विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाईदै

काठमाडौँ, २ मंसिर । एन्टीमाइक्रोबियल्सको प्रयोग सावधानी पूर्वक गरौं” भन्ने मुल साथ आज देखि विश्व एन्टीमाइक्रोवियल सचेतना सप्ताह मनाईदै छ ।

विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन र विश्व पशु स्वास्थ्य संगठनको संयुक्त आह्वानमा सन् २०१५ देखि हरेक वर्ष नोभेम्बर महिनामा साप्ताहिक रुपमा यो सप्ताह मनाइदै आएको हो ।

यतिवेला एन्टीमाइक्रोबियल रेजिस्टेन्स एक विश्वव्यापी जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ । यसको कारण वर्षेनी करिब सात लाख मानिसहरुको मृत्यु भैरहेको अनुमान विश्व स्वास्थ्य सङ्गठन (डव्लुएचओ) ले गरेको छ ।

डव्लुएचओले यसको नियन्त्रणको लागि ठोस कदमहरु नचाल्ने हो भने मृत्यु हुनेको संख्या बढेर सन् २०५० सम्ममा बार्षिक एक करोड पुग्ने र करीव एकसय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने चेतावनी समेत दिएको छ ।

विकासोन्मुख देशमा सबैभन्दा ठूलो असर

एन्टीमाइक्रोबियलको समुचित प्रयोग गरिएन भने यसको सबैभन्दा ठूलो असर नेपालजस्तो विकासोन्मुख देशहरुमा पर्नेछ विज्ञहरुले बताएका छन् ।

मानिस, पशुपंक्षी तथा बोट विरुवाहरुमा सूक्ष्मजीवाणुहरुबाट हुने संक्रमणको रोकथाम तथा उपचारका लागि महत्वपूर्ण मानिएको एन्टीमाइक्रोबियल औषधिहरुको समुचित ढंगले प्रयोग नगरेको कारणले नै सूक्ष्मजीवाणुहरुले एन्टीमाइक्रोबियल रेजिस्टेन्स विकास गरेको हो भन्दै उनीहरुले यसकै कारणले ती औषधिहरु कम प्रभावकारी हुँदै गएको बताएका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको सहकार्यमा बिभिन्न कार्यक्रमहरु गरी आज देखि एन्टीमाइक्रोबियल सचेतना सप्ताह संचालन हुने भएको छ ।

यस सप्ताहको मुख्य लक्ष्य विश्वमा एन्टीमाइक्रोबियल रेजिस्टेन्सको बारेमा सचेतना फैलाउनु र आम सर्वसाधारण, स्वास्थ्यकर्मीहरु, कृषकहरु, पशु स्वास्थ्यकर्मीहरु तथा नीति निर्माताहरुलाई भविष्यमा थप औषधि प्रतिरोधी संक्रमणहरुको उदय तथा फैलावट रोक्नको लागि असल अभ्यास अपनाउन प्रोत्साहन गर्नु रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस वर्षको मूल विषय “सचेतना फैलाउँदै प्रतिरोध रोकौं” र मूल नारा “एन्टीमाइक्रोबियल्सको प्रयोग सावधानी पूर्वक गरौं” भन्ने राखिएको छ ।

सचेतना सप्ताहका मुख्य उदेश्य के हो ?

स्वास्थ्य मन्त्रालयका सचेतना सप्ताहको मुख्य उदेश्य तीन बुदामा राखेको छ ।

१. “एक स्वास्थ्य” अवधारणा मार्फत एन्टीमाइक्रोबियल रेजिस्टेन्स एक विश्वव्यापी समस्याको रुपमा पहिचान गराई यसको रोकथाम तथा नियन्त्रणको लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य तथा वातावरणको क्षेत्रलाई संलग्न गराउनु

२. एन्टीमाइक्रोबियल रेजिस्टेन्ससंग जुझ्नको लागि व्यक्ति, सरकार, नागरिक समाज, स्वास्थ्यकर्मीहरु, पशु स्वास्थ्यकर्मीहरु, वातावरण विज्ञहरु, कृषि विज्ञहरु, खाद्य विज्ञहरु, संचारकर्मीहरुको भूमिकाको पहिचान गरी सोको प्रवर्द्धन गर्नु

३. सम्बन्धित सबै क्षेत्रहरुबाट एन्टीमाइक्रोबियल औषधिहरुको समुचित प्रयोगको लागि व्यवहारमा परिवर्तन ल्याउने र सानो प्रयासले पनि धेरै ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश प्रवाह गर्ने भन्ने रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *