज । नेपाल आँखा उपचारको क्षेत्रमा आत्म निर्भर भएको मानिन्छ । प्रतिशतको आधारमा पछिल्लो ४१ बर्षमा नेपालले आँखा उपचारको क्षेत्रमा प्रगति हालिस पनि गरेको छ । तर संख्यात्मक रुपमा सुधार भने आउन सकेको छैन् ।
विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघले बुधबार आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष प्राडा चेतराज पन्तले अब प्रतिशतमा जस्तै गरी संख्यामा सुधार गर्नु पर्ने बताए ।
‘नेपालले सन् १९८१ मा अन्धोपन सम्वन्धी सर्भेक्षण गर्दा ०.८१ प्रतिशतमा अन्धोपन थियो । सन् २०२२ मा आईपुग्दा अन्धोपनको समस्या ०.२८ प्रतिशतमा झरेको छ । अर्थात ४१ वर्षमा ०.५६ प्रतिशतले अन्धोपन घटेको छ । तर बढ्दो जनसंख्याको कारण त्यसबेलाको अन्धोपनमा गुज्रिनेको संख्या र अहिलेको संख्यामा खासै फरक देखिएको छैन्,’ डा पन्तले भने ।
‘त्यसो त नेपाल अन्धोपनको सर्भेक्षण गर्ने संसारकै पहिलो मुलुक हो । गैर सरकारी संस्थाको नेतृत्वमा आँखा स्वास्थ्यलाई अघि बढाई उत्कृष्ठ सेवा संसारकै पहिलो मुलुक हो । सार्क क्षेत्रमा मालदिभ्स र भुटान पछि आँखा उपचारमा उत्कृष्ठता हासिल गर्ने तेस्रो मुलुक पनि हो । तर अझै पनि अन्धोपनको समस्या देखिएकै छ । यसका लागि जनचेतना, उपचारको पहुँचमा पुर्याउनु, अहिलेको आवश्यकता हो,’आँखा जनस्वास्थ्यकर्मी युद्धध्वज सापकोटाले भने ।
उनले दीगो विकास लक्ष्य प्राप्तीका लागि आँखा स्वास्थ्यको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा संघका महासचिव भरतबहादुर चन्दले संघले आँखा स्वास्थ्यको क्षेत्रमा गरिरहेको काम तथा गतिविधिको बारेमा प्रकाश पारेका थिए ।
विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार संसारभर झण्डै २ अर्व २० करोड मानिसहरुमा दृष्टिसम्वन्धी समस्या रहेको छ । झण्डै १ अर्व मानिसहरु अहिले पनि आँखा सेवाबाट बन्चित भएका छन् ।
नेपालमा सन् २०१९ को सर्भेक्षणले सन् १९८१ को तुलनामा अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमि देखिएपनि जनसंख्या र जेष्ठ नागरिकको संख्यामा भएको बृद्धिले अन्धोपन तथा दृष्टिदोषको समस्या त्यति फरक परेको देखिएको छैन ।
संघका अनुसार नेपालमा अहिले करीव ५० हजार दृष्टिविहीन रहेको अनुमान छ ।
आज १३ अक्टोवर, आँखालाई माया गरौँ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस मनाईदैछ । आँखा स्वास्थ्य सम्वन्धी जनचेतना बढाउन तथा आँखा उपचारको क्षेत्रमा पहुँच अभिबृद्धि गर्नका लागि सन् १९९८ देखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्युनीकरण कार्यमा सम्लग्न अन्तराष्टिय गैरसरकारी संस्थाहरुको छाता संगठन (आईएपीवी)ले संयुक्त रुपमा यो दिवस मनाउन थालेको हो ।
सम्पर्क इमेल : [email protected]