नेपालमा भिटामिन ‘ए’ कार्यक्रम र यसको महत्व

- नेपाली हेल्थ
– केदारराज पराजुली

कुनैपनि मुलुकको पोषण अवस्थाले उक्त मुलुकको समग्र विकास र समृद्धिलाई समेत इंगित गर्दछ ।

नेपालमा मातृ, बाल तथा नवजात शिशु मृत्युदर न्युनीकरणका लागि पोषणसम्बन्धी विभिन्न कार्यक्रम तथा सेवाहरुको ठूलो योगदान रहंदै आएको छ । तथापी पुड्कोपन, ख्याउटेपन, रक्तअल्पता, उमेर अनुसार तौल कम हुनेजस्ता न्यून पोषणसम्बन्धी समस्याहरु अपेक्षित दरमा घट्न सकिरहेको छैन ।

नेपालमा बाल मृत्युदरको करिब ५३ प्रतिशत हिस्सा कुपोषणले ओगटेको पाईन्छ ।

हाम्रो शरीर सञ्चालन गर्न र स्वस्थ भएर बाच्न विभिन्न प्रकारका पोषक तत्वहरु आवश्यक पर्दछ ।

भिटामिन ‘ए’ हाम्रो शरीर स्वस्थ राख्नका लागि नभइ नहुने पौष्टिक तत्वहरू मध्येको एउटा सूक्ष्मपोषक तत्व हो । खास गरी आँखा स्वस्थ राख्न र रोगप्रतिरोधी क्षमताको मजबुतीका लागि यो अत्यावश्यक हुन्छ ।

भिटामिन ‘ए’ का कार्यहरु र स्रोत :
भिटामिन ए हाम्रो शरीरका लागि अत्यावश्यक भिटामिन हो । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाई व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतालाई अभिवृद्धि गराउछ । भिटामिन ए को आवश्यक मात्रामा खानाबाट उपभोग गरेमा वा अपुग भएको अवस्थामा भिटामिन ए क्याप्सुल खुवाउदा बाल मृत्युदर कम गराउन ठुलो योगदान पुग्ने अध्ययनहरुले पुष्टि गरेका छन् ।

भिटामिन ए ले खासगरि हाम्रो शरीरमा आँखा स्वस्थ राख्न मद्दत गर्दछ भने शरीरलाई संक्रमणबाट जोगाउँछ र चांडै मृत्यु हुनबाट बचाउछ ।

स्वस्थ छाला र तन्तुको विकास गर्न र रातो रक्तकोष बनाउने कामका साथै बालबालिकाको समग्र वृद्धि र विकास गर्न भिटामिन ए नभइ हुदैन ।

कलेजो, अण्डा, मासु, माछा, तेल, दूध र दूधको उत्पदान, गाढा हरियो सागपात, पालुङ्गो पहेलो फलफुल, पाकेको मेवा, आँप, फर्सी र गाजर, भिटामिन ए फोर्टिफाइड खाना प्रमुख श्रोत हुन । यी खानाबाट शरीरको भिटामिन ए को आवश्यकता पुरा नभएको खण्डमा वा नहुने खतरा भएको जनसंख्यालाई भिटामिन ए क्याप्सुल खुवाउने गरिन्छ ।

भिटामिन ए चिल्लो पदार्थमा घुल्ने प्रकतिको भिटामिन हो । अतः हरियो सागपातलाई तेलमा पकाएर खाँदा हाम्रो शरीरले भिटामिन ए बढी शोसन गर्न सक्छ ।

भिटामिन ‘ए’ को कमीबाट हुन सक्ने समस्याहरु : 
भिटामिन ‘ए’ को कमी हुनु भनेको शरीरलाई आवश्यक पर्ने मात्रामा भिटामिन ए आपूर्ति नहुन हो । यो तत्व शरीरमा आफै बन्दैन । हामीले भिटामिन ‘ए’ पाइने खानेकुराहरू खाएर त्यसैबाट शरीरलार्ई आवश्यक पर्ने भिटामिन ‘ए’ प्राप्त गर्नु पर्दछ ।

मानिसको उमेर र शारीरिक अवस्था अनुसार शरीरलाई आवश्यक पर्ने भिटामिन ‘ए’ को मात्रा पनि फरक फरक हुन्छ । उपयुक्त मात्रामा आपूर्ति नभएमा भिटामिन ‘ए’ को कमी हुन्छ ।

भिटामिन ‘ए’ को कमी भएमा एकातिर मानिसलाई रोग लाग्न सक्छ भने अर्कोतिर रोगी मान्छेको शरीरमा भिटामिन ‘ए’ को कमी हुन्छ । यो चक्रलाई अवरुद्ध गर्न शरीरलाई आवश्यक पर्ने मात्रामा भिटामिन ‘ए’ को आपूर्ति हुनुपर्दछ ।

भिटामिन ‘ए’ को कमी भएमा शरीरको प्रतिरक्षात्मक शक्ति पनि कम हुन्छ र रोग लागिरहने हुन्छ । खासगरी बालबालिकालाई लाग्ने त्यस्ता रोगहरूमध्ये दादुरा, दीर्घ झाडापखाला र न्यूमोनिया हुन् । यी रोगहरूको समयमै उपचार नगरेमा शरीरमा भिटामिन ‘ए’ को अत्यधिक कमी हुँदै जान्छ । जसका कारण शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्नुको साथै अन्धो हुने र मर्ने सम्भावना पनि धेरै हुन्छ ।

भिटामिन ‘ए’ को कमीले आँखामा लाग्ने रोगहरूमध्ये जेरोप्थाल्मिया (नेत्रशुष्कता) एक हो । जेरोप्थाल्मियालाई लक्षणहरूको समूह पनि मानिन्छ । खासगरि अध्यारोमा आँखा नदेख्ने, आँखामा फुलो पर्ने, कनिर्या सुख्खा हुनेजस्ता आँखाका समस्याहरु भिटामिन ए को कमीका कारण देखा पर्दछन् ।

भिटामिन ए को कमी हुनबाट बचाउन नेपाल सरकारले गरिरहेका प्रयासहरु :
भिटामिन ए को प्रमुख र दिगो स्रोत भनेको भिटामिन ए पाइने खानेकुराको नियमित उपभोग नै हो । तर खाद्य विविधता कमजोर रहेको अवस्थामा भिटामिन ए को कमी हुनसक्ने जोखिममा रहेका समूहहरु खासगरि ६ देखि ५९ महिनाका बालबालिकाहरुको लागि भिटामिन ‘ए’ को क्याप्सुल खुवाउन जरुरी हुन्छ ।

बालबालिको सूक्ष्मपोषण स्थितिलाई मजबुद बनाइ दादुरा तथा झाडापखालाजस्ता रोगबाट बचाउने तथा समग्र बाल मृत्युदर कम गर्न यस उमेर समूहका बालबालिकाहरुलाई नेपालमा विस २०५० देखि भिटामिन ए क्याप्सुल वितरण गर्ने कार्यक्रम सञ्चालनमा रहेको छ । बैशाख र कार्तिकमा गरि बर्षको दुई पटक ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र १२ महिनादेखि ५९ महिनाका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने कार्य नेपाल सरकारले निरन्तर गरिरहेको छ ।

त्यस्तै सुत्केरी महिलालाई बच्चा जन्मेको ४२ दिनभित्रमा एक क्याप्सुल भिटामिन ए दिने, भिटामिन ए को कमीका कारण हुने स्वास्थ्य समस्याको उपचार र दादुराजस्तै संक्रमणमा भिटामिन ए क्याप्सुल खुवाउनेजस्ता कार्य पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुदै आइरहेको छ ।

यस बर्षको कार्तिक महिनामा सञ्चालन गर्नु पर्ने भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम यहि कार्तिक ७ र ८ गते देशैभरी एकैसाथ हुन गइरहेको छ । यस बर्ष करिब २७ लाख बालबालिकाले भिटामिन ए क्याप्सुल र २४ लाख बालबालिकाले जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ । यस कार्यका लागि देशैभरी करिब ५२,००० जना महिला स्वास्थ्य स्वयम् सेविका, १५,००० स्वास्थ्यकर्मी र पोषणका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका कर्मचारीहरु परिचालन हुनेछन् ।

हाल कोभिड १९ संक्रमणको जोखिम कायमै रहेको अवस्थामा भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने महिला स्वास्थ्य स्वयम् सेविका, बच्चा र बच्चाका अभिभावक सबैले अनिवार्य मास्क लगाउने, महिला स्वास्थ्य स्वयम् सेविकाले एक पटक क्याप्सुल वा कुनै वस्तु वा बच्चालाई छोइसकेपछि स्यानिटाइजर लगाइ हाल्ने, भिटामिन ए खुवाउने केन्द्रमा सावुन पानीले हात धुने स्थानको व्यवस्था गर्ने, पटक पटक हात धोइरहने जस्ता सावधानीहरु अपनाउन जरुरी छ ।

त्यस्तै भिडभाड हुन नदिने, कम्तिमा २ मिटरको भौतिक दुरी अनिवार्य कायम गर्ने, बिरामी, ज्वरो आएका वा कोभिड १९ को मिल्दोजुुल्दो लक्षण देखिएका बच्चा, महिला स्वास्थ्य स्वयम् सेविका वा अन्य कसैलाई पनि केन्द्रमा आउन नदिने जस्ता संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानी सबैले अनिवार्य अपनाउनु पर्दछ ।

कुनैपनि मुलुकको विकास र समृद्धि मापन गर्न कुपोषणसम्बन्धी सुचकहरुको ठुलो भुमिका हुन्छ ।

नेपालमा कुपोषणको दरमा सुधार आइरहेको भएता पनि अझैपनि धेरै कार्य गर्न बाकि छ । बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम पनि कुपोषण न्यूनीकरण गरिने प्रमुख कार्य हो ।

भिटामिन ए को कमीबाट बचाउदै बाल मृत्युदरमा समेत कमी ल्याउन सञ्चालन गरिने यस अभियानमा सबै जनाले आफ्नो ठाँउबाट सहयोग गर्न समेत अपिल गर्दछु ।

#पराजुली स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्तको पोषण शाखा प्रमुखको रुपमा कार्यरत छन् ।

 


Facebook Comment


थप समाचार