निर्वाचनमा खटिने कर्मचारी र मतदातालाई १० बैशाख भित्र पूर्ण खोप लगाउन निर्देशन
रिक्त ठाँउमा पदपूर्ति, सरुवा तथा पदस्थापनको काम १५ चैत भित्रै गरिसक्न निर्देशन
काठमाडौँ, ९ चैत । स्वास्थ्य मन्त्रालयले १० बैशाख भित्र निर्वाचन सम्वन्धी कार्यमा खटिने जनशक्ति र मतदाताहरुलाई पूर्ण खोप लगाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
गत १६ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय कार्यान्वयन गराउन निर्वाचन आयोगले समेत ध्यानाकर्षण गराएपछि स्वास्थ्यले मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयको निर्देशनमा आगामी १० बैशाख भित्रै निर्वाचनमा खटिने जनशक्ति र मतदातालाई लक्षित गरी विस्तृत अभियान मार्फत कोभिड -१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था मिलाउनु पर्नेछ ।
निर्वाचन आयोगले आगामी ३० वैशाखका दिन एकै चरणमा सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।
त्यसो त स्वयं सरकारले यसअघि नै १८ वर्ष माथिका नागरिकलाई चैत मसान्त भित्रै पूर्ण खोप दिने घोषणा गरिसकेको छ ।
यस्तै निर्वाचन आयोगले आगागी १५ चैत भित्रै स्वीकृत दरबन्दी अनुसारकै तह र पदनाम बमोजिम सरुवा पदस्थापन गर्ने र कुनै पद रिक्त भएमा तत्काल सरुवा र पदस्थापन गर्न समेत निर्देशन दिएको छ । मन्त्रालयले आयोगको सोही सूचनालाई प्रेशण गर्दै मातहतका निकायलाई आवश्यक निर्णय गर्न भनेको छ ।
यस्तै सरकारी सामुदायिक तथा निजी अस्पताल नर्सिङ होम लगायत सबै स्वास्थ्य संस्थाहरु निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउनका साथै जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरु सूचारु अवस्थामा राख्ने तथा जिल्लामा रहेका दमकलहरुलाई चालु हालतमा राख्न भनिएको छ । निर्वाचनको क्रममा आवश्यक परेको वखतमा तत्काल प्रयोग गर्न यस्तो निर्देशन दिइएको हो ।
यस्तै मन्त्रालयले कोभिड -१९ कम भएपनि जोखिम पूर्ण रुपमा हटिनसकेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सम्वन्धीत सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

