सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी संसोधित निर्देशिका लागू गर्न सर्बोच्चद्धारा परमादेश जारी
सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भाग चेतावनीमुलक रंगिन चित्रले छोप्नु पर्ने
काठमाडौँ, १२ भदौ । सर्बोच्च अदालतले झण्डै आठ वर्ष अघि रिट दायर भएको जनस्वास्थ्य सम्वन्धी मुद्धामा ऐतिहासिक फैसला गरेको छ । सर्बोच्चको फैसलासंगै बार्षिक २७ हजार १३७ जना नेपालीले ज्यान गुमाउने प्रमुख कारक सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्वन्धी संसोधित निर्देशिका कार्यान्वयन गर्न बाटो खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ कात्तिक २०७१ का दिन सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने निर्देशिकालाई संसोधन गरेको थियो । तर सो कार्यान्वयन हुने समय नआउँदै सुर्ती उद्योगीहरुले सो निर्देशिका खारेज नै गर्नु पर्ने भन्दै सर्बोच्चमा रिट दायर गरेका थिए । उनीहरुको विरुद्ध अधिवक्ता हुतराज कोइराला र एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले काउन्टर रिट दायर गरेका थिए ।
सो मुद्धाको विषयमा निर्णय लिनका लागि सर्बोच्चले ४० पटक पेशी बोलाउनु परयो । आज आइतबार भने सर्बोच्चले सुर्ती उद्योगको तर्फबाट दायर परफेक्ट व्लेन्ड्सले हालेको रिटलाई खारेज गर्दै अधिवक्ता कोइराला र एक्सन नेपालको तर्फबाट दायर रिटका पक्षमा परमादेश जारी गरेको छ ।
न्यायाधीशद्धय कुमार रेग्मी र डा मनोजकुमार शर्माको इजलासले परफेक्ट व्लेन्डसको तर्फबाट दायर रिट खारेज गर्दै कोइराला र एक्सन नेपालको तर्फबाट अधिवक्ता शर्माले दायर गरेको रिटको पक्षमा आदेश जारी गरेको हो ।
यो आदेशपछि ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, रयार्पस, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशका २०७१’ लागू गर्न बाटो खुलेको छ ।
यो निर्देशिका लागू भएपछि अब सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देशले छोपिनु पर्नेछ ।
सर्बोच्चका प्रवक्ता विमल पौडेलले सुर्ती उद्योगीहरुको तर्फबाट दायर रिट बदर भएको र कोइराला तथा एक्सन नेपालको तर्फबाट दायर रिटमा परमादेश जारी भएको बताए । उनले सर्बोच्चको आदेशले निर्देशिका कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको बताए ।
एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले सर्बोच्चले जन स्वास्थ्यको पक्षमा ऐतिहासिक फैसला गरेको बताए । उनले अब निर्देशिका पूर्ण रुपमा कार्यान्वयन हुनका लागि बाटो खुलेको बताए ।
तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले सुर्तीजन्य पदार्थका नियन्त्रण गर्न भन्दै विसं २०७१ मा निर्देशिका परिवर्तन गराएका थिए ।
परिवर्तित निर्देशिकामा ९० प्रतिशत भागमा चेतावनीमुलक चिंत्रअंकित स्वास्थ्य सन्देश राख्ने व्यवस्था थियो । यो व्यवस्था राखेवापत त्यसबेला नेपालले १ लाख डलरको व्लुम्बर्ग अवार्ड समेत जितेको थियो
सम्पर्क इमेल : [email protected]