तनहुँ : रेडक्रसले एम्बुलेन्स खरिद गर्ने

76
Shares

तनहुँ, ५ चैत । तनहुँको घिरिङ गाउँपालिकास्थित रेडक्रस सोसाइटी भगवतीपुर उपशाखाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। ग्रामीण भेगका सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न लागेको हो ।

उपशाखाले एम्बुलेन्स खरिदका लागिस्थापना गरेको कोषमा रु ४० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु एक लाख २१ हजार ३१६ सङ्कलन भएकोे सभापति मीनबहादुर कार्कीले जानकारी दिए। उपशाखाका पदाधिकारीबाट उक्त रकम सङ्कलन भएको उनले बताए ।

“यस भेगमा एम्बुलेन्स नहुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन्, बिरामी भएका बखत स्वास्थ्य संस्थासम्म जान निजी सवारी साधनमा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता छ,” उनले भने। एम्बुलेन्स खरिदका लागि गाउँपालिकासँग पनि आर्थिक सहयोग माग गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानालाई भेटी रु १० लाख उपलब्ध गराउन आग्रह गरिएको सभापति कार्कीले बताए। उपशाखाले कोषाध्यक्ष हेमबहादुर थापाको संयोजकत्वमा रकम सङ्कलनका लागि समिति गठन गरेको छ। “सेवाको क्षेत्र वृद्धि गरी आजीवन सदस्य थप गर्न र रकम सङ्कलन अभियानलाई पनि तीव्रता दिएका छौँ,” उनले भने ।

रेडक्रसका विभिन्न उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न थालेका छन्। यसअघि व्यास नगरपालिका–१० दुम्सीकोट उपशाखाले पनि जनस्तरबाट रकम सङ्कलन गरी एम्बुलेन्स सञ्चालनमा ल्याइसकेकोे छ। विसं २०७७ भदौ १९ गतेदेखि थालिएको अभियानमार्फत रु २९ लाख १४ हजार २१९ सङ्कलन भएकामा रु १३ लाखको लागतमा एम्बुलेन्स खरिद गरिएको दुम्सी उपशाखाका सभापति रामदत्त पौडेलले जानकारी दिए ।

“बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महङ्गो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पतालसम्म जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ,” उनले भने, “यो अभियानले सबै वडावासीलाई सहज भएको छ ।”

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *