महामारीकै बीचमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलव्धी हासिल गर्‍यो – स्वास्थ्य राज्यमन्त्री केसी

काठमाडौँ, २२ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुदृढीकरण कुनै पनि आकस्मिक अवस्थाको तयारी तथा प्रतिकार्यको प्रयासहरुको अभिन्न अंग हुनु पर्ने बताएका छन् ।

भुटानको पारोमा जारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको ७५ औँ अधिवेशनलाई सम्वोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

सो अवसरमा मन्त्री केसीले बहुजोखिमपूर्ण जनस्वास्थ्यका आकस्मिक अवस्थाहरुलाई सामना गर्न सक्षम स्वास्थ्य क्षेत्र तयार गर्नका लागि धेरै लगानी तथा मिहिनेत गर्नुपर्ने बताए ।

उनले भने, ‘महामारीकोबीचमा पनि नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको छ । नेपालले दादुरा रुबेला तथा औलो रोगको निवारणको लक्ष्य प्राप्ति तर्फ उल्लेख्य उपलब्धि हासिल गरेको छ । प्रयोगशालाको संजालको सुदृढीकरण मार्फत जनस्वास्थ्यको निगरानी सबल बनाएका छौं भने स्वास्थ्य क्षेत्रको मानव श्रोत, स्वास्थ्य क्षेत्रको वित्तीयकरण, नसर्ने रोगको लागि बहुक्षेत्रीय कार्य योजना लगायतका नीतिगत सुधारका कदम समेत अघि बढाएका छौँ । सन् २०२१ मा कोभिड १९ विरुद्धको राष्ट्रिय खोप कार्यक्रम लागु गर्ने यस क्षेत्रकै अग्रणी राष्ट्रहरु मध्ये नेपाल पर्न सफल भएको छ ।’

मन्त्री केसीले आकस्मिक अवस्थाहरुमा समेत अत्यावश्यक स्वास्थ्य सेवाहरुलाई सुचारु राख्न बैकल्पिक सेवा प्रवाहका माध्यम तथा संजालहरु अबलम्बन गर्नुपर्ने समेत बताए ।

गत सोमबारबाट पारोमा जारी सम्मेलन आगामी शुक्रबारसम्म चल्नेछ । तर स्वास्थ्य मन्त्री केसी भने विहीबार (भोली) नेपाल फर्कने कार्यक्रम छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *