बीपी स्मृति अस्पतालमा हरेक शनिबार निशुल्क स्वास्थ्य शिविर, १ असोजसम्म चल्ने
काठमाडौँ, १९ भदौ । धेरैलाई थाहा नहुन सक्छ बसुन्धरास्थित बीपी स्मृति अस्पतालमा गएको चार साता देखि हरेक शनिबार निशुल्क स्वास्थ्य शिविर भइरहेको छ । अस्पतालका अनुसार यो शिविरले अझै दुई सातासम्म निरन्तरता पाउने छ ।
अस्पतालले गरीव तथा विपन्न र स्थानीय सर्वसाधारणलाई लक्षित गरी अस्पताल परिसरमै निशुल्क स्वास्थ्य शिविर गर्दै आएको हो । ‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शिविरको आयोजना गरेका हौँ । यो शिविरले आगामी १ असोजसम्म निरन्तरता पाउने छ,’ अस्पतालका मेडिकल डाइरेक्टर डा धनबहादुर राना मगरले भने ।
अस्पतालले निशुल्क स्वास्थ्य शिविरका लागि हरेक शनिबार समय निर्धारण गरेको छ । यस्तै शिविर हुने हरेक शनिबार विशेषज्ञद्धारा छुट्टा छुट्टै रोगको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
‘शनिबारका दिन विहान ८ देखि दिउसो १ बजेसम्म निशुल्क स्वास्थ्य शिविर यहि अस्पताल परिसरमै हुने गरेको छ । र, हरेक पटकको शनिबार शिविरका लागि छुट्टा छुट्टै रोगको परीक्षण हुनेछ,’ डा रानाले भने ।
‘शिविरमा ब्लड सुगर, पिसाब जाँच, रक्त परीक्षण, (सीबीसी) तथा छातीको एक्सरे सेवा निशुल्क हुनेछ,’ अस्पतालका डाइरेक्टर डा. रानाले भने । उनले अन्य ल्याब परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बताए ।
कतिले लिए सेवा ?
मेडिकल डाइरेक्टर डा. रानाले अहिलेसम्म १५९ जनाले शिविरमा आई निशुल्क स्वास्थ्य सेवा लिएको जानकारी दिए । उनले हरेक पटक आउनेहरु अर्को पटकको शिविरमा पनि दोहोरिने भएकोले निशुल्क सेवा लिएको पटक भने बढी हुने बताए ।
अस्पतालले गत २८ साउनको शनिबार छाला तथा मुटुरोग सम्वन्धी शिविर राखेको थियो । यस्तै ४ भदौमा हाडजोर्नी तथा डेन्टल सर्जरी र ११ भदौमा जनरल सर्जरी तथा युरो सर्जरी, नेफ्रोलोजीको सेवा राखेको थियो । हिजो शनिबार अर्थात १८ भदौमा स्त्री रोग तथा बालरोग, कार्डियोथोरासिक एण्ड भास्कुलर, को शिविर थियो ।
अस्पतालले अब २५ भदौमा मेडिसिन (छाती, पेट), बाथरोग र १ असोजको शनिबारको दिन इएनटी तथा न्यूरो सर्जरी तथा साईक्याट्री सेवा दिने गरी तालिका बनाएको छ ।
सम्पर्क इमेल : [email protected]