ट्रान्सफ्याटलाई उन्मुलन गर्ने नीति बनाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाको जोड

काठमाडौँ, १ माघ । नसर्ने रोगको एक प्रमुख कारक ट्रान्सफ्याटयुक्त खानेकुरा नियन्त्रणका लागि सरकारले बनाएको नीतिलाई थप संसोधन गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरोकारवालाले जोड दिएका छन् ।

शुक्रबार नेपाल हृदयरोग निवारण प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको ट्रान्सफ्याट उन्मुलन सम्वन्धी नीतिलाई गतिका साथ कार्यान्वयनमा लैजानका लागि नेपालमा गरिएका उत्कृष्ठ अभ्यास विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष समेत रहेका राष्ट्रिय परियोजना निर्देशक प्राडा प्रकाशराज रेग्मीले ट्रान्सफ्याटले मानव स्वास्थ्यमा पार्ने असर र नियन्त्रणका लागि भैरहेका प्रयासका बारेमा जानकारी दिएका थिए । उनले ट्रान्सफ्याट युक्त खानाको कारण विश्वमा ५ लाख बढी मानिसको बर्षेनी ज्यान जाने गरेको तथ्य पेश गर्दै विश्व स्वास्थ्य संगठनले सन् २०२३ सम्ममा विश्वबजारमा उपलव्ध गराईने खाद्यवस्तुलाई औद्योगित रुपमा उत्पादन गरिएको ट्रान्सफ्याटमुक्त गर्ने लक्ष्य तय गरेको जानकारी दिए । उनले यसका लागि प्रतिष्ठानले गरिरहेका कामका बारेमा समेत चर्चा गरेका थिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा उमाशंकर प्रसादले ट्रान्सफ्याट युक्त खाद्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने भन्दै त्यसका लागि आयोगको तर्फबाट गरिएका प्रयासका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा मनिता जोशीले ट्रान्सफ्याट युक्त खाद्यवस्तु नियन्त्रणका लागि भइरहेका प्रयासबारेमा जानकारी गराएकी थिईन । उनका अनुसार अहिले खाद्य पदार्थ उत्पादन गर्ने ९२ देखि ९५ प्रतिशत उद्योगहरुले लाइसेन्स लिएका छन् । त्यसमा ट्रान्सफ्याट नियन्त्रणका लागि मापदण्ड समेत तोकिने उनले जानकारी दिईन । उनले नीतिगत कुरासंगै व्यवहारिक रुपमा मान्छे आफै सचेत भएर शरीरलाई हानी हुने ट्रान्सफ्याटयुक्त खानेकुरालाई निषेध गर्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा डा अरुणा उप्रेतीले बजारमा छ्यापछ्याप्ती ‘पत्रु खाना’ उपलव्ध हुने गरेको र ती खानामा अति खराव चिल्लो पदार्थ (ट्रान्सफ्याट) हुने गरेको भन्दै यसप्रति सबै पक्ष सचेत र जागरुक हुनुपर्ने बताइन ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनबाट प्रतिनिधित्व गरेकी डा लोनिम दीक्षितले ट्रान्सफ्याट नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले बनाएका नीतिगत कार्यमा डव्लुएचओले प्राविधिक रुपमा सघाउने गरेको बताइन । उनले डव्लुएचओ अहिले ६ वटा रणनीतिक कार्यहरु (रिप्लेस ट्रान्सफ्याट) पनि तय गरि कार्यक्रम अघि बढाएको जानकारी दिईन ।

स्वास्थ्य मन्त्रालयका सहसचिव यशोधा अर्याल, उपसचिव डा गुणनीधि शर्मा, विभागका डा भक्त केसी लगायतले ट्रान्सफ्याटका विषयमा भएका नीतिगत र व्यवहारिक प्रयासका बारेमा जानकारी गराएका थिए ।

यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले ट्रान्सफ्याटका सम्वन्धमा आफ्नो कार्यालयबाट पनि अनुसन्धानका कार्यहरु भइरहेको बताउँदै बजारमा आउने खाद्य पदार्थहरुमा तोकिएको भन्दा धेरै मात्रामा ट्रान्सफ्याट भएको पाइएको बताए । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून मन्त्रालयका प्रतिनिधिहरुले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा प्रतिष्ठानको ट्रान्सफ्याट उन्मुलन गर्न अघि बढाएको परियोजनाका निर्देशक कार्डियाक सर्जन डा प्रेमराज बैद्यले ट्रान्सफ्याटबाट हुने स्वास्थ्य समस्या र यसलाई उन्मुलन गर्न पर्ने कारणका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमको सभापतित्व प्रतिष्ठान निवर्तमान अध्यक्ष दिपेन्द्रपुरुष ढकालले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *