मिर्गौला प्रत्यारोपणमा नयाँ फड्को

क्यान्सर लागेको मिर्गौलाबाट क्यान्सर फालेर प्रत्यारोपण

कसरी भयो क्यान्सर लागेको मिर्गौला प्रत्यारोपण ?
मिर्गौला प्रत्यारोपण पछि फलोअपमा आएका हरिराम डा पुकारचन्द्र श्रेष्ठसंग परामर्श गर्दै

भक्तपुर १८ चैत । मिर्गौला प्रत्यारोपणमा नयाँ नयाँ ‘टेक्निक’अपनाउँदै आएको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो पटक अर्को जटिल प्रत्यारोपणमा सफलता हात पारेको छ ।

उसले क्यान्सर लागेको मिर्गौलाबाट क्यान्सर फालेर सोही मिर्गौला अर्को व्यक्तिमा प्रत्यारोपण गरिदिएको छ । अन्तराष्ट्रिय मेडिकल जर्नलमा यस्तो खालको प्रत्यारोपण विश्वमै अहिलेसम्म ५ वटा मात्रै भएको बताइएको छ ।

कसरी भयो क्यान्सर लागेको मिर्गौला प्रत्यारोपण ?

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा दिनहुँ सयौँ जना बिरामीहरु मिर्गौला प्रत्यारोपण सम्वन्धी जानकारी लिन आई पुग्छन् । यहि हुलमा आए महेन्द्र नगरका मिर्गौला फेल भएका हरिराम महर ।

ट्राफिक प्रहरी जवान महरलाई मिर्गौला दान गर्न उनकी श्रीमती मिना महर तयार थिइन ।

जाँच गर्दा थाहा भयो दुबैको रक्त समूह ओ पोजेटिभ थियो ।

तर, थप जाँचमा मिर्गौला दाता भनिएकी श्रीमती महरको दाहिने मिर्गौलामा सानो मासु पलाएको देखियो ।

रिपोर्ट हेर्नासाथ बरिष्ठ युरोलोजिष्ट प्राडा राकेशकुमार बर्माले यो मासु क्यान्सर हुन सक्ने आँकलन गरे । मिर्गौला प्रत्यारोपणका लागि तयार भएका महर दम्पतीमा निरासा छायो ।

आफूसंग श्रीमती बाहेक अंगदिने मान्छे कोही नभएको भन्दै आएका हरिराम आत्तिनु स्वभाविक थियो । तर, केन्द्रका निर्देशक एवं प्रत्यारोपणविज्ञ डा पुकारचन्द्र श्रेष्ठसंग केही विकल्प अझै बाँकी रहेको भन्दै महर दम्पत्तीलाई ढाडस दिदै थिए । डा श्रेष्ठलाई के थाहा थियो भने क्यान्सर लागेको मिर्गौला झिकेर क्यान्सर लागेको भाग काटेर फाल्ने र बाँकी रहेको मिर्गौलाको भागमा क्यान्सर छैन् भन्ने प्रविधि जाँच (फ्रोजन सेक्सन बायोप्सी) गरी नयाँ मिर्गौला जस्तै बनाएर त्यो मिर्गौलालाई प्रत्यारोपण गर्न सकिन्छ । उनको यो योजना सफल भयो ।

‘महर दम्पत्तीलाई मिर्गौला प्रत्यारोपण गरी जिउने इच्छा छ । तर मिर्गौला दान गर्ने अरु दाता छैन् भनेपछि हामीले यहि मिर्गौला झिक्ने र क्यान्सर लागेको भाग फालेर पनि सोही मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ भन्ने विकल्पबारेमा बतायौँ । त्यसमा कहिलेकाँही दुबैको शरीरमा क्यान्सर रहन पनि सक्छ भनेर सचेत गरायौँ । तर दुबै दम्पत्तीले सो विकल्पमा आफूहरु राजी भएको बताउनु भयो । त्यसपछिले हामीले मिर्गौलाको क्यान्सर भएको भाग काटेर फालिदिएर क्यान्सर छैन भन्ने एकीन गरी सो मिर्गौला प्रत्यारोपण गरिदियौँ,’ डा श्रेष्ठले भने ।

उनका अनुसार गत ९ चैतमा भएको यो प्रत्यारोपणमा पहिले दाताको मिगौला निकालियो र त्यसमा भएको क्यान्सर मिलाएर काटी त्यसको छेउछेउमा क्यान्सर छ कि छैन भनेर जाँच गर्न (फ्रोजन सेक्सन) गर्न नेपाल क्यान्सर अस्पताल हरिसिद्धी पठाइयो । त्यहाँ क्यान्सरका डा हरि ढकालले जाँच गरे । काटिएको मासुमा क्यान्सर भएको र छेउ छेउमा क्यान्सर नभएको (मार्जिन फ्रि) भएको रिपोर्ट दिए । लगत्तै प्रत्यारोपण केन्द्रमा रहेको त्यस मृर्गौलालाई मिलाएर पुनः मृर्गौलाको आकार जस्तै बनाइयो र सोही मृर्गौला ग्रहणकर्ताको शरीरमा राखियो । शल्यक्रिया सफल भयो । मिर्गौला दाता र ग्रहणकर्ता दुबै पाँचौ दिनमा डिस्चार्ज भए ।

महेन्द्रनगर घर भएका हरिकृष्ण महराले अब आफु तन्दुरुस्त भएको र छिट्टै नै आफ्नो ट्राफिक कार्यालय बग्गीखाना काठमाडौँमा गएर देश र जनताको पुन सेवा गर्ने बताए ।

डा श्रेष्ठले विश्वमा यस्तो प्रकृयाबाट प्रत्यारोपण हाल सम्म ५ वटा भएको विभिन्न अन्तराष्ट्रिय जर्नलमा प्रकाशित भएको बताए । उनले आफ्नो केन्द्रले पनि जटिल प्रत्यारोपण गर्न सफल रहेकोमा उपचारमा संलग्न सबै प्रति आभार व्यक्त गरे ।

मिर्गौला प्रत्यारोण फिजिसियन डा कल्पना कुमारी श्रेष्ठले यस खालको मिर्गौला दानबाट प्रत्यारोपण कार्यलाई थप राहत पुग्ने कुरा बताईन् ।

मिर्गौला दाताको अभाव भइरहेको बेला स्मल रेनल मास भएको मिर्गौला होसियारीपूर्वक शल्यक्रिया गरी क्यान्सर फालेर पुनः सोही मिर्गौलालाई प्रत्यारोपण गर्न सकिने र क्यान्सर पुनः दोहोरिने समस्या पनि न्युन हुने हुनाले यस्तो भिन्न किसिमको प्रत्यारोपणको सफलताले नयाँ आयाम थपेको डा श्रेष्ठ बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *