विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको बैठक शुरु

काठमाडौं २१ भदौ ।  विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एशियाको चौहत्तरौं सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक सुरु भएको छ । पाँच दिनसम्म चल्ने बैठक आज विहान पौने १० बजेबाट बैठक सुरु भएको हो ।

बैठकको उदघाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना मन्तव्य दिएका थिए । उनले कोभिड महामारीको वर्तमान अवस्थालाई ध्यान दिदै खोप दिएर जनतालाई बचाउनु अहिलेको प्राथमिकता रहेको बताए । उनले खोपको सहज उपलव्धताका लागि मिलेर पहल गर्न समेत दक्षिणपूर्वी एशियाली मुलुकका प्रतिनिधिसंग आग्रह गरे । कोभिडले जीविकोपार्जन, अर्थव्यवस्था, सार्वजनिक स्वास्थ्य र सामाजिक सुरक्षा प्रणालीमा गम्भीर असर पारेको भन्दै प्रधानमन्त्री देउवाले भने, ‘जबसम्म सबै सुरक्षित हुँदैनन् कोही पनि सुरक्षित हुँदैनन् त्यसका लागि अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रयासहरु महत्वपूर्ण छन्।’

यसैगरी विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेससले बैठकलाई शुभकामना दिदै महामारीमा सबै देश मिलेर रोकथामका लागि कार्य गर्नुपर्ने , नियम बनाउनुपर्ने र महामारी फैलन नदिनका लागि एक अर्का देशबीच समन्वय गरी अघि बढ्नु भन्दै विश्वव्यापी सहयोगको आवश्यकता रहेको बताए ।

क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले कोभिड महामारीमा प्रभावकारी खोप भएपनि त्यसको उपलव्धता पर्याप्त नभएको भन्दै चिन्ता व्यक्त गरिन । उनले महामारीमा देखिएका नयाँ नयाँ भेरियन्टले समस्या पैदा गरेको समेत सुनाईन । कार्यक्रममा अहिले पनि सदस्य मुलुकका स्वास्थ्य मन्त्री तथा स्वास्थ्य अधिकारीहरू बोल्ने क्रम जारी छ ।

कोरोना महामारीले पैदा गरेको जोखिमलाई मध्यनजर गर्दै लगातार दोस्रो पटक भर्चुअल माध्यमबाट आयोजना भएको वार्षिक बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण,नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने, र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलन लगायतका विषयहरूमा छलफल हुनेछ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिकोअनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागिखोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि उक्त बैठकमा छलफल हुनेछ । बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकहरूमा अनुमोदन गरिएका प्रावधानहरूमा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।

सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, स्वास्थ्य सामग्रीमा पहुँच बढाउने, दक्षिण—पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष र प्राथमिक स्वास्थ्य चौकीको स्तरमा नसर्ने रोगहरूको लागि हुने सेवा प्रवाहलाई थप गति दिन स्वास्थ्य प्रणालीहरूको सुदृढीकरण जस्ता विषयहरू पनि उक्त बैठकमा उठान हुन सक्नेछन् ।

विद्यमान महामारीलाई सम्बोधन गर्ने क्रममा यसक्षेत्रमा भएका मुलुकहरूले आठ मुख्य प्राथमिकतामा पनि आफ्नो प्रयासलाई जारी राखेका छन्ः सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, बहुक्षेत्रीय नीति तथा योजनाहरूबाट नसर्ने रोगहरूको सम्बोधन गर्ने, मातृ, नवजात शिशु तथा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरको न्यूनीकरणलाई गति दिने, स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई अघि बढाउने, एन्टिमाइक्रोबियल प्रतिरोधलाई उल्ट्याउने, आपतकालीन जोखिम व्यवस्थापन क्षमता बढाउने र उपेक्षा गरिएका उष्णदेशीय रोग र क्षयरोगको उन्मूलन गर्ने ।

विश्व जनसङ्ख्याको एक चौथाइ जनसङ्ख्या बसोवास गर्ने यस क्षेत्रले प्राथमिकता प्राप्त कार्यक्रमहरूमा भएका प्रगतिलाई दिगो बनाइ रहेको छ ।

विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रले सन् २०१४ मापोलियो उन्मूलन गरेको थियो र सन् २०१६ मा मातृ तथा नवजात शिशुमा हुने धनुष्टङ्कार रोगको उन्मूलन गरेको थियो ।

माल्दिभ्स र श्रीलङ्काले दादुरा र रुबेला दुवै रोगहरू उन्मूलन गरेका छन् भने भुटान, दक्षिण कोरिया र टिमोरलेट्से दादुरा उन्मूलन गर्न सफल भएका छन् ।

नेपाल र म्यानमारले ट्राकोमा उन्मूलन गरेका छन् । भारत यास रोगमुक्त भएको छ ।

थाइलेण्ड, श्रीलङ्का र माल्दिभ्सले आमाबाट बच्चामा सर्ने एचआइभी र भिरीङ्गी सिफिलिसको उन्मूलन गरेकोछन् ।

बङ्गलादेश, भुटान, नेपाल र थाइलेण्डले हेपाटाइटिस बी लाई नियन्त्रण गरेका छन् ।

बैठक सोमबार विहान पौने १० बजेबाट सुरु हुने बताइएको छ ।

बैठक २५ भदौसम्म चल्नेछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *