ह्याम्समा पनि भयो शल्यक्रिया बिना नै मुटुको भल्भ प्रत्यारोपण
काठमाडौँ, ९ साउन । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा एक बिरामीको शल्यक्रिया नगरी मुटुको भल्भ प्रत्यारोपण गरिएको छ । भारतमा कार्यरत नेपाली चिकित्सक डा अमित चौरसियाको सहयोगमा ह्याम्सको चिकित्सक टोलीले आइतबार एक ७४ बर्षीय पुरुषको ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट भल्भ प्रत्यारोपण गरेको हो ।
‘खुट्टाको रगत नलिबाट क्याथेटर छिराएर मुटुको एओर्टिक भल्भ प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण पछि बिरामीको स्वास्थ्य अवस्था स्थिर छ,’ ह्याम्सले नयाँ प्रकारको उपचार विधि र प्रत्यारोपण पछि बिरामीको अबस्थाबारे ह्याम्सले जानकारी दिएको छ ।
यहि खालको प्रत्यारोपण गत १६ फागुनमा बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्र (गंगालाल अस्पताल)मा भएको थियो । त्यसबेला गंगालाल अस्पतालले ८० बर्षीया महिलामा ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन ९टीएभीआई० विधिबाट भल्भ प्रत्यारोपण गरिएको बताएको थियो ।
ह्याम्सले शल्यक्रिया विना नै मुटुको भल्भ प्रत्यारोपण गर्ने आफू निजी क्षेत्रमा पहिलो र देशमा दोस्रो रहेको दावी गरेको छ ।
ह्याम्समा टीएभीआई विधिबाट भल्भ प्रत्यारोपण गर्न मेडिकल डाइरेक्टर समेत रहेका डा त्योतीन्द्र शर्मा, डा यादवदेव भट्ट, डा रबि बराल, डा मुकुन्द शर्मा, डा मुरारीराज उप्रेती डा सुरज लामिछानेको टोली थियो । यस्तै बिनिता अधिकारी, शान्तासिंह ठकुरी, श्वेता कुँवर, चुनकुमारी पुन, गृष्मा अर्यालले पनि सहयोग गरेका थिए ।
यसैगरी अजय यादव, अविनास गुप्ता शारदा बतास, यमबहादुर कुमाल, महेन्द्र भट्ट, सिर्जना कार्की, प्रकाश तुलाधर, सिर्जना कार्की, देवी रानाले पनि सघाएको उल्लेख गरेको छ ।
सो टोलीलाई भारतबाट आएका डा चौरसियाको सहयोग थियो । डा. चौरसिया भारतमा टीएभीआई गर्ने अब्बल चिकित्सक मानिन्छन् ।
ह्याम्सले शल्यक्रिया विना नै भल्भ परिवर्तन गर्न बिरामीको निको हुने समय तुलनात्मक रुपमा कम हुने र जोखिम समेत घटने भन्दै भविस्यमा यस खालको सेवालाई निरन्तरता दिने बताएको छ ।
सम्पर्क इमेल : [email protected]