जलविन्दु सचेतना सप्ताह २०७८ :

‘सुन्दर संसार हेर्नको निम्ति आफ्नो दृष्टि जोगाउनुहोस्’

काठमाडौँ, २३ फागुन । ‘सुन्दर संसार हेर्नको निम्ति आफ्नो दृष्टि जोगाउनुहोस्’ भन्ने नाराका साथ तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको नेपाल जलविन्दु आँखा क्लिनिकले आइतबारबाट २० औँ जलविन्दु सचेतना सप्ताह २०७८ मनाउन थालेको छ ।

आगामी २८ फागुनसम्म चल्ने यो सप्ताहमा देशका विभिन्न भागबाट आएका आँखाका बिरामीहरुको निशुल्क स्वास्थ्य परीक्षण र जलबिन्दु सम्बन्धि विभिन्न जानकारी तथा परामर्श प्रदान गरिनेछ बताइएको छ

प्रतिष्ठानका अनुसार सन् २००४ देखि शुरु भएको यस साताव्यापी सचेतना कार्यक्रममा अहिलेसम्म करिव ६ हजार सेवाग्राहीहरुले सेवा लिइसकेका छन् । यस्तै बार्षिक रुपमा चार पटक जलविन्दु सम्बन्धि बिरामीलाई शिक्षा दिने उद्देश्यले कक्षा संचालन गर्दै आएको छ । जलबिन्दुको बिरामीले कम्तिमा ६–६ महिनामा जाँच गुर्नपर्ने हुन्छ ।

अशक्त तथा आर्थिक अवस्थाकोे कारणले गर्दा उपचारबाट बञ्चित हुन परेको बिरामीहरुको प्रतिष्ठानकै जलविन्द सपोर्ट ग्रुपले निःशुल्क जाँच तथा उपचार गर्ने गरेको समेत प्रतिष्ठानले उल्लेख गरेको छ ।

के हो जलविन्दु ?
प्रतिष्ठानको जलविन्दु युनिटका प्रमुुख तथा जलविन्दु विशेषज्ञ डा. इन्दिरा पौडलेका अनुसार , “ हाम्रो आँखाको गेडी भित्र मध्य भागमा एक प्रकारको पानी जस्तो तरल पदार्थ (एकयुस ह्युमर) उत्पन्न भइरहन्छ । यदि एकयुसको उत्पादन मात्रा बढी भयो वा प्रवाह तथा निकास मार्गमा कुनै अवरोध भएका निकास हुन नसकेको तरल पर्दाथ आँखाको गेडी भित्र नै थुनिइ आँखा भित्रको चापमा वृद्धि भई जलबिन्दु भन्ने रोग लाग्दछ ।

आँखा भित्रको चापमा वृद्धि भई दृष्टि नशालाई नराम्रो असर पारी दृष्टि क्षमतालाई पछिबाट उपचारै नलाग्ने गरी दृष्टिविहिन बनाउने रोगलाई जलविन्दु भनिन्छ ।

विश्वभरिमै दृष्टिविहिन गराउने प्रमुख रोगहरु मध्ये यो दोश्रोमा पर्दछ ।

यो रोग विशेष गरेर परिवारमा कसैलाई जलबिन्दु छ भने वंशाणुगत रुपमा, ४० वर्ष उमेर भन्दा माथिकालाई, बढी पावर र माइनस पावर भएकोलाई, आँखामा चोट लागेको छ भने त्यस्ता व्यक्तिहरुलाई जलविन्दुको खतरा हुन सक्छ । धेरै लक्षण नहुने र सुटुक्क थाहा नै नदिई दृष्टि चोरेर लाने भएर यसलाई ‘दृष्टिको मौन चोर’ पनि भन्ने गरिन्छ ।

अन्तराष्ट्रिय रुपमा १२ मार्च लाई विश्व जलबिन्दु दिवसको रुपमा मनाइन्छ भने मार्चको दोश्रो साता लाई जलबिन्दु सप्ताहको रुपमा मनाईन्छ । नेपालमा सन् २०११ मा गरिएको रेपिड एसिसमेन्ट ‘अभ्वाइडेवल व्लाइन्डनेश सर्भे’का अनुसार कुल अन्धोपन मध्ये ५ प्रतिशत जलविन्दुको कारणले हुने गरेको देखाएको छ ।

यदि समयमै यसको पहिचान भई उपचार गर्न सकेमा रोकथाम गर्न सकिन्छ । ढिलो भएका दृष्टि नै गुम्ने सम्भावना रहन्छ । त्यसैले समयमै जाँच तथा परिक्षण गर्नुपर्दछ ।

हाल जलविन्दुको अन्तराष्ट्रिय स्तरको सम्पूर्ण उच्च प्रविधिको उपचारहरु तिलगंगामा उपलब्ध छन । यस सम्बन्धि थुप्रै अध्ययन अनुसन्धानहरु भइरहेका छन् । साथै यस सम्बन्धि विभिन्न मुलुकबाट तालिम तथा शिक्षाको लागि मेडिकल विद्यार्थीहरु आउने गरेका छन् ।

तथ्यमा जलविन्दु रोग :

  • जलविन्दु पुनःदृष्टि प्राप्त गर्न नसकिने अन्धोपना हो ।
  • ४० वर्ष माथिको उमेर समुहमा प्रत्येक २०० मा १ जनालाई जलविन्दु हुन्छ जुन ८० वर्षको उमेर भित्रमा प्रत्येक ८ जनालाई हुने गर्दछ ।
  • वृद्ध, महिला र अल्पसंख्यक समुह यसको बढी जोखिममा छन् ।
  • परिवारमा कसैलाई जलविन्दु छ भने वंशानुगत रुपमा परिवारको सदस्यलाई हुने सम्भावना अधिक हुन्छ ।
  • सन् २०४० सम्म ११ करोड १८ लाखलाई जलविन्दु हुने अनुमान गरिएको छ ।
  • ९० प्रतिशत पत्ता नलागेको अवस्थामा रहेको छ ।
  • १ अर्ब आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *