कोभिड १९ विरुद्धको खोपसम्बन्धी जोखिम, सञ्चार तथा सामुदायिक सहभागिताबारे प्रदेशसभाका सभामुखसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न
पोखरा, ८ फागुन । कोभिड – १९ विरुद्धको खोपसम्बन्धी जोखिम, सञ्चार तथा सामुदायिक सहभागिताबारे प्रदेशसभाका सभामुखहरुसंग गरिएको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सभाको संयोजन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायको आयोजना र नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा प्रदेश सभाका सदस्यहरूका लागि गण्डकी प्रदेशको पोखरामा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रदेश सभाका सभामुख, उपसभामुख र सचिवहरूको उपस्थिति थियो ।
कार्यक्रममा खोप लिने क्रम बढाउन, स्वास्थ्य तथा सामाजिक उपायहरूको पालनाका सम्बन्धमा सहभागिता बढाउनु र सम्बन्धित निर्वाचन क्षेत्रमा स्वास्थ्य आपत्कालीन अवस्थामा सही तथा वैज्ञानिक जानकारी र विधिहरु प्रसार गर्न सांसदहरूको भूमिकाका विषयमा प्रकाश पारिएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले सभापतित्व गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले स्वागत गर्दै यस कार्यक्रमको उद्देश्यका बारेमा जानकारी दिदै नेपालमा कोभिड(१९ का सन्दर्भमा प्रस्तुतिकरण राखेकी थिईन् ।
स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रका प्रमुख तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका, सहप्रवक्ता, डां समीरकुमार अधिकारीले कार्यक्रम सञ्चालन तथा छलफल कार्यक्रमको सहजिकरण गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरू तथा विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरूले हालै जारी गरिएको जोखिम सञ्चार तथा सामुदायिक सहभागितसम्बन्धी निर्देशिका, कोभिड(१९ विरुद्धको खोप रणनीति, र जनस्वास्थ्य तथा सामाजिक उपायहरूसम्बन्धी वैज्ञानिक विषयमा सहभागीहरुको अभिमुखीकरणसहित विभिन्न विषयहरूमा प्राविधिक सत्रहरू सञ्चालन गरेका थिए ।
विश्व स्वास्थ्य संगठनका वरिष्ठ परामर्शदाता डा. सुनूर वर्माले कोभिड–१९ जस्तो सङ्कटको समयमा जनप्रतिनिधिहरूले सार्वजनिक सञ्चार गर्दा अपनाउनुपर्ने सतर्कता र असल अभ्यासहरूका बारेमा चर्चा गरेका थिए । त्यसैगरी, राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक श्री सुनिलराज शर्माले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट हालै जारी भएको जोखिम सञ्चार तथा सामुदायिक सहभागिता निर्देशिका २०७८ को बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त निर्देशिकाले जनप्रतिनिधिहरूलाई कोभिड–१९ लगायतका सङ्कटको अवस्थामा सामुदायिक सहभागिताको संयन्त्रलाई थप सबल बनाउने प्रबन्धहरू उपलब्ध गराएको छ ।
कोभिड–१९ महामारीको सन्दर्भमा जनस्वास्थ्य मापदण्डहरूसँग सम्बन्धित विज्ञानका विषयमा विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका आपत्कालीन कार्यक्रम प्रमुख डा. आलिसन गोकोटानोले प्रस्तुति दिएका थिए ।
कार्यक्रमको अन्तिम कार्यपत्र प्रस्तुति राख्दै विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालय, खोप कार्यक्रमका मेडिकल अफिसर डा. विनोद बुराले कोभिड–१९ विरुद्धको खोप अभियानलाई राष्ट्रव्यापी बनाउनमा जनप्रतिनिधिहरूको भूमिकाको महत्वको विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रमको अन्तिम औपचारिक सत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखामातहतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रणनीतिका बारेमा प्रस्तुती गरेका थिए ।
उक्त कार्यक्रममा प्रदेश १ सभाका सभामुख प्रदिप कुमार भण्डारी, मधेश प्रदेश सभाका सभामुख सरोज कुमार यादव, बागतमी प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठ, गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्ती, कर्णली प्रदेश सभाका सभामुख राजबहादुर शाही र सूदुर प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाको सभागिता थियो ।
यसैबीच कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले कोभिड-१९ महमारीको शुरुवातमा यो महामारी स्वास्थ्य क्षेत्रमा मात्रै सीमित रहन्छ भन्ने अनुमान समयको क्रमसँगै असत्य सावित भएको बताए । उनले महामारीले हामी सबैलाई समान रूपमा छोएको भन्दै यसको प्रतिकार्य गर्नु सबैको दायित्व भएको बताए ।
विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख डा. राजेश संभाजीराव पाण्डवले कोभिड(१९ को महामारी विभिन्न पक्षहरूको सम्बोधनका लागि समाजका सबै तप्कामा नेतृत्व कति आवश्यक हुन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । उनले गत नोभेम्बरमा अन्तरसंसदीय युनियनले खोप समताको समर्थनमा पारित गरेको ऐतिहासिक प्रस्तावका बारेमा प्रकाश पार्दै उक्त प्रस्तावको कार्यान्वयनमा सांसद्हरूको भूमिका विषयमा जोड दिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादवले छलफलका क्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गरेका थिए ।
कार्यक्रममा सहभागीहरुको तर्फबाट कोभिड -१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धमा प्रतिवद्धता समेत जाहेर भएको थियो । यस पछि अर्को कार्यक्रम राष्ट्रिय सभाका सदस्यहरूसँग काठमाडौंमा आयोजना गरिने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]