काभ्रेमा ३ वर्षपछि भेटियो डेंगु

100
Shares

काभ्रेपलाञ्चोक, २ साउन । काभ्रे जिल्लामा ३ वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमण देखिएको छ ।

२ हप्ताअघि पाँचखालमा देखिएको डेंगुको संक्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो ।

पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेंगुको संक्रमणका कारण धुलिखेल अस्पतालमा २ दिनदेखि उपचारत छन् । पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार संक्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार शुरू गरिएपछि सुधारोन्मुख रहेको छ ।

उनले जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टीमले संयुक्तरूपमा सोमवार पनौतीमा भएको संक्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गर्ने बताए । ‘हाम्रो टीमले रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्नेछ,’ उनले भने ।

केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेंगु रोगको संक्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । ‘धुलिखेल लगायतको स्थानका डेंगु रोगको संक्रमणको केशमा निकै गम्भीरतापूर्वक अनुसन्धान गर्नेछौं,’ कार्यालय प्रमुख डा। पुरुषोत्तम सेढाईंले भने । उनका अनुसार पाँचखालमा २ हप्ताअघि भेटिएका डेंगु संक्रमित जिल्ला बाहिरका हुन् ।

ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगु रोगको संक्रमण भेटिएको थियो । पाँखालमा भेटिएका संक्रमितको काठमाडौंमा उपचार भइरहेको सेढाईंले बताए ।

लामो समयपछि पाँचखालमा पहिलो डेंगु रोगको संक्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको सेढाईंले बताए । उनका अनुसार डेंगु रोगको संक्रमणले महामारीको रूप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको ‘र्‍यापिड टीम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिने छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *