आज र भोली २३ लाख ४० हजार डोज मोडर्ना खोप आउँदै

96
Shares
फाइल तस्विर

काठमाडौँ, १७ माघ । कोभिडविरुद्धको खोप अभियान अन्तरगर्त सरकारले सोमबार र मंगलबार (आज र भोली) थप २३ लाख ४० हजार डोज मोर्डना खोप प्राप्त गर्दैछ ।

विश्व बैंकको सहुलियत ऋण सहयोगमा कोभ्याक्समार्फत खरीद गरेको ४० लाख डोज मध्ये पछिल्लो खेपको रुपमा आज र भोली गरी २३ लाख ४० हजार डोज खोप आउन लागेको हो ।

४० लाख डोजमध्ये १६ लाख ६० हजार डोज गत १० माघमै नेपाल आइसकेको छ । बाँकी खोप ११ माघमा आउने बताइएपनि तालिका पछि सरेको थियो ।

‘अहिलेसम्मको तालिका अनुसार आज बेलुका र भोली विहान गरेर २३ लाख ४० हजार डोज मोडर्ना खोप आउँदै छ । यो खोप गत ११ माघमै आउने भनिएको थियो तर अन्तिम अवस्थामा केही पछि सरयो,’ स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले भने ।

सरकारले अहिले आउने मोडर्ना खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्ने बताएको छ ।

यसअघि ल्याइएका मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिइएको थियो । यो खोप पनि सोही उमेर समूहका खोप लगाउन बाँकी बालबालिकालाई दिईने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ ।

त्यसो त यसअघि फाइजर खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो । तर अब सो खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना अघि सारिएको छ ।

‘फाइजर हामी ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना बनाएका छौँ । त्यसैले अब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना नै दिने नीति हो,’ स्वास्थ्य सचिव डा रोशन पोखरेलले भने ।

नेपालमा कोभिडविरुद्ध भेरोसेल, कोभिसिल्ड, एस्टाजेनेका, जानसन, फाइजर, मोडर्ना लगायतका खोपहरु लगाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *