सर्लाहीमा छात्रछात्रालाई खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

84
Shares

सर्लाही, १७ माघ । सर्लाहीका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार विद्यालयका पठनपाठन भने माघ मसान्तसम्म नै बन्द हुनेछ ।

जिल्लामा एक लाखभन्दा बढी विद्यार्थीले मोर्डना खोपको पहिलो डोज लगाएका छन् । सबै पालिकामा खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा। नवलकिशोर झाले राससलाई बताए ।

डीसीसीएमसीको बैठकले कतिपय निजी विद्यालयले अहिले पनि पठनपाठन गराइराखेकाले यसमा निगरानी गर्ने, आमसभा, जुलुस, भेला तथा धेरै मानिस भीडभाड हुने कार्यक्रम अर्को व्यवस्था नहुञ्जेल सञ्चालन नगर्नेसमेत निर्णय गरेकोे प्रजिअ गौतमले जानकारी दिए ।

जिल्लाका सामुदायिक विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका ८८ हजार नौ विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका निमित्त प्रमुख सुनिल कुशवाहले बताए । उनका अनुसार जिल्लाका सामुदायिक, संस्थागत, धार्मिक तथा अन्य विद्यालय गरी कूल ६७५ विद्यालयले आफ्ना विद्यार्थीले खोप लगाउन फारम भरेका र सोहीअनुसार खोप लगाइने छ ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *